अन्तर्वार्ता/विचारआइतबार, मंसिर २, २०७०

‘सधैं प्रतिकार गर्छौं’

हिमालखबर

नेपाल बन्दको विरोधमा र्‍याली निकाल्ने निर्णय किन गर्नुभएको हो ?
निजी क्षेत्र र नेपाल उद्योग वाणिज्य महासंघ नेपाल बन्द हुनुहुँदैन भन्ने पक्षमा छ । बन्दले मुलुकमा दैनिक रु.२ अर्ब भन्दा बढी घाटा हुने र अर्थतन्त्र थप जर्जर बन्ने भएकाले हामीले बन्दको विरोध गरेका हौं ।

गाडी चलाउने र पसल खोल्ने काम तपाईंहरूले गर्नुभएन नि ?
माओवादी लगायत ३३ दलीय मोर्चासँग हामीले संवादमा जोड दिएका थियौं । हाम्रै आग्रह र दबाबले उहाँहरूले १० दिनको आम हड्ताललाई यातायात बन्दमा सीमित गर्नुभयो । हामीले बन्द स्वीकार्दैनौं भने पनि ‘राजनीतिक माग’ भन्दै उहाँहरूले फिर्ता लिन मान्नु भएन । अब सरकारले सवारी साधन चलाउन सुरक्षाको विश्वासिलो आधार तयार पार्नुपर्छ ।

आवश्यक परे प्रतिकार पनि गर्ने भन्नुभएको छ नि ?
हामीले बन्द विरुद्ध मोटरसाइकल र्‍याली निकालेर भद्र अवज्ञा गर्‍यौं । स्थानीय र लामोदूरीका सवारी साधन पनि चलेका छन् । बन्दको अवज्ञा गर्नु भनेकै प्रतिकार हो ।

निजी क्षेत्रका मानिस दलहरूमा लागेकैले बन्द आयोजना गर्नेलाई सजिलो भएको भनिन्छ नि ?
विचार सबैको हुने भएकाले निजी क्षेत्रका साथीहरू पनि दलमा आबद्ध हुनु अस्वाभाविक होइन । तर, व्यावसायिक हित र आर्थिक गतिविधिको सुनिश्चितता सबै व्यवसायीको प्रतिबद्धता हो । जो जुन दलमा भए पनि बन्द, हड्ताल विरुद्ध निजी क्षेत्र एक हुने कारण पनि त्यही हो ।

सधैंका लागि बन्द नहुने उपाय सिर्जना गर्न पहल गर्ने योजना पनि छ कि ?
हामीले राजनीतिक दलहरूबाट बन्द विरुद्धको प्रतिबद्धता माग गरेका छौं । हिजो एमाओवादीले ६ दिने आम हड्ताल गर्दा पनि बसन्तपुरमा शान्तिसभा गर्‍यौं । जातीय राज्यको पक्ष र विपक्षमा नेपाल बन्द हुँदा पनि मैनबन्दी जुलूस निकाल्यौं । हामीले आफ्नो तर्फबाट गरेकै छौं ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>