ब्लगबुधबार, कार्तिक १३, २०७०

गोरखापत्र मा हिन्दी सूचना

दीपक अर्याल

‘अमलेखगञ्जसे २७ मिलके फासलेमें एक भारी पहाडके नीचे भीमफेदी नामके छोटे बाजार तक मोटर, बस, लरी जा शकती है। इसी जगहसे मोटरकी यात्रा समाप्त हो जाती है। इसके वाद २१ मील पहाडी रास्तेके लिये पहाडी कुली व एक प्रकारकी डोली और कण्डीको सवारी निम्न–लिखित दरपर मिल शकती है। इसमें ध्यान रखनेकी बात यह है कि यद्यपि इस जगह अनेक प्रकारके कुली बहुत तायदादमें सवारीके लिये तैयार रहते हैं; तथापि इनमेंसे नम्बर वाले कुलीका बन्दोबस्त करनेसे कुलियोंके तरफसे किसी प्रकारका धोखा नहीं होगा, क्योंकि सरकारकी तरफसे कुलियों का एक ठेकेदार (भरियानाइके) नियुक्त है।’

सदर पुलिस गोश्वाराको नाममा प्रकाशित त्यो सूचनाले पशुपति आउने भारतीय तीर्थयात्रीहरूलाई अमलेखगञ्जबाट भीमफेदीतर्फ लाग्दा पाइने मोटर, बस, लरीको भाडादरका साथै कुल्लीबारे जानकारी दिन खोजेको थियो। सूचनामा एन.जी. रेल्वे रक्सौलबाट २४ मील टाढाको अन्तिम रेल्वे स्टेसन अमलेखगञ्जबाट पाइने मोटर, बस, लरीको निश्चित दर/रेट तोकेर भारतीय यात्रुहरूका लागि सुविधा प्रदान गरेको जानकारी दिंदै भीमफेदी पुगेपछि तोकिएका निश्चित कुल्लीहरूसँग मात्र व्यवहार गर्न भनेको छ। तोकिएका कुल्लीहरू अन्यका तुलनामा सस्तो हुने र उनीहरूलाई आफ्नो सामान जिम्मा लगाउँदा सरकारको तर्फबाट कुल्लीहरूको ठेक्का पाएको व्यक्ति जिम्मेवार हुने भएकोले कुनै घटना भए सम्बन्धित कुल्लीलाई समात्न सकिने जनाइएको छ।

यो जानकारीले अमलेखगञ्ज–भीमफेदी २७ माइल यात्राका लागि एक जनाले प्राइभेट कार रिजर्भ गरेमा, मिलेर रिजर्भ गरेमा वा मोटर, बस तथा मोटर लरीमा यात्रा गर्दा छुट्टा–छुट्टैै भाडादर निर्धारण गरिएको जनाउनुको साथै तत्कालीन नेपालभित्रको सवारी भाडादरको जानकारी दिएको छ। त्यस अनुसार, थानकोटदेखि पशुपतिनाथसम्मको ८ माइलका लागि रु.२.५१ तोकिएको छ भने थानकोटदेखि त्रिपुरेश्वरसम्मको ६ माइलका लागि रु.१.८६ तोकिएको छ। त्रिपुरेश्वरदेखि पशुपति, त्रिपुरेश्वरदेखि भादगाउँ, पशुपति मन्दिरदेखि दत्तात्रेय मन्दिरसम्मको यात्राका लागि पनि नेपाली रुपैयाँ र अंग्रेजी सिक्कामा छुट्टा–छुट्टै भाडादर तोकिएको छ।

भाडा नेपाली रुपैयाँ वा अंग्रेजी सिक्कामा तिर्न सकिने व्यवस्था गरिएको छ भने कम्पनी र नेपाली रुपैयाँका बीच सवा रुपैयाँको फरक रहेको जानकारी दिइएको छ। भीमफेदीदेखि अमलेखगञ्ज फर्कंदा भने भाडादर घटाएर लगभग आधा बनाइएको सूचनाले देखाउँछ। सूचनामा अमलेखगञ्ज–भीमफेदी २७ माइलमा मोटर, त्यसपछि थानकोटसम्मको २१ माइल पहाडी बाटोका लागि डोली वा कण्डीको व्यवस्था हुन सक्ने जानकारीका साथै नेपाल काठमाडौं शहरभित्र चल्ने मोटर, बस र लरीको दर/रेट पनि तोकिएको छ।

भारतीय तीर्थयात्रीहरूले नेपाली भाषाको गोरखापत्र मा छापिएको हिन्दी सूचना हेरे, हेरेनन् वा यसबाट लाभ उठाए, उठाएनन् त्यसै भन्न सकिन्न, तर त्यसले नेपाल भित्रिने तीर्थयात्रीहरूप्रति राम्रो व्यवहार हुनुपर्छ, उनीहरू ठगिनु हुन्न भन्ने यो सचेतना नेपालमा पर्यटन व्यवसायको अवधारणा बन्नुभन्दा पहिले नै शुरू भएको देखाउँछ। यसैगरी, नेपालमा पश्चिमा पर्यटक भित्रनुभन्दा पहिले नै तीर्थयात्रीका रूपमा ठूलो संख्यामा भारतीयहरू नेपाल आउने गरेको र सरकारले त्यसको व्यवस्थापन गर्न खोजेको पनि गोरखापत्र को यो सूचनाले देखाउँछ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...