ब्लगबिहीबार, कार्तिक १४, २०७०

बेचल्तीको बाटोका बटुवा

सञ्जीव शर्मा

पशुपति आर्यघाटमा जगदीश घिमिरेलाई अन्तिम श्रद्धाञ्जली दिंदै । तस्वीर: देवकी विष्ट

तस्वीर: देवकी बिष्ट

‘जङ्गलको गोरेटोमा बाटो छुट्टियो
र मैले बेचल्तीको बाटो रोजें
सबै फरक त्यसैले पारेको हो’

अमेरिकी कवि रबर्ट फ्रस्टको यो पंक्ति जगदीश घिमिरे लाई निकै मन पर्थ्यो र उनले पनि बेचल्तीको बाटो रोजे । २०१८ सालमा एसएलसी पास गरेका घिमिरे अमृत साइन्स कलेजमा आइएस्सीमा भर्ना भए पनि परीक्षा दिएनन् बरु जनकपुर पुगेर साम्यवादी समाज स्थापनको रोमाञ्चकतामा लहडिए । त्यो लहड पनि धेरै दिन टिकेन र उनी शब्दसँग रमाउन थाले, साहित्यकार बने ।

पछि घिमिरेले समाजशास्त्रको अध्ययन गरे, बेलायतमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा काम गरे । तर उनलाई बेलायतको सुख सुविधाले पनि धेरै आकर्षित गर्न सकेन सवै सुविधा छाडेर आइपुगे आफ्नो जन्मभूमि रामेछापको सेवा गर्न ।

अरुभन्दा फरक शब्द शिल्पी, समाजसेवी र सामाजिक चिन्तक घिमिरेले यश, किर्ती कमाए, जन्मभूमीको सेवा गरे र ६८ वर्षको उमेरमा १४ कात्तिकमा मृत्युवरण गरे ।

विपन्न र दुर्गम रामेछापको सम्पन्न परिवारमा जन्मेका घिमिरेले जीवनको पछिल्लो समय रामेछापकै सेवा र विकासमा विताएका थिए । तामाकोसी सेवा समिति मार्फत उनले गाउँगाउँमा सहकारी सञ्चालनको जुक्ति फुराए । एउटा बाकसमा केही औषधि राखेर शुरु गरिएको अस्पताल अहिले २५ बेडको सुविधासम्पन्न तामाकोसी सहकारी अस्पताल बनेको छ, जस्ले सरकारी अस्पतालकै शुल्कमा त्यो भन्दा गुणस्तरीय सुविधा दिन्छ ।

गैरसरकारी संस्थामा काम गरेको आफ्नो अनुभव र सम्पर्कले रकमको चाँजो मिलाएर रामेछापका गाउँगाउँमा खाने पानी पु¥याए, शिक्षा, स्वास्थ्य र कृषिमा ब्यापक विकास गरे ।

बिस वर्षदेखि उनीसँगै काम गरेका चिकित्सक सुमन कर्माचार्य भन्छन, “समाजशास्त्र पढेका जगदीश दाई कुशल ब्यवस्थापक हुनुहुन्थ्यो, उहाँ बाहिर साह्रै कठोर देखिए पनि भित्रबाट निकै दयालु हुनुहुन्थ्यो, उहाँको ध्याउन्न नै गाउँको विकास कसरी गर्ने भन्ने हुन्थ्यो ।”

२०४९ सालमा एमबीबीएस पढ्न त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका कर्माचार्यलाई जगदीश घिमिरेले उतिबेला विदाको समयमा रामेछापमा काम गर्न बोलाउँथे । कर्माचार्य सम्झन्छन, “त्यसबेलादेखि जगदीश दाईसँग काम गर्न शुरु गरेको पछिसम्म छोड्न सकिएन ।”

जगदीश घिमिरेले गाउँ गाउँमा समुदायलाई सहकारी खोल्न र त्यसको सञ्चालनको तरिका सिकाएपछि रामेछापमा साहुसँग ऋण लिने चलन हरायो । कुनै बेला रामेछाप जिल्ला विकास समिति र तामाकोसी सेवा समितिको वार्षिक बजेट उत्रै हुन्थ्यो । जिविसका कर्मचारीले काम सिक्न तासेस जानुपर्छ भनेको कर्माचार्य सम्झन्छन् ।

तामाकोसी सेवा समितिले २०६१ मा अमेरिकाबाट प्रदान गरिने २५ हजार डलर राशीको ‘रिफ्लेक्सन अफ होप’ पुरस्कार प्राप्त गर्‍यो ।

२०६३ मा मल्टिपल माइलोमा भनिने रक्त क्यान्सर भएपछि उनले लेखेको आत्मालाप ‘अन्तर्मनको यात्रा’ पनि फरक बाटोको हिंडाइ नै थियो जसले लेखनक्षेत्रमै फरक धारको सृजना गर्‍यो । मदन पुरस्कार र उत्तमशान्ति पुरस्कार पाएको ‘अन्तर्मनको यात्रा’ को विक्रीले पनि नयाँ रेकर्ड कायम गर्‍यो ।

मुलुकको विग्रिएको राजनीति र दिग्भ्रमित राजनीतिकर्मीबाट असन्तुष्ट घिमिरेले अखबारी लेखन पनि गरे । उनको स्पष्ट र कडा टिप्पणीहरुबाट कतिपय उनीदेखि रुष्ट पनि भए । तर, स्वाभिमानी घिमिरे फरकबाटोमा हिंडिरहे ।

क्यान्सरको उपचारमा थिलोथिलो भएका घिमिरेले अन्तर्मनको यात्रामा लेखेका छन, “मेरा स्वजनहरु, मेरो जीवनको कांक्रो पाकिसकेको छ । मलाई पाकेको काँक्रो जस्तै सबै बन्धन चुँडाएर फुत्रुक्क झर्न र बिलाउन सघाऊ… मेरो खरानी मेरा पुर्खाको थलो… मन्थलीको तामाकोसी र सुकाजोरको दोभानमा बगाइदेउ । यो मेरो भावनाले भनेको हो । तर्क भन्छ, खरानी छरेर तामाकोसीको सफा पानी नधमिल्याउ । मेरो खरानी मन्थलीको कुनै पनि पाखामा छरिदिए हुन्छ ।”

घिमिरेको १४ कात्तिक दिउँसो काठमाडौंको आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

तस्वीर: देवकी बिष्ट

घिमिरेको निधनले शोकाकुल उनकी पत्नी दुर्गा घिमिरे (रातो सल) । तस्वीर: देवकी बिष्ट

साहित्यकार जगदीश घिमिरेको पार्थिव शरीरमा माला चढाउँदै प्राध्यापक अभि सुवेदी ।तस्वीर: देवकी बिष्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>