रिपोर्टबिहीबार, कार्तिक १४, २०७०
तात्यो चुनावी माहोल
सुवास देवकोटा
धान काटेर भित्र्याउने चटारोले अधिकांश मानिस असिनपसिन भएजस्तै राजनीतिक दलका नेता कार्यकर्ताको व्यस्तता पनि ४ मंसीरको निर्वाचन नजिक आउँदै गर्दा बढेको छ । उमेदवारहरुलाई मतदाताको घरदैलोमा पुग्न हतारो देखिन्छ ।
अरुबेलाजस्तो तिहार र छठमा रमाउने फुर्सद नेता, कार्यकर्ताहरुले यो पटक भने पाएका छैनन् । उम्मेदवार मतदाताको घर दैलोमै पुग्नुपर्ने यो निर्वाचनमा देखिएको प्रवृतिले उनीहरुलाई झनै बेफुर्सदिलो बनाएको छ । तीन दर्जन कार्यकर्ता लिएर मत माग्दै हिडेका चुरे भावर पार्टीका सर्लाही–२ बाट उम्मेदवार बद्रि न्यौपानेले भने, “घर घरमा पुगेर मत माग्दा मतदाता पनि उत्साहित रहेको पाएको छु ।”
नेता, कार्यकर्ता र उमेदवारहरुको बढ्दो चहलपहलले मतदाताहरुलाई पनि निर्वाचनप्रति उत्सुकताको बढाएको चोक र चिया पसलहरुमा देखिन्छ । आफ्नो क्षेत्रमा कुन दल र कुन उमेदवार बिजयी होलान् भनेर अनुमान लगाउने क्रम शुरु भएको छ । कुराकानीमा उम्मेद्वारको नाम याद नभए पनि चुनाव चिन्ह अनुसारका आँकलन हुन थालेका छन् । महोत्तरी–१ मा पर्ने बर्दिबासमा ९ बर्षदेखि किराना पसल चलाइरहेका मदन प्रधान भन्छन्, “सबै उम्मेदवारहरुले प्रचार कार्यक्रम आफ्नै हिसाबले चलाएपनि कसले जित्छ भन्न सकिने बेला अझै भइसकेको छैन ।”
मतदाता मौन
उम्मेदवार, नेता र कार्यकर्ताहरुको आक्रामक निर्वाचन अभियान हेरिरहेका मतदाताहरु अझै कुन दल र उमेदवारहरुलाई बिजयी बनाउने भन्ने टुंगोमा पुगिसकेको देखिंदैन । घर दैलोमा आएका उमेदवारहरुको नमस्ते फर्काउँदै ‘भईहाल्छ नि’ मात्र भनिरहेका छन्, मतदाता । मतदाताको त्यो बोलीलाई समर्थन ठानेर हुनसक्छ, प्राय सबै उमेदवारले आफै बिजयी हुने आंकलन गरिरहेका देखिन्छन् ।
पाँच दर्जन कार्यकर्तासहित घरदैलो कार्यक्रम गरिरहेका नेकपा एमालेका रौतहट ६ का उम्मेदवार रामकुमार भट्टराईले भने, “कार्यकर्ताको उत्साह र मतदाताको समर्थन देखिएकाले यो क्षेत्रमा मेरो बिजयी निश्चित भइसकेको छ ।”
घरदैलोमै हिडेका नेपाली कांग्रेसका सिन्धुली–२ का उम्मेदवार मोहन बरालको बिश्वास पनि उस्तै देखिन्छ । एमाओवादीका त्यो क्षेत्रका उमेदवार गंगा श्रेष्ठ र एमालेकी उमेदवार उमा कोइराला कमजोर रहेकाले आफू बिजयी हुने बताउँदै बरालले भने, “मतदाताको समर्थन मलाई रहेकाले अरुसँग मेरो प्रतिस्पर्धा नै हँुदैन ।”
आ–आफनै मुद्दा
दल र उम्मेदवारहरुले आफू बिजयी बन्न सहज हुने मुद्दा उठाएको देखिए पनि कुन मुद्दाले मतदातालाई बढी प्रभावित पार्नेछ भन्ने अझै स्पष्ट भएको छैन । यसैगरी, राष्ट्रिय राजनीतिमा संघीयता कस्तो हुने भन्ने मुद्दामा ब्यापक बहस भएको देखिए पनि मध्य तराईमा भने उम्मेदवारको योग्यता, व्यक्तित्व स्थानीयता र जात जस्ता मुद्दा प्रभावी देखिन्छन् । दल र उम्मेदवारले जित्ने वा हार्ने आँकलन पनि त्यही आधारमा गरिएको पाइन्छ । यसैगरी, संविधानसभाको निर्वाचन भए पनि कुन प्रकारको संविधान बनाउने बारे पनि उम्मेदवार, नेता, कार्यकर्ता र मतदाताले छलफल गरेको पाइँदैन । अधिकांश उम्मेद्वारले स्थानीय विकास निर्माणका माग नै बेहोर्नु परेको छ ।
एमाओवादी कार्यकर्ता केदार काफ्लेले सर्लाही १ का आफ्ना उमेदवार शम्भु श्रेष्ठ बिजयी हुने आधार उनले स्थानीय हुनु बताउनुले त्यही स्पष्ट गर्छ । एमाले अध्यक्ष झलनाथ खनालको प्रतिस्पर्धी रहेका आफ्ना उमेदवार बिजयी हुने आधार प्रस्तुत गर्दै उनले भने, “खनाल जस्तो जिते वा हारेपछि क्षेत्र छाड्ने नभएकाले पनि हामी बिजयी हुने निश्चित छ ।”
त्यही क्षेत्रका एमाले कार्यकर्ता नवराज मिश्रले चाहिँ इलाम–१ मा समेत उम्मेदवार रहेका खनालले जित्ने आधारका रुपमा उनको राष्ट्रिय व्यक्तित्व महत्वपूर्ण बन्ने दाबी गरे । “राजमार्गमा रहेर पनि पछि परेको सर्लाही जिल्लाले उहाँ जस्तै राष्ट्रिय व्यक्तित्व चाहेको छ,” मिश्रले भने, “२० कात्तिकमा उहाँ आउनु भएपछि यहाँ हाम्रो पक्षमा माहोल बन्छ र हामी बिजयी हुन्छौं ।”