ब्लगबिहीबार, कार्तिक २८, २०७०

प्रेरक मेला

सरला गौतम

राष्ट्रकवि माधवप्रसाद घिमिरेले ८ कात्तिकमा एनसेल नेपाल लिटरेचर फेष्टिभलको उद्घाटन गर्दै बदलिंदो समयमा अक्षरहरूको लीलाप्रति अपार आनन्द मनाए। अक्षरहरूसँग माया लगाउने छूट सबैलाई नभएको जमाना छिचोलेर आएका कविवर अक्षरको मेलामा दंगदास पर्दा उपस्थित अक्षरप्रेमीहरू उत्साहित बने, जहाँ त्यसपछिको चार दिन स्रष्टा र पाठक एक ठाउँमा जुटे। यो जुटाइले नेपाली साहित्य कहाँ पुगेको छ भनेर खुट्याउन चाहनेहरूलाई पनि पक्कै उत्साहित बनायो।

बुकवर्म फाउन्डेसनले आयोजना गरेको साहित्य मेला ‘यस्तो लेख्ने मान्छे व्यक्तिगत रूपमा कस्ता होलान्’ वा ‘आफ्ना सृजना कस्ता मान्छेहरूले पढिरहेका छन्’ भन्ने खुल्दुली मेट्ने मात्र होइन, राजधानी शहर भएकोमा गर्व गर्ने काठमाडौंको संस्कृति र जागरुकता मापक पनि बन्यो। थोरै दिग्गजले लेख्ने अनि उस्तै अनुरागीले मात्र पढ्ने साहित्य पुस्तकहरूबाट निस्केर यसरी कमलादीस्थित प्रज्ञा भवनको डबलीमा छरिंदा यसको दायरा अझ् फराकिलो भएको अनुभूति गरियो।

यस पटकको साहित्य मेलामा नेपाली कविता, कथा र उपन्यास मात्र नभई कार्टून, शहर–समृद्धि र कलाकारदेखि इ–बुक्स र अनुवादसम्मका कुरा भए। भ्याई नभ्याई सम्मेलनका प्रत्येक सत्रमा पुग्न खोजिरहेका सहभागीहरूको लस्करमा हाम्रो राष्ट्रिय जीवनको पूरै क्षेत्रको प्रतिनिधित्व देखिन्थ्यो। साहित्यिक मेलामा गैर–साहित्यिक वृत्तका मानिसहरूको उत्साहपूर्ण सहभागिताले एउटा गजबको ‘भाइब्रेसन’ ल्याएको थियो।

‘साउथ एशियन रिच’

नेपाली सरहदको साहित्य र सर्जकलाई अन्तर्राष्ट्रिय वृत्तमा पुर्‍याउने ल्याकत गत वर्षहरूको साहित्य मेलाहरूले पनि देखाएकै हुन्। यसपालि पनि डा. तीर्थबहादुर श्रेष्ठको मन्तव्यसँगै लेखकको दृष्टिकोणमा लेखक, द इम्पायर राइट्स ब्याक, सेकेन्ड थट्स अन स्टारडष्टः सोसाइटी एण्ड सेलेब्रिटी, शहर र समृद्धि, कार्टूनका कुरा, सेलिब्रेटिङ राजेश हमाल लगायतका सेसनहरूले पनि ‘साउथ एशिएन रिच’ को अनुभूति दिए। ‘सेकेन्ड थट्स अन स्टारडष्टः सोसाइटी एण्ड सेलेब्रिटी’ नामक सत्रमा चर्चित भारतीय लेखक शोभा डेसँग कुन्द दीक्षितले चलाएको छलफल– विचार र प्रस्तुति दुवै हिसाबले प्रभावशाली रह्यो। ‘द इम्पायर राइट्स ब्याक’ मा संजिव उपे्रतीको प्रस्तुति गर्व लायक थियो।

शहर र समृद्धिमाथिको छलफलमा चैतन्य मिश्र र विमल कोइरालाको विचारोत्तेजक अभिव्यक्तिले सहभागीलाई मन्त्रमुग्ध बनायो। यो सत्रमा अभिव्यक्त भएका शहरको अवधारणा, गरीबी र समृद्धि सम्बन्धी विचार दक्षिण एशियाली समाजलाई नै दिशानिर्देश गर्ने स्तरको थियो। हाम्रा समाजशास्त्री अन्तर्राष्ट्रिय स्तरका छन् भन्ने महसूस गराउने गरिको अभिव्यक्ति संचारमा युग पाठकको प्रस्तुति महत्वपूर्ण रहने नै भयो। कार्टूनका कुरा रोचक र रमाइलो मात्र रहेन, वक्ता र प्रस्तोताको शालीनता तथा प्रस्तुतिले कार्यक्रमलाई झनै उचाइ दियो।

यसैगरी, ‘भिजन फर अ ट्रान्सलेशन क्याम्पेन’को सत्रमा वसन्त थापा, भिक्टर प्रधान र बालकृष्ण बलबीचको छलफलले विश्व भाषा–संस्कृतिसँग नजोडिई नेपाली लगायत कुनै पनि भाषाको एकल उन्नयन नहुने र त्यसका पाठकहरू ज्ञानले युक्त नहुने सत्यलाई गम्भीर रूपमा सम्झाउन सफल भयो। हुन पनि, साहित्य लेखिएर मात्र पुग्दैन, त्यसलाई दुनियाँका पाठकले पढ्न पाउनुपर्छ, जसका लागि लरतरो हैन, स्तरीय अनुवादको आवश्यकता पर्छ, तर हामीकहाँ यस्तो परम्परा बस्न सकेको छैन। अरूका उत्कृष्ट रचनाको रसास्वादन गर्न र नेपाली साहित्यलाई विश्वका पाठकको हातसम्म पुर्‍याउन पनि स्तरीय अनुवाद चाहिन्छ।

‘नेपाली भाषा कसको’ भन्ने वसन्त थापाको अर्को सत्र पनि धेरै भाषाप्रेमीहरूको चेत खुलाउन सफल रह्यो। सबै भाषाको सम्मान गर्नुपर्छ, तर पूर्वाग्रहयुक्त अतिप्रेमले कुवाको भ्यागुतो बनाउँछ भनेर बुझाउने यो सत्र भाषिक ढुलमुले विचार बदल्न सफल रहेको अनुमान गर्न सकिन्छ। उर्दू र अंग्रेजीका शब्दहरूको सुहाउँदो प्रयोगले नेपाली सिर्जनालाई अझ् सुन्दर पार्छ र विश्व परिवेशको जानकारीका लागि पनि भाषिक ज्ञानलाई फैलाउनुपर्छ भन्ने यो सत्रको निचोडले नेपाली साहित्यमा अवश्य पनि मिठास बढाउने छ।

यसपालिको मेलामा नेपालगन्जका लतिफ शौक र अब्दुल वहिदले सहभागीहरूलाई विल्कुलै नयाँ मेहेफिलमा उर्दू र नेपाली गजलहरूको रसास्वादन गराए। उनीहरूको मुसायराले उर्दू गजलका पारखीहरूको तृष्णा त मेटायो नै, साथै नेपाली गजल समेत सुनाएर उर्दूको मिठासले भाषागत संकुचन हटायो। देशको एउटा कुनामा रत्तिएको मुसायरा संस्कृतिले यसरी काठमाडौंमा खास्साको मेहेफिल जमायो। देशका धेरै कुनामा लुकेका यस्ता सुन्दर चलनहरूको प्रस्तुतिले नेपाली समाजलाई बलियो पार्नुका साथै अन्तरदेशीय प्रेमलाई समेत प्रगाढ पार्ने नै छ।

विषय विविधताको कमी नरहेका छलफलहरू रमाइला र ज्ञानवर्द्धक रहे। प्रश्नका हिसाबले पनि श्रोताको सहभागिता स्तरीय रह्यो। धेरैजसो वक्ता, सहजकर्ता र प्रश्नकर्ताहरूले मेलामा दक्षिण एशियाली उचाइ देखाए।

हो, कतिपय कार्यक्रममा प्रस्तोता जम्न सकेनन्, कतिमा वक्ताहरूले राम्रो व्याख्यान दिन सकेनन्– राष्ट्रिय हुने हैसियत पनि राख्न नसक्ने गरी। कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य माथिको ‘जीवन्त जोडी’ सेसनमा प्रस्तोता आफैं हावी हुन खोजे। ‘पुस्तान्तरण’ सेसनमा विचार प्रवाह हैन, आरोप–प्रत्यारोप भयो। आख्यान र गैर–आख्यानको डबली पनि विषयबाट आकर्षित श्रोतालाई सन्तुष्ट बनाउनको साटो नजानिंदो पारामा आरोप–प्रत्यारोपतिर मोडियो। प्रस्तुतिमा अनौपचारिकता निश्चय नै प्रभावकारी हुन्छ, तर केही वक्तालाई साह्रै ‘लोकल’ पाराले हल्का बनाएको देखियो। तर, समग्रमा मेलाले आफ्नो उच्चता समातेको देखियो, अधिकांश सत्र मार्फत।

गर्न नसकिएको कुरा
त्यस्ता कुनै पनि आयोजना हुँदैन, जसमा यसो गर्न सकिएको भए अझ्ा राम्रो हुनेथियो अथवा यो चाहिं नगरेको भए पनि हुन्थ्यो भन्ने नलागोस्। तेस्रो एनसेल नेपाल लिटरेचर फेष्टिभलमा पनि कतिपय वक्ता दोहोरिएर फरक सेसनमा एउटै कुरा आएको जस्तो भयो। शोभा डेसँग बलिउडको कुरा गर्दा ५० वर्ष पुगेको नेपाली सिनेमाको चर्चा हुन सकेन। अनुभवबाटै सिक्दै पनि जाने हो भने हामीले आफूलाई साउथ एशियन ‘रिच’मा पुर्‍याउन अझ् धेरै खूबी देखाउनुपर्ने देखिन्छ, जसबाट समकालीन विश्व साहित्यमा नेपाली कृति चिनाउन र अरूका उत्कृष्ट लेखनको स्वाद नेपाली पाठकलाई चखाउन सकियोस्।

भारतको जयपुर वा मद्रास वा पाकिस्तानको कराँची, लाहोर वा श्रीलंकामा हुने यस्ता साहित्य सम्मेलनहरू पुस्तक प्रकाशन र पठनमा मात्र सीमित छैनन्। ती साहित्य सम्मेलनहरूले समृद्ध संस्कृति र हार्दिकता निर्माणसँगै पर्यटन लगायत समाजका विविध आयामहरूमा ठूलो प्रभाव पारिरहेका छन्। हामीले पनि पर्याप्त तयारी, यथोचित लगानी र सुसंस्कृत प्रस्तुति मार्फत त्यो प्रभाव हासिल गर्नुपर्छ। किनभने, आर्थिक विकास हुँदैमा वा व्यक्ति धनवान हुँदैमा समाज सम्पन्न, जागृत र चेतनशील भएको मानिंदैन। यस दिशातर्फको नेपाली यात्रामा ८–११ कात्तिकको मेलाले ठूलो उत्साह थपेको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...