Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हिंसाको त्रासमा गोरखा - Himalkhabar.com

रिपोर्टबिहीबार, कार्तिक १४, २०७०

हिंसाको त्रासमा गोरखा

हिमालखबर

रमेश कुमार, गोरखाबाट फर्केर

गोरखामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजाल सहितका नेताले सम्बोधन गर्ने तय भएको १३ कात्तिकको आमसभामा एमाओवादी कार्यकर्ताले अवरोध पुर्‍याउन हिंसाको सहारा लिए । डाँडामाथि बसेर कांग्रेस कार्यकर्ता चढेको गाडीमा ढुंगा हान्ने मात्र होइन, आमसभामा भाग लिन हिडेका र भाग लिएर फर्किएका सर्वसाधारणलाई बलजफ्ती छेक्ने र आक्रमण गर्नेसम्मका काम एमाओवादीले गरे । आक्रमणमा केही सवारी साधनमा क्षति भयो भने कांग्रेसका केही कार्यकर्ता घाइते भए । संविधानसभाको निर्वाचन घोषणा भएपछि गोरखामा एमाओवादी आक्रामक बनेको यो पहिलो पटक भने होइन,  एमाओवादीले यसअघि नै पनि विभिन्न स्थानमा अरु पार्टीका गतिविधिमा अवरोध पार्न बाहुबल प्रयोग गरिसकेको छ ।

१३ कातिक राति एमाओवादी कार्यकर्ताले क्षेत्र नंबर २ को छोप्राक गाविसको कांग्रेसको क्षेत्रीय चुनावी कार्यालय तोडफोड गरेर प्रचारप्रसार सामाग्री, फर्निचर, झण्डा इत्यादि जलाएका छन् । यसअघि ७ कातिकमा क्षेत्र नंबर ३ को स्वारास्थित कांग्रसको पार्टी कार्यालय पनि उनीहरुले तोडफोड गरेका थिए । ६ कात्तिकमा उनीहरुले धावामा एमालेको कार्यक्रममा अवरोध गर्ने प्रयास गरेका थिए भने स्वाराँ–४ मा राती सुतेका बेला घर घेरेर आक्रमण प्रयास गरेका थिए । त्यसको भोलिपल्ट स्वाँरा ४, खारथोक भन्ञ्याङमा बाल क्लबको कार्यक्रममा आक्रमण गरेर एमालेका दर्जनभन्दा बढी कार्यकर्तालाई घाइते बनाएका थिए ।

यी सबै घटनाहरुले गोरखामा एमाओवादी अन्य दलविरुद्ध असहिष्णु बन्दै गएको देखाउँछ । उनीहरुको आक्रमणको निशानामा अन्य दलका कार्यकर्ता पर्न थालेपछि सर्वसाधारणमा पनि विस्तारै त्रास उत्पन्न हुन थालेको छ । उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष भगतबाबु जोशी दलहरु बाहुबली बन्दै जाँदा सर्वसाधारण त्रसित बन्दै गएकाले वच्छ र भयरहित निर्वाचन हुनेमा आशंका बढेको बताउँछन् । गाउँमा मात्र होइन, ५ कात्तिक साँझ सदरमुकाममै एमाओवादी कार्यकर्ताहरुले अन्य दलविरुद्ध आचारसंहिता विपरित नाराबाजी गरेपछि अन्य दलका कार्यकर्ता थप सशंकित भएका छन् । एमाले गोरखाका निर्वाचन परिचालन कमिटीका संयोजक विश्वेश्वर कट्टेल भन्छन्, “एमाओवादीहरु अन्य दलविरुद्ध योजनाविरुद्ध आक्रमणको तयारीमा देखिन्छन् ।”

अघिल्लो चुनावमा फराकिलो (४० हजार) मतान्तरले चुनाव जितेका एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईलाई यसपाली आफ्नै गृहजिल्लामा चुनाव जित्न सहज छैन । क्षेत्र नम्बर २ त्यागेर सदरमुकाम भएको क्षेत्र नम्बर १ मा चुनाव लड्न आइपुगेका भट्टराईलाई नेपाली कांग्रेसका उम्मेदवार स्थानीय किरणबाबु श्रेष्ठसँगको टक्कर ‘फलामको च्यूरा’ बनेको छ । अघिल्लो चुनावमा एमाओवादीले गाउँ छिर्नै नदिएपनि अहिले काग्रेस र एमालेले पनि गाउँसम्मै गतिविधि बढाएका छन् । पृथ्वीनारायण नगरपालिकाको यो बजार क्षेत्रमा नेवार बाहुल्य भएका कारण पनि नेकाका पूराना नेता श्रेष्ठलाई पत्याउने बढी हुनसक्छन् । अर्कातिर, एमालेले पनि संगठन विस्तार गरेका कारण प्रतिस्पर्धामा ऊ पनि खरो उत्रन खोज्दैछ । नेपाल बार एशोसिएसन गोरखाका अध्यक्ष स्थानेश्वर दुवाडी यसपाली कुनै पार्टीले पनि प्रष्ट जितिहाल्छ भन्ने स्थिति नरहेको बताउँछन् ।

भट्टराई उम्मेदवार बनेयता पाँच पटक मात्र जिल्ला आएका छन्, त्यो पनि छोटो अवधिका लागि । त्यसले एकातिर उनी जनतासम्म पुगेका छैनन् भने अर्कातिर जिल्ला कमिटीका प्रभावी बहुमत नेता÷कार्यकर्ता पुष्पकमल दाहाल पक्षधर भएकाले भट्टराईका पक्षमा मरिमेटेर लागेका छैनन् । यसअघि सोही क्षेत्रबाट चुनाव जितेकी पार्वती थापा श्रेष्ठसहितका कार्यकर्ता वैद्य माओवादीतिर गएकाले पनि भट्टराईले प्रतिकुल स्थितिको सामना गर्नुपर्नेछ । भट्टराईले प्रतिवद्दता अनुसारको काम नगरेका कारण पनि उनको प्रभाव कमजोर बनेको छ । त्यसैकारण एमाओवादी अन्य दलविरुद्ध आक्रमण गरेर आतंकित पार्ने र चुनाव जित्न जस्तोसुकै हत्कण्डा प्रयोग गर्नसक्ने अन्य दलको आशंका छ ।

त्रासकै कारण गोरखा बजार साँझ आठ बजेपछि सुनसानजस्तै हुन थालिसकेको छ । प्रशासनले आठ बजेसम्ममा होटल, पसल बन्द गरिसक्न अघोषित उर्दी जारी गरेको छ । नेपाली कांग्रेस गोरखाका सचिव शुकदेव दवाडी तिहारपछि एमाओवादीले बाहुबलको भरमा अन्य दलका गतिविधिलाई रोक्नसक्ने आंशका गर्छन् । २०६४ को चुनावमा घरभित्रै बन्धक बनाएर मत खसाल्न नदिइएका दवाडीलाई अहिले पनि एमाओवादी कार्यकर्ताको ज्यादतीको डर छ । एमालेका कट्टेल चुनावी परिणाम आफ्नो पक्षमा नपर्ने देखेपछि एमाओवादीले बाहिरबाट मान्छे ल्याएको बताउँछन् । “१२ किलो भन्ने ठाउँमा पूरानो अस्पतालको भवनमा डेढसय एमाओवादी कार्यकर्ता योजनावद्ध रुपमा अड्डा जमाएर बसेका छन्” कट्टेल भन्छन्, “अन्य दललाई गतिविधि गर्न नदिने उनीहरुको तयारी छ ।”

तर, एमाओवादी गोरखाका कार्यालय सचिव अक्रुर तिमल्सिना ‘आयाम’ भने हिंसा आफ्नो पार्टीको योजना नभएको बताउँछन् । उनी योजनावद्ध रुपमा पार्टीको कुनै पार्टी विरुद्ध पनि आक्रमण नगर्ने नीति भएपनि स्थानीय रुपमा कतै–कतै सामान्य विवाद भएको बताउँछन् ।

गोरखाको सम्भावित सुरक्षा जोखिमसँग प्रशासन पनि बेखबर छैन । सरकारले सुरक्षा चुनौतिका हिसाबले गोरखालाई संवेदनशील जिल्लाका रुपमा राखेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कार्की उम्मेदवार र सर्वसाधारणको सुरक्षाका लागि प्रशासन लागिरहेको बताउँछन् । उनी निर्वाचनमा बाहुबलको प्रयोग गर्न नदिन आफूहरु सक्षम रहेको बताउँछन् । २५५ मतदान केन्द्र रहेको गोरखामा शान्तिसुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मीको टोली खटाइएको कार्कीले दाबी गरेपनि पार्टीहरुका नेताकार्यकर्ता र सर्वसाधारण कोही पनि सुरक्षालाई लिएर निश्चिन्त देखिँदैनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>