रिपोर्टआइतबार, कार्तिक १७, २०७०
उम्मेदवार छनौटः आफ्नालाई काखा
– सन्त गाहा मगर
४ मंसीरको संविधानसभा निर्वाचनमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईको परिवारबाट आठ निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका छन्। दाहाल काठमाडौं–१० र सिरहा–५, छोरी रेणु काठमाडौं–१, छोरा प्रकाशकी पत्नी बीना मगर कञ्चनपुर–१ र भाइ नारायण चितवन–३ बाट उम्मेदवार बनेका छन् भने बाबुराम रूपन्देही–४ र गोरखा–१ तथा पत्नी हिसिला यमी काठमाडौं–७ बाट उठेका छन्।
परिवारवादी एमाओवादी
सपरिवार उम्मेदवार हुने मौका पाउनेमा एमाओवादीमा अरू पनि धेरै छन्। तिनैमध्येका हुन्, मोरङ–९ मा उम्मेदवार बनेका एमाओवादी नेता वर्षमान पुन र रोल्पा–२ की उम्मेदवार उनकी पत्नी ओनसरी घर्ती मगर। एकताकेन्द्र मसालबाट गत संविधानसभा निर्वाचनपछि एमाओवादीमा मिसिएका लीलामणि पोखरेल पनि पत्नीलाई उम्मेदवार बनाउन पाउने भाग्यमानीमा पर्छन्। काठमाडौं–२ मा उठेका उनकी पत्नी शशि श्रेष्ठ समानुपातिक उम्मेदवार छिन्। एमाओवादीकी पूर्वसभासद् कमला रोका समानुपातिकमा छिन् भने उनका पति गणेशमान पुन रुकुम–१ मा उम्मेदवार छन्।
जाजरकोट–१ र डोल्पाबाट उम्मेदवार भएका शक्तिबहादुर बस्नेत र सत्या पहाडी पति–पत्नी हुन्। जोडी नै प्रत्यक्ष निर्वाचन लड्न पाउने भाग्यमानीमा कल्पना धमला र देवेन्द्र पराजुली पनि पर्छन्। धमला धादिङ–२ बाट र पराजुली लमजुङ–१ बाट उठेका छन्। चितवन–२ बाट उठेका विश्वभक्त दुलाल (आहुति) की पत्नी बुद्धलक्ष्मी महर्जन (दुलाल) समानुपातिकमा छिन् भने काठमाडौं–९ का उम्मेदवार देवेन्द्र पौडेलकी पत्नी बलावती शर्मा पनि समानुपातिकमै परेकी छिन्।
नेपाली कांग्रेसमा पनि उम्मेदवार बन्न पाउने पति―पत्नी र एउटै परिवारका दुई जना धेरै छन्। वरिष्ठ नेता शेरबहादुर देउवा डडेल्धुरा र कैलाली–६ मा उठेका छन् भने पत्नी आरजु राणा समानुपातिक सूचीमा छिन्। रूपन्देही–३ का उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण र समानुपातिक सूचीमा परेकी मञ्जु पनि पति―पत्नी हुन्। नुवाकोट–२ बाट उठेका रामशरण महतका भाइ प्रकाशशरणले समानुपातिकमा टिकट सुरक्षित गरेका छन् भने नुवाकोट–१ का कांग्रेस उम्मेदवार अर्जुननरसिंह केसीका भाइ जगदीश्वरनरसिंहले समानुपातिकतर्फ र छोरी ज्वाईं गगन थापाले काठमाडौं–४ मा उम्मेदवार बन्न पाएका छन्।
एकै परिवारका उम्मेदवार हुन पाउनेमा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र उनकी पत्नी अष्टलक्ष्मी शाक्य पनि पर्छन्। उनीहरू दुवै समानुपातिकमा छन्। एमालेका रघुवीर महासेठ धनुषा ५ तथा उनकी श्रीमती जुली महतो(महासेठ) धनुषा ३ बाट उम्मेदवार बनेका छन् । एमाले नेताहरू राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डे सहोदर दाजुभाइ हुन् र उनीहरू धादिङ–३ र चितवन–१ बाट उम्मेदवार बनेका छन्।
साना दलमा पनि उस्तै
एमाले उपाध्यक्ष त्यागेर संघीय समाजवादी पार्टी गठन गरेका अशोक राई र उनकी पत्नी सुशीला श्रेष्ठ समानुपातिक उम्मेदवार बनेका छन्। नेकपा मालेका महासचिव सीपी मैनालीले आफूसँगै पत्नी नीलम केसी (खड्का) लाई पनि समानुपातिकमै राखेका छन्। राष्ट्रिय जनमुक्ति पार्टीबाट समानुपातिक उम्मेदवार बनेका अध्यक्ष एमएस थापाले छोरा विजयसिं थापालाई स्याङ्जा–३ बाट उठाएका छन्।
नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले आफू, पत्नी जिनसदेवी, छोरीहरू गायत्री, राधिका, सावित्री र छोरा सुभाषलाई समानुपातिकमा राखेका छन् भने जनता दल युनाइटेडका अध्यक्ष विश्वनाथप्रसाद अग्रवालले पनि आफू र पत्नी ललितालाई समानुपातिकमै राखेका छन्। नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल र उनकी पत्नी ब्लेसी गाडेन ढकाल पनि समानुपातिकमा छन् ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बैतडी १ र २ को प्रत्यक्ष उम्मेदवार छन् भने उनका छोरा जयन्त चन्द समानुपातिकमा छन् ।
आन्तरिक लोकतन्त्रको अभाव
वाम विश्लेषक श्याम श्रेष्ठका अनुसार दलहरूमा आन्तरिक लोकतन्त्र बलियो नभएकाले प्रभावशाली नेताले खल्तीबाट आफन्त र नजिककाको नाम निकाल्न सकेका हुन्। कसैको पति/पत्नी वा छोरा/बुहारी भएकै कारण निर्वाचनमा उठ्न पाउनु दुर्भाग्य भएको बताउँदै श्रेष्ठ भन्छन्, “तर, पार्टीमा योगदान दिएका र योग्य छन् भने एउटै घरको भए भनेर रोक्न भने हुँदैन।”
एमाओवादी अध्यक्ष दाहालका भाइ नारायण पार्टी केन्द्रीय सदस्य भएकाले उम्मेदवारका लागि योग्य भए पनि छोरी रेणु र छोरा बुहारी बीनाले नेताको आफन्त भएकैले उम्मेदवारी पाएको श्रेष्ठको बुझाइ छ। बीनालाई उम्मेदवार बनाइएकोमा केन्द्रीय सदस्य अञ्जना विसंखे लगायतले चर्काे विरोध गरेका थिए। पार्टी केन्द्रले उम्मेदवारलाई दिने आर्थिक सहयोगमा पनि नेताका आफन्तलाई प्राथमिकता दिइएकोमा एमाओवादीमा विरोध भएको थियो।
एउटै घरका कति जनाले उम्मेदवार बन्न पाउने विषयमा एमालेमा पनि निकै विवाद भएको देखियो। समानुपातिकका लागि बढीमा ३३५ जनाको नाम सिफारिश गर्न पाउनेमा २५ सय भन्दा बढी आकांक्षी देखिएपछि एमाले स्थायी समितिले अघिल्लो पटक सभासद् बनेकालाई समानुपातिकमा सिफारिश नगर्ने, पति वा पत्नी प्रत्यक्षमा उठेको भए समानुपातिकमा सिफारिश नगर्ने र पति–पत्नीमध्ये एक जनालाई मात्र समानुपातिकमा सिफारिश गर्ने निर्णय गरेको थियो।
उक्त मापदण्डका कारण एमाले पोलिटब्यूरो सदस्य नरेश खरेल र केन्द्रीय सदस्य कल्याणी खड्काको नाम समानुपातिक सूचीबाट अन्तिम समय हटाइयो। खरेलकी पत्नी पवित्रा निरौला (खरेल) झापा–२ र खड्काका पति रामकुमार भट्टराई रौतहट–६ बाट उम्मेदवार बनेका छन्। त्यही निर्णयले एमाले उपाध्यक्ष बामदेव गौतम पत्नी तुलसा थापा मगर, महासचिव ईश्वर पोखरेल पत्नी मीरा ध्वजु, सचिव शंकर पोखरेल पत्नी सुजिता शाक्य, पोलिटब्यूरो सदस्य सुरेन्द्र पाण्डे पत्नी पूर्णशोभा चित्रकारको नाम पनि हट्यो। तर, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा र उनकी पत्नी पोलिटब्यूरो सदस्य अष्टलक्ष्मी शाक्यका हकमा भने त्यो निर्णय कार्यान्वयन भएन।
कांग्रेस वरिष्ठ नेता देउवा पत्नी आरजु र केन्द्रीय सदस्य खाँणकी पत्नी मञ्जुलाई समानुपातिकमा पारिएकोमा विवाद देखिएको थियो भने भ्रष्टाचार मुद्दामा जेल सजाय पूरा गरेर छुटेका कांग्रेस नेता खुमबहादुर खड्काकी पत्नी शिला शर्मा खड्कालाई समानुपातिकमा राखिएकोमा कार्यकर्ताले विरोध गरेका थिए।
एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली सभासद् बन्न सबै लालायित हुनुलाई ‘गिर्दो राजनीतिक मूल्यमान्यता’ मान्छन्। उनका अनुसार, सभासद्को आकांक्षी बढ्नुमा स्थानीय निकायको निर्वाचन नहुनु पनि एउटा कारण हो।
एमालेले समानुपातिकबाट सिफारिश गर्न बनाएको मापदण्डलाई सकारात्मक भन्ने विश्लेषक श्रेष्ठ अरू दलले पनि उम्मेदवार छनोटको प्रष्ट मापदण्ड बनाउनु आवश्यक रहेको बताउँछन्। श्रेष्ठ भन्छन्, “सबै दलले निश्चित अवधिसम्म योगदान गरेका इमानदार र योग्य व्यक्तिलाई मात्रै उम्मेदवार बनाउने पारदर्शी नीति नबनाएसम्म प्रभावशाली नेताको मनोमानी जारी रहन्छ।”
हिमाल खबरपत्रिकाबाट