Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
माओवादीका चिल्ला कुरा, खस्रा काम - Himalkhabar.com

ब्लगमंगलबार, आषाढ २६, २०६९

माओवादीका चिल्ला कुरा, खस्रा काम

Gopal Guragai

चिल्लो पारेर कोरेको कपाल र क्रिज मिलेको सुटमा चिटिक्क परेर निस्कँदा पनि आजकाल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अनुहारमा चमक र रौनक देखिंदैन । सार्वजनिक समारोहमा धेरै समय उनको मुन्टो लर्किएको र अनुहार फुंग उडेको हुन्छ । कहिले उनी औधी विनयशील मुद्रामा प्रतिपक्षी समकक्षीलाई फकाएर बोल्छन् त कहिले अति क्रोधित भएर तल्लो स्तरको गालीगलोजमा उत्रन्छन् । यस्ता लक्षणलाई मनोचिकित्सकले कसरी विश्लेषण गर्लान् कुन्नि ! तर, लामो समयदेखि टेलिभिजनमा देखिंदै आएका र पहिलेदेखि नै बोली र व्यवहारमा सन्तुलन नभएका प्रचण्डको मनोदशा आजकाल असन्तुलित देखिन थालेको छ ।

यस्तो असन्तुलन र दोधार वामपन्थी आन्दोलनमा नौलो विषय होइन । मोहन विक्रमका प्रेम कथा र सीपी मैनालीका साहस गाथा सुन्दै तथा पुराना र फाटेका तर सफा लुगा लगाएर साँझ–बिहान विराटनगरको तीनटोलियामा टहलिंदै गरेका मनमोहन अधिकारीलाई हेर्दै हुर्केको म जस्तो मान्छेका लागि प्रचण्डको यो भावभंगिमा न अनौठो लाग्छ, न आश्चर्यजनक र चमत्कारिक । जान्न मन लागेको कुरो कति मात्रै हो भने यो भावभंगिमा कुमालेको चक्र झैं घुमिरहने समयले ल्याएको हो वा प्रचण्ड आफैंले आफूलाई यो भुमरीमा धकेलेका हुन् ? कतै उनले आफ्नो अर्को कुनै कला वा चमत्कार पो देखाउन खोजेका हुन् कि !

सार्वजनिक भएपछि मुलुकले प्रचण्डका धेरै अनुहार र भागभंगीमा देख्यो । तर, संविधानसभाको नाममा पैंतालीस दिने तर्पण दिने समय नजिकिंदै जाँदा उनका भागभंगिमा अचम्मले फेरिएका छन् । कुनै रोगव्याधविना अचानक मारिएको संविधानसभाको शोक सम्भवतः प्रचण्डको अनुहारमा सबैभन्दा बढी देखिन्छ ।

१४ जेठमा संविधानसभाको सचिवालयमा नयाँ सविधानको मस्यौदा तयार थियो । सहमति भएपछि भर्ने भनेर त्यसमा केही शब्द मात्र खाली राखिएका थिए । उता राष्ट्रपति भवनमा नयाँ संविधान घोषणामा उपस्थित हुने निम्तोपत्र तयार थियो, संविधान घोषणाको समय र निम्तालुको नाम मात्र लेख्न बाँकी राखेर । सभासद्हरु १० दिनदेखि नयाँ संविधान हात पार्न, पढ्न र त्यसमा सहमति जनाउन वा भोट हाल्न तयार थिए । जनजातिले एकलबाट बहु पहिचानमा जान र कांग्रेस–एमालेले १४ वटा प्रदेशमा जान सहमति जनाइसकेका थिए ।

प्रष्टै थियो, प्रचण्डले चाहेको भए १४ जेठमा पूरै र सग्लो संविधान आउन केहीले रोकेको थिएन । संक्षिप्त संविधान ल्याउन त झन् कसैले कुनै वाधाअवरोध गरेको थिएन । तर संविधान आउने बेला संविधानसभाकै मृत्यु आयो । संविधानसभाको चितामा नेपालमा अहिलेसम्मका सबैभन्दा विद्वान प्रधानमन्त्री बाबुराम भट्टराईले दागबत्ती दिए, जसका लागि उनी आफैं १० वर्ष लडेको र हजारौंलाई मृत्युशैयामा पुरयाएकोमा गर्व गर्छन् । त्यो दागबत्ती दिन आगो, घिउ र दाउराको बन्दोबस्त प्रचण्ड आफैंले वर्षौं र हप्तौंदेखि गर्दै आएका थिए ।

त्यसो त दाउरा, आगो र घिउ नेपालमा सेलरोटी पकाउन पनि प्रयोग हुन्छन् । त्यसैले त नेपाली उखानले भन्छ— रोटी चिल्ला मिठा, कुरा खस्रा मिठा ! तर, माओवादीका हकमा यो उखान उल्टोतिरबाट मात्रै मिल्छ— रोटी खस्रा मिठा, कुरा चिल्ला मिठा ! कुरा चिल्ला र काम खस्रा गर्नु माओवादीको विशेषता नै हो । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको दिनदेखि आजसम्म माओवादीका चिल्ला कुरामा धेरै चिप्लिए । कुरा जति चिल्ला गरे पनि कामका हिसाबले माओवादी नेपालमा अधिनायकवादी सत्ताको अभ्यास गर्न दत्तचित्तले लागेको छ । नेपाली समाजको प्रगति र उन्नतिका धेरै सिंढीहरु भत्किए पनि जनयुद्ध शुरु गर्नुअघि उसले अपनाएको यो रणनीति निरन्तर छ ।

अधिनायकत्वमा जाने सबैभन्दा पछिल्लो र ठूलो फड्को हो— संविधानसभाको अकाल मरण र नयाँ संविधानसभा निर्वाचनको घोषणा । यो फड्को पार गर्न माओवादीलाई धौधौ परेकाले प्रचण्डको अनुहारमा उपस्थित तनावलाई कपालको तेल र लुगाको क्रिजले रोक्न नसकेको हो भन्ने प्रष्टै बुझ्न सकिन्छ । आफ्नो अधिनायकत्व स्थापना गर्न बाधक हुने र आम मानिसले पत्याएका सबैखाले संघसंस्था र संरचना भत्काउँदै जाने १ फागुन २०५२ देखि नै शुरू भएको माओवादीको रणनीति अहिले सबैभन्दा अप्ठेरो कालखण्डबाट गुज्रँदैछ।

जनयुद्ध शुरू गरिएको दिन गोरखाको साना किसान विकास आयोजनामा भएको आक्रमण यो रणनीतिको पहिलो परीक्षण थियो । भन्न आवश्यक छैन, त्यो बेला नेपाली गरीब किसानले सबैभन्दा बढी विश्वास गरेको संस्था साना किसान विकास आयोजना नै थियो । यसले साहुबाट चर्को ब्याजमा ऋण लिनुपर्ने बाध्यताबाट मुक्त गरी किसानहरूको आत्मबल बढाएको थियो । गाउँ–गाउँसम्म फैलिएका साना किसान विकास आयोजना र सहकारीहरू माओवादीको पहिलो निशानामा परेर सकिए । त्यसपछि गाउँघरमा जन्म–मृत्यु दर्ता, नागरिकता वितरणलगायत सेवा दिने गाविसहरू माओवादीका निशानामा परे । अनि गाउँका प्रहरी चौकी खाली भए ।
यी निशानाहरू त्यही अधिनायकत्व स्थापना र सञ्चालन गर्न बाधक हुने संरचनाहरु भत्काउँदै जाने रणनीतिका अंग थिए । यही रणनीति लागू गर्दै जाँदा माओवादीले प्रजातन्त्रको अभ्यास गर्ने र आम मानिसलाई सेवा दिने लगभग सबै संस्थालाई पंगु बनाउँदै लग्यो र खाली भएको ठाउँमा आफ्नै समर्थक संघसंस्थाहरु खडा गर्दै गयो, जुन उसको अधिनायकत्व स्थापना र सञ्चालन गर्न आवश्यक थिए र अझै छन् ।

ढाडमा टेकेर टाउकोमा हान्ने रणनीतिमा माओवादीले कांग्रेस र एमालेलाई ढाड बनायो । उनीहरु माओवादीका ढाड मात्र भएनन्, ढाल पनि भैदिए । सहमति, सहमति र सहमतिका नाममा आफ्नो अधिनायकत्व खडा गर्ने नियत पूरा गर्न कांग्रेस र एमालेरुपी ढाललाई अघि सारेर उसले ज्ञानेन्द्रलाई बेवकुफ बनायो र जनताको लागि समेत पिलो हुनथालेको राजतन्त्र नेपालबाट विदा भयो । त्यसपछि सहमतिका नाममा सेलरोटी जस्ता चिल्ला कुरामा प्रतिपक्षीलाई निरन्तर अलमल्याउने र आफ्नो अधिनायकत्व खडा गर्ने खस्रो काम गर्दै जाने रणनीति अन्तर्गत उसले संविधानका विवाद मिलाए जस्तो गरयो, तर मिल्न दिएन ।
संविधानसभा पनि उसको एउटा रणनीति नै थियो । संविधान माओवादीलाई चाहिएको थिएन र अझै पनि चाहिएको छैन । किनभने, मुलुकलाई माओवादी अधिनायकत्वमा लैजानबाट रोक्न सक्ने अदालत, सञ्चार गृह, राष्ट्रिय सेना जस्ता संस्थाहरू अझै पंगु भैसकेका छैनन् । तिनलाई पंगु बनाउनु र प्रजातान्त्रिक अभ्यासमा जाने बाटोहरु बन्द गर्नु उसको अहिलेको रणनीति हो ।

संविधानसभाको विघटन गर्नुपूर्व जनजाति आन्दोलनमा छानी–छानी पत्रकार पिटेर, पत्रकारका मोटरसाइकल जलाएर र सञ्चारमाध्यमका गाडीमा आगो लगाएर आफ्नो अधिनायकत्व स्थापना गर्न र टिकाउनका लागि सञ्चारमाध्यमलाई नियन्त्रण गर्न सकिन्छ कि सकिंदैन भन्ने परीक्षण ग¥यो माओवादीले । मिडिया विरोधीको अपजस पनि लिनु नपर्ने र अधिनायकत्वको अभ्यासमा खतरा ठानिएको मिडियाको हैसियत पनि बुझ्ने माओवादीको दाउ थियो त्यो आक्रमण ।
यी तमाम घटना र संविधानसभाको विघटनपछि माओवादी अहिले बजेट र अध्यादेशका विषयमा राष्ट्रपति कार्यालयलाई कमजोर पार्ने रणनीतिमा लागेको छ भने अधिनायकत्व स्थापनाका लागि संघीयता पक्षधरबीच मोर्चा बनाउन थालेको छ । माओवादीलाई उपयोग र दुरुपयोग गर्दै आएका कांग्रेस र एमालेले माओवादीको यो रणनीतिलाई पहिले आप्mना विरोधीलाई सिध्याउन प्रयोग गरे । माओवादी मूलधारमा आएपछि उसैका प्रतिपक्षी भएका कांग्रेस र एमाले अधिनायकवादको माओवादी रणनीतिक यात्रा रोक्न असफल भएका छन् । तर, डेढ दशक लामो यो रणनीतिलाई निरन्तरता दिन माओवादीलाई पनि अब पहिले जस्तो सजिलो छैन।

विश्व आर्थिक शक्ति भैसकेको र अधिनायकवादी शासनशैलीमै विश्वास गर्ने उत्तरको छिमेकीले जातीय संघीयतामा नजान दिएको सल्लाह र सन्देश अनि जातीय संघीयतामा नगएसम्म ग्रेटर नेपालको भयले सताइरहने दक्षिणको संसारकै सबभन्दा ठूलो लोकतान्त्रिक छिमेकीको सल्लाह र सन्देशबीच माओवादी रणनीति अन्योलमा परेको छ । संविधानसभा आफ्नो महात्वाकांक्षाको शिकार भएपछि देशभित्र खस्किंदै गरेको आफ्नो छविको चिन्ता, समकक्षीहरुको बढ्दो अविश्वास, पार्टीभित्र भैरहेका घातप्रतिघात, अनि उत्तर र दक्षिणका छिमेकीका चाहना, आकांक्षा र दवावबीच रणनीतिक तालमेल मिलाउन नसकेर माओवादी अध्यक्ष प्रचण्ड थाकेका छन् । उनका चिल्ला कुरामा चिप्लिने मानिस घटेका छन् र खस्रा कामको मूल्यांकन गर्ने बढेका छन् ।

यो सत्यले आफैंलाई पोल्न थालेपछि भित्रभित्रै थाकेका प्रचण्डको थकाइलाई तेल, जेल र चिटिक्क परेका लुगाले छोप्न नसक्ने गरी थिचेको छ । उनको अनुहारको चमक फिक्का भएको र ज्यानको फुर्ती हराएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>