खेलकुदशुक्रबार, कार्तिक २९, २०७०

डेनमार्क विरुद्ध नेपालको सहज जीत

हिमालखबर

विश्वकप ट्वान्टी–२० छनोट खेलमा नेपालले विजयी शुरुवात गरेको छ । युएईमा चलिरहेको छनोटको पहिलो खेलमा २९ कात्तिकमा नेपालले डेनर्माकलाई ५ विकेटले हरायो ।

डेनर्माकले दिएको ८० रनको लक्ष्य नेपालले १३.१ ओभरमै भेट्यो । नेपालको सहज जीतमा कप्तान पारस खड्काले ४८ रनको योगदान गरे । सुवास खकुरेलले १७ रन जोड्दा नटआउट रहँदै शरद भेषवाकरले ५ र सागर पुनले २ रन जोडे ।

प्रारम्भिक ब्याट्सम्यान प्रदीय ऐरी, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले खाता नै खोल्न सकेनन् ।
टस जितेर पहिले ब्याटिङ गरेको डेनमार्कले १९.४ ओभरमा सबै विकेट गुमाएर ७९ रन मात्रै जोड्यो । नेपालका बलरसामु डेनमार्कका ब्याट्सम्यान निरीह देखिएका थिए ।

सागर पुनले १८ बलमा १२ रन खर्चिएर ३ विकेट लिए । जीतेन्द्र मुखिया र बसन्त रेग्मीले २–२ विकेट लिए । कप्तान पारस खड्का र शक्ति गौचनले १–१ विकेट आफ्नो नाममा लेखाए ।
डेनमार्कका लागि हमीद शाहले सर्वाधिक १८ रन जोडे । यासिर इक्बलले १७ र माइकल पेडरसनले १५ रन बनाए ।

नेपालले १ मंसिरमा केन्यासँग दोस्रो छनोट खेल खेल्नेछ । समूह ‘बी’ मा रहेको नेपालले तुलनात्मकरुपमा बलियो प्रतिद्धन्दीको सामना गर्नु पर्ने छ ।

नेपाल रहेको समूहमा अफगानिस्तान, स्कटल्यान्ड, नेदरल्याण्ड, पपुवा न्यु गिनी, केन्या र बर्मुडा छन् । समूह ‘ए’ मा भने आयरल्याण्ड, क्यानडा, यूएई, नामिबिया, हङकङ, युगान्डा, अमेरिका र इटली छन् ।

कूल १६ टिमको सहभागिता रहेको प्रतियोगिताको शीर्ष ६ मा पर्ने टिमले अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी–२० विश्वकप खेल्न पाउनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...