ब्लगआइतबार, कार्तिक २४, २०७०

समस्यामा ड्राइभर

laxman humagain

गाडी र यात्रुको जिम्मा लिएका ड्राइभरहरूका समस्या अनगिन्ती छन्।

यो क्षेत्रमा आउने प्रायः युवा पारिवारिक समस्याले वा उच्च शिक्षा पढ्न नपाएका निम्न आय भएका परिवारका हुन्छन्। धेरैजसो आफन्तको सहयोग वा भनसुनले आएका र कम सचेत हुने मेरो अनुभव छ। सबै जसो ड्राइभरहरूको एउटै उद्देश्य हुन्छ, आफ्ना सर–म्याडमलाई गन्तव्यमा पुर्‍याएर सुरक्षित पार्किङ गर्ने र उनीहरू निस्कँदा देखिने ठाउँमा गाडी राख्ने।

समस्याको खात
ड्राइभरहरूमा निजी भन्दा कूटनीतिक नियोगमा मोटर चलाउने चाहना हुन्छ। सबैखाले सभा, सम्मेलनमा सी.डी. नम्बरका मोटर चलाउने गुरुजीहरू आफ्नै समूहमा मग्न हुन्छन्, प्राइभेट नम्बरका गाडी चलाउनेका कुरा उनीहरूले सुन्दैनन् र वास्ता पनि गर्दैनन्। सरकारी सवारी साधन चलाउनेहरू भने प्राइभेट चलाउनेसँग पनि राम्रै बोलचाल गर्छन्। सरकारी गाडीका चालकलाई पछिल्लो समय स्थायी नबनाइने भएकाले उनीहरू केही नम्र भएका हुन सक्छन्।

निजी साना सवारी चलाएर विभिन्न ठाउँमा जाँदा आफू जस्ताकै समस्या सुनिन्छ, ‘तलब साह्रै कम छ, ड्यूटी लामो छ, ओभरटाइम, खाना र औषधि उपचारको सुविधा छैन, संगठन छैन, यो पटक दशैंमा छुट्टी पाइएन, अब खाडी मुलुकतिर लाग्नुपर्ला, बिहान ८ बजेदेखि निस्केको, खाना खाएको छैन, खान जाऊँ भने हाकीम निस्कने होलान्, सोध्दा रिसाउलान्, हिजो पनि कोठा पुग्दा राति ११ बजेको थियो, पसलहरू बन्द भएकाले खाना खान पाइएनआदि आदि…।’

हाकीम स्कूलको प्रिन्सिपल भएकाले उनीसँगै मोटरबाट र्झ्नुपर्ने र पार्किङ गरेर उभिइरहनुपर्ने समस्या एउटाले भन्न नपाउँदै अर्कोले सोध्छ, “पानी पर्‍यो भने के गर्छौ त?” उसको जवाफ हुन्छ, “छाता ओढ्छु।”

तीन/चार वर्षदेखि देखेको मोटरमा नयाँ ड्राइभर देखेपछि मैले उसलाई सोधें, “यो गाडीका पुरानो गुरु खै त?” उसले भन्यो, “मैले चलाउन थालेको बल्ल तीन महीना भयो, म पनि छिटै नेपाल यातायात चलाउन छाड्दैछु।” उसैले थप्यो, “प्रतिष्ठित मान्छेको मोटर भनेर आइयो, ड्यूटी लामो तर तलब साहै्र कम रहेछ।”

अर्का एक जना नेताको ड्राइभरले भन्न थाल्यो, “हाम्रो नेताजी बिहान निस्केपछि खाना खाने, चिया पिउने कुरै गर्नुहुन्न, आफूचाहिं मोटरमा हातले मुख छोपी–छोपी काजु, चकलेट खाइरहनुहुन्छ।”

प्रतिष्ठित भनिने ती व्यक्तिको किताब पछिल्लो समय खूब चर्चित भएको थियो। उनको कुरा सुनेर मैले ती चर्चितको किताब सित्तैंमा पाउँदा पनि नपढ्ने निश्चय गरें। गुरुजीहरूको कुराको आधारमा हामीले धेरै मानिसलाई असल हुन् कि खराब भनेर छुट्याउने गरेका छौं। टेलिभिजन अथवा रेडियोमा बोल्दा र अन्तर्वार्ता दिंदा भन्दा ड्राइभरहरूको जानकारीबाट बन्ने छवि धेरै फरक हुने मेरो अनुभव छ।

हेलित पेशा
अपवाद बाहेक कुनै पनि लामो वा छोटो सभा–सम्मेलनमा ड्राइभरका लागि खाना–नास्ताको व्यवस्था भएको पाइँदैन। तर, केही गुरुजीहरू भने आफ्नो पेशाप्रति धेरै खुशी पनि देखिन्छन्। “हाम्रो सरको कम्पनीमा छोरो प्रशासक छ, छोरी सेक्रेटरी छे, मेरो छोरा पढाइदिनुभयो। विदेश पठाउन सहयोग गर्नुभयो, ढिलो हुँदा मोटर लिएर जाऊ भन्नुहुन्छ” उनीहरू खुशी हुने कारण यस्ता देखिन्छन्।

एक जना गुरुजीको भनाइमा उनका सर भगवान् हुन्। आफ्नी श्रीमतीलाई अफिसमा काम दिएको र काठमाडौं चक्रपथमा जमीन किनेर तीनतले घरसमेत बनाउने पैसा दिएको उनी सगर्व बताउँछन्।

नयाँप्रविधिका मोटर–कारहरू किन्दा पाउने तिनीहरूको संचालन सम्बन्धी पुस्तिका (गाइडिङ म्यानुअल) अंग्रेजी भाषामा हुने भएकाले ड्राइभरहरूले पढ्न सक्दैनन्। मेरो विचारमा नयाँ मोटर–कारको सामान्य प्राविधिक ज्ञान मोटर कम्पनीहरूले दिएमा राम्रो हुनेथियो। ड्राइभरहरूका यी र यस्ता समस्याबारे सबै सरोकारवालाले ध्यान पुर्‍याउन सक्दा अरू राम्रो हुने पनि मेरो सुझाव छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...