खेलकुदशनिबार, कार्तिक १६, २०७०

राष्ट्रिय महिला फुटबलको उपाधि नेपाल प्रहरीलाई

हिमालखबर

हेटौंडा–६ गौरीटारस्थित खेल मैदानमा भएको एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनमा फाइनल प्रतिष्पर्धामा नेपाल प्रहरीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० गोलले हराउँदै विजयी भएको छ ।

निकै प्रतिष्पर्धात्मक खेलको ८५ औं मिनेटमा एपीएफकै सजना रानाले गरेको आत्मघाती गोलबाट पुलिसले उपाधि जित्न सकेको हो ।

खेलको पहिलो हाफमा पुलिसलाई दबाबमा राखेको भएपनि राम्रो मुभ बनाउन नसक्दा एपीएफले हार ब्यहोर्नुपर्‍यो ।

१–० ले पछि परेपछि निकै आक्रामक देखिएको एपीएफले गोल फर्काउन नसकेपछि लगातार चार पटक उपाधि हात पार्ने धोको पूरा गर्न सकेन । एनसेल फुटबलमा पुलिसले पहिलोपटक एपीएफलाई पराजित गरेको हो ।

जितसँगै पुलिसले नगद तीन लाख, शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरेको छ भने एपीएफले एक लाख ५० हजारमै चित्त बुझाएको छ ।

सेमिफाइनल प्रवेश गर्ने कैलाली र नेपाल आर्मीले ५०/५० हजार प्राप्त गरेका छन् । नवलपरासी र हेटौंडामा संयुक्तरुपमा संचालित प्रतियोगितामा २५ जिल्ला र ३ विभागीयसहित २८ टिमले भाग लिएका थिए ।

एपीएफकी सजना राना भने प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै यामाहाको स्कुटर प्राप्त गरिन् । प्रतियोगिता अवधिभर उनले सर्वाधिक १६ गोल गरेकी थिइन् ।

नेपाल प्रहरीकी निरु थापा, घिमकुमारी गुरुङ र नमिता दली क्रमशः उत्कृष्ठ फरवार्ड, उत्कृष्ठ डिफेन्स र उत्कृष्ट गोलरक्षक घोषित भए । उत्कृष्ट मिडफिल्डर एपीएफकी नमिता नगरकोटी भइन् । सबैले जनही नगद २५ हजार रुपियाँ प्राप्त गरेका छन् । प्रतियोगिताका बिजेता तथा उपबिजेतालाई एन्फाका महासचिव धिरेन्द्र प्रधान, एनसेलकी कम्युनिकेशन डाइरेक्टर सञ्जु कोईराला, मध्येक्षेत्रका डिआईजी विज्ञानराज शर्मालगायतले पुरस्कार वितरण गरेका थिए ।

अशोकसुजन श्रेष्ठ/हेटौँडा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...