रिपोर्टआइतबार, आषाढ २४, २०६९
बेथिति विरुद्ध आमरण अनसन
देशका सबै सार्वजनिक संस्थालाई राजनीतिक हस्तक्षेपले थला पार्न लाग्दा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जना अर्थोपेडिक सर्जनले बेथिति विरुद्ध अपरेशन शुरू गरेका छन्।
सर्वत्र राजनीति हावी भएको नेपालमा कुन त्यस्तो संस्था वा व्यक्ति बाँकी होला, जो स्वार्थबाट मुक्त रहेर सार्वजनिक हितमा क्रियाशील भएको होस् । यस्तो बेला काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसी ९५५० कुनै बेला एशियाकै राम्रो स्वास्थ्य प्रतिष्ठानमा गनिएको यो संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त पारेर पहिलाकै प्रतिष्ठामा फर्काउने युद्धमा छन् । र, समकालीन नेपालमा असम्भव जस्तो लाग्ने यो युद्धमा ख्याउटे ज्यानका डा. केसी क्रमशः विजयी बनिरहेका छन् ।
अस्पतालमा वरिष्ठताका आधारमा वा प्रतिस्पर्धाबाट योग्य प्रमाणित भएर आएकालाई मात्र पदाधिकारी नियुक्त गर्नुपर्ने माग गरिरहेका डा. केसीले ११ असारदेखि आमरण अनशन गर्ने घोषणा गर्दा स्वास्थ्य मन्त्रालय र त्रिविका पदाधिकारीहरूमा ठूलै खैलाबैला मच्चिएको थियो । किनभने, राजनीतिक आशीर्वादबाट आएका अस्पतालका पदाधिकारीहरूको चारवर्षे कार्यकाल पूरा भएर आठ महीना नाघ्दा पनि मन्त्रालय र विश्वविद्यालयबाट नयाँ पदाधिकारी ल्याउने कुनै पहल नभएपछि डा. केसीले दोस्रो पटक आमरण अनशनको तयारी गरेका थिए । उनको नैतिक शक्तिले आर्जन गरेको समर्थनबाट आत्तिएका पदाधिकारीहरूले म्याद बितेका डीन डा. अरुण साय्मिलाई हटाएर तत्कालका लागि सहायक डीनलाई प्रमुख बनाउने र २० असारभित्र योग्य व्यक्तिलाई पदाधिकारी बनाउने वचन दिएका थिए । तर आश्वासन पुरा नभएपछि अस्पताललाई राजनीतिक हस्तक्षेप मुक्त गर्न माग गर्दै सो अस्पतालका प्रध्यापक डा. गोविन्द केसीले २१ असारदेखि आमरण अनसन गरिरहेका थिए। २४ असारमा माग पुरा भएपछि अनसन तोडेपनि बेथिती विरुद्ध आफु सदैव लागिरहने केसीले बताए ।
महारागंजस्थित अस्पताल परिसरमा अनसनमा बसेका केसीले अस्पताललाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी विशुद्ध प्राज्ञिक र उच्च प्रविधियुक्त बनाउन माग राख्दै आएकाछन् ।
डा. केसीसँग के त्यस्तो शक्ति छ, जसले शिक्षण अस्पतालमा मौलाएको राजनीतिक मोलाहिजालाई जरैदेखि हल्लाउन सक्यो र राजनीतिक भागबण्डाबाटै आएका त्रिविवि अधिकारीहरू वरिष्ठता वा निष्पक्ष प्रतिस्पर्धा गराएर योग्य व्यक्तिलाई पदाधिकारी बनाउने प्रतिबद्धता जनाउन बाध्य भए रु अरूलाई कमै गन्ने शिक्षण अस्पतालका १८० मध्ये १६५ जना प्राध्यापक–डाक्टर किन यी पाँच फिटे सर्जनको समर्थनमा उभिए रु १९ वर्षदेखि शिक्षण अस्पतालमा कार्यरत डा। केसीको १६ वर्षयताको कथा सुन्दा कुरुप तर शक्तिशाली वर्तमानलाई हल्लाउन सक्ने उनको शक्तिको स्रोत खुल्छ ।
सेवाभाव नै शक्ति
डा. केसी कहिल्यै पैसाको पछि लागेनन् । क्लिनिक उनले खोल्दै खोलेनन्, जहिल्यै अस्पतालको सेवामा जुटे । वर्षमा दुई पटक दुई–दुई साता दुर्गम जिल्लाको सेवामा अर्पेका छन्, १६ वर्षदेखि । पहाडी जिल्लामा धेरै मानिस घाँसदाउरा गर्दा भीरपाखा र रूखबाट लड्ने हुनाले सुविधाजनक अस्पताल पुग्नुअघि राम्रो प्राथमिक उपचार हुनसकोस् भनेर उनी स्वास्थ्यकर्मीहरूलाई हाडजोर्नी सम्बन्धी उपचार विधि सिकाउँछन् । “गत वर्ष ओखलढुङ्गा हुँदै पैदलै दिक्तेल आउनुभयो”, खोटाङ जिल्ला अस्पतालका नासु मणि ढकाल भन्छन्, “यहाँका स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण दिएर भोजपुरतिर लाग्नुभयो ।”
डा. केसीले गत वर्षको तिहार डडेलधुरा र दार्चुलामा बिताए अनि गएको जेठमा तनहुँको बन्दीपुरमा शिविर चलाए । नियमित जिल्ला जाने बाहेक झडापखाला, शीतलहर वा बाढी–पहिरोको समाचार सुनेपछि उनी बिदा लिएरै भए पनि हिंडिहाल्छन् । गएको हिउँदमा तराईमा शीतलहर चल्दा उनी औषधी, न्याना कपडा र कम्बलहरू बोकेर महोत्तरीका गाउँहरूमा पुगे, स्वास्थ्य शिविर पनि चलाए । रामेछापको माकाडुम गाविसमा जन्मेका डा। केसी यसैगरी देशका ७५ जिल्ला पुगेका छन् र ६० जिल्लामा स्वास्थ्य शिविर चलाएका छन् । दोहो¥याएर शिविर चलाएको जिल्लाको सम्झ्ना उनलाई छैन । सेवाको यस्तो अभियानमा उनले भाइहरू र केही साथीको सहयोग लिने गरेका छन् । उनले महोत्तरीका शीतलहर पीडित गरीबहरूलाई बाँडेका कपडा चाहिं अरू दाताहरूबाट पनि लिएका थिए । कसैले स्वच्छ मनले सहयोग दिन खोजेको छ भन्नेमा विश्वस्त भए भने मात्र स्वीकार्छन्, उनी । “एनजीओ, आईएनजीओको र व्यक्तिगत स्वार्थ राखिएको छ भने त्यस्तो सहयोग लिन्न” डा। केसी भन्छन्, “फेरि आफ्नै स्रोतबाट सेवा गर्दा लाग्ने आनन्द अतुलनीय हुन्छ ।”
डा. केसीको सेवा कर्म नेपालमा मात्र सीमित छैन । सन् २००१ मा ४० हजार मान्छेको ज्यान जाने गरी भारतको गुजरातमा महाभूकम्प आउँदा उनी त्यहाँको भुज क्षेत्रमा तीन साता सक्रिय भए । २००५ मा पाकिस्तानमा त्यस्तै ठूलो भूकम्प आएपछि उनले त्यहाँ पनि साढे दुई साता स्वयंसेवा गरे । २००८ मा उनी दुई साता बर्मामा खटिए समुन्द्री चक्रवातमा परेका बर्मेली सर्वसाधारणको उपचार गर्दै । २०१० मा हाईटीमा तीन लाख मानिसको ज्यान लिने भूकम्प आएको समाचार सीएनएन टेलिभिजनमा हेरेपछि डा। केसी अमेरिकाको न्यूयोर्क र त्यहाँबाट डोमिनिकन रिपब्लिकहुँदै हाईटी पुगेर तीन सातामा २३२ शल्यक्रियासहित ३९५ जना घाइतेको उपचार गरे । २०११ मा बाढीको चपेटामा परेको पाकिस्तानमा फेरि दुई साता खटिए ।
देश–विदेशमा गरेका यी तमाम कामका लागि उनले कसैबाट एक रुपैयाँ लिएका छैनन् । देशमा सेवाको यस्तो काम आम चलन हुनसकेको छैन । लोभ र महŒवाकांक्षाले बाँधिएका मानिसहरू सेवाभावबाट जोगिन कारणहरू खोज्छन् र भेट्टाउँछन् पनि । डा। केसी भने सेवाबाटै जीवनको सन्तुष्टि लिइरहेका छन् । मामाघरबाट सेवाको प्रेरणा लिएका डा। केसी आस्तिक र नास्तिक दुवै होइनन् । उनी कहिल्यै कुनै दलमा आवद्ध भएनन् । उम्मेदवारको गुण–दोष हेरेर मतदान गर्छन् । कुरै गर्नुपरे शिक्षा, स्वास्थ्य जस्ता जनताको आधारभूत सेवा र देशको प्रतिष्ठासँग जोडिएका सरकारी या अर्धसरकारी निकायहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न भन्छन् ।
विवाह नगरेकाले उनी पारिवारिक दायित्वबाट मुक्त छन्, स्वतन्त्र भएर हिंड्छन् । एक्लो र सात्विक भएकाले उनको खर्च पनि कम छ । अस्पतालको कर्मचारी आवासमै बस्ने हुनाले तलब जोगिन्छ । त्यही पैसाबाट सेवा अभियानलाई निरन्तरता दिएका छन् । कहीं विपत्ति परेको सुनेपछि उनी आफूलाई रोक्न सक्दैनन् । यसलाई उनी आफ्नो कमजोरी भन्छन्, तर यही ‘कमजोरी’ले उनलाई शक्तिशाली बनाएको हो । डा.गोविन्द केसी बन्न यति नै पर्याप्त छ त रु शायद छैन । यसका लागि त्यस्तो विशेष तत्व पनि चाहिन्छ होला, जसले व्यक्तिलाई दुर्भिक्षको समयमा सहकालको बिउ बनाओस् ।
शिक्षण अस्पताललाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने अभियानले एक खुट्किलो भए पनि सफलता पाएपछि केसीको अनुहारमा चमक र दुब्लो शरीरमा फुर्ती थपिएको छ । उत्साहित प्रा. डा. केसी भन्छन्, “हामी सफल हुन्छौं, हुनै पर्छ”।