ब्लगआइतबार, मंसिर २, २०७०
‘अचारसंहिता’
बजार माझ एक स्वतन्त्र उम्मेदवार भोट माग्न डुल्दै थिए । भोट माग्दै थिए वा डुल्दै थिए, यकिन गर्न मुश्किल छ । अरूले नमस्कार फर्काए पनि नफर्काए पनि बाटो हिंड्ने सबैलाई जम्लाहात गर्न छाडेका थिएनन् । त्यस हिसाबले उनी कर्मठ मानिस हुन् भनी अनुमान लगाउन सकिन्थ्यो । आफ्नो कामको पक्का ! प्रतिकूल परिस्थितिमा पनि हतास नहुने । मोबाइलको घण्टीले उम्मेदवार महाशयको एकाग्रता भङ्ग गर्यो । निर्वाचन कार्यालयको फोन रहेछ । स्पष्टीकरणका लागि तुरुन्त हाजिर हुने उर्दी जारी भयो ।
निर्वाचन अधिकृत सामु हाजिर हुँदै भने, ‘नमस्कार हजुर ।’ अधिकृतले गम्किंदै भने, “तपाईं विरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको थुप्रै उजुरी परेको छ । के पारा हो यो ? चुनाव जित्नु अगावै कानूनभन्दा ठूलो हुनुभो ?” उम्मेदवार टाउको कन्याउँदै मास्तिर हेर्न थाले । आचारसंहिताको कुनचाहिं बुँदा उल्लंघन गर्न आफू योग्य रहेछु भन्ने कुराको मेसो पाउन सकेनन् । जिज्ञासु बन्दै सोधे, “के विराम भएछ, हजुर ?” अधिकृत कड्किए, “अँठ्याएर जित्न खोजेको ? प्रमाण छ हामीसँग ।”
ल्यापटपमा एउटा तस्वीर देखाउँदै प्रश्न गरे, “चुनाव प्रचारका लागि यो क्यालेण्डर किन छापेको ?” उम्मेदवार विस्मित भए, “मेरो घरभित्रको फोटो कसरी यहाँ आयो ?” अधिकृतले गर्विलो हुँदै भने, “हामी सुतेर बसेका छौं यहाँ ? हरेक शंकास्पद ठाउँको रेकी गरेका छौं ।” उम्मेदवार झर्किए, “तिथिमिति हेर्न भनी घरमा झुण्ड्याएको क्यालेण्डर हो यो ।” “तपाईंको चुनावचिन्ह कसरी आयो यहाँ ?” अधिकृतले दपेट्न खोजे ।
उम्मेदवारले प्रष्ट्याए, “आफ्नो चिन्ह टिको पर्यो । अस्ति तिहाराँ पूजा गर्न लक्ष्मीको फोटो भएन । त्यही क्यालेण्डरमा टीका लगाएर पूजा गरेको ।” अधिकृत छाड्ने मूडमा देखिएनन्, “तलपट्टि तपाईंको नाम र क्षेत्र नं. कसरी आयो ?” उम्मेदवारले खुइøया गर्दै भने, “नातिलाई भित्तामा नकोर्न भनेथें, क्यालेण्डरमा लेखेछ ।”
“तपाईंले छापेको पोस्टर मापदण्ड भन्दा पूरै दुईसुता ठूलो रहेछ । आचारसंहिताको मतलब छैन ?” उम्मेदवारले दुखेसो पोखे, “छाप्नेले बदमासी गरिदिएछ, हजुर । दुईसुता ठूलो भएवापत बित्थामा एकहजार रुपैयाँ थप तिर्नुप¥यो । भाउ फरक पर्ला भन्ने जानेको भए बरु मापदण्ड भन्दा अलिक सानै छपाउँथें ।” अधिकृत चर्किए, “अर्कालाई दोष दिएर उन्मुक्ति पाइन्छ ?” उम्किने छाँट नदेखेपछि उम्मेदवारले हिम्मत जुटाउँदै भने, “अरूले त्योभन्दा पच्चीस गुणा ठूलो पोस्टर टाँसेका छन् । जाबो दुईसुता…” अधिकृतले बीचमै टोके, “नचाहिंदो कुरा गर्ने ? हाम्रो आँखा छैन ? तपाईंले जे भन्यो त्यही पत्याउन !”
आत्मविश्वासी हुँदै उम्मेदवारले भने, “धरोधर्म ढाँट्या हैन । तपाईंको अफिस पारिपट्टि एक जना ठालु नेताले मुड्की उचालेको मान्छे भन्दा ठूलो पोस्टर छ । नपत्याए हिंड्नुस्, म देखाइदिन्छु ।” निर्वाचन अधिकृतले हड्बडाउँदै निधार पुछेर भने, “मेरो चश्मा बिग्रेकाले बनाउनदिएको छु । चश्मा नभई केही देख्दिनँ ।” “चश्मा ल्याउनुस् न त, म देखाइदिन्छु”, उम्मेदवारले आग्रहपूर्वक भने । अधिकृत झर्किए, “निर्वाचनको धपेडीमा कता चश्मा खोज्दै हिंड्नु । चुनावपछि चश्मा ल्याउँछु, अनि फुर्सदमा गएर हेरौंला ।”
“तपाईंमाथि अरू पनि उजुरी छ कि म हेर्दैछु । बस्दै गर्नू ।” उम्मेदवार रन्किए, “अरूले हेलिकप्टरको लस्कर लाउँदा आचारसंहिताले छुँदैन । हामी साइकल नचढ्नेलाई चाहिं दुःख दिने ?” अधिकृतले भने, “आकाशमा उड्ने हेलिकप्टरमा को–को चढे, हामी भुईंमा बस्नेले के जान्नु ? प्रमाण भए ल्याउनुस् क्यारे । हामी कारबाही गर्छौं ।”
उम्मेदवार गलेनन्, “त्यत्रो टेलिभिजनमा देखाइरा’छन् त । तपाईंसँग चश्मा भए पो देख्नुहुन्थ्यो !” अधिकृतले आँखा तर्दै भने, “अर्थोक केही काम छैन हाम्रो, निर्वाचनको चटारोमा टेलिभिजन हेरेर बस्न । नियम मिच्नेले ठूलो गफ गर्ने ?” उम्मेदवारको नाकैमा चोरऔंला ठेकाएर भने, “एकपटकलाई छाड्दैछु । फेरि उल्लंघन भयो भने सोझै उम्मेदवारी रद्द गर्छु । कखरा पढे झैं तीनचोटि आचारसंहिता वाचन गर्नुस् । अनि जानुस् ।” आचारसंहिता वाचन गर्दागर्दै उम्मेदवार पसिनाले निथ्रुक्क भिजे ।
त्यस उप्रान्त स्वतन्त्र उम्मेदवार प्रचारप्रसारमा हिंडेको देखिएन । सामाजिक संजालमा फैलियो, उम्मेदवार अपहरणमा परे । टेलिभिजनमा ‘फ्ल्यास न्यूज’ आउन थाल्यो “सुरक्षा आश्वस्तता नहुँदा उम्मेदवार घरभित्रै थन्किए ।” सत्य पहिल्याउन स्थानीय प्रहरी प्रमुख उम्मेदवार भेट्न पुगे । प्रहरी प्रमुखतिर उनले फर्केर पनि हेरेनन् । कसैको धम्कीका कारण मानसिक आघात परेछ भन्दै आयोगले केन्द्रबाट मनोचिकित्सक पठायो ।
भित्तामा टाँसिएको आचारसंहितातर्फ एकटक हेरिरहेका उम्मेदवार देखेपछि मनोचिकित्सक मुस्कुराए । उनले भने, “तपाईंले हेरिरहेको यो कागज आचारसंहिता नभई अचारसंहिता परेछ ! यो अचारसंहिताको आधारमा बनाएको अचार, सानाले खाए पीरो हुने र ठूलाले जिब्रो पड्काउँदै स्वाद लिन मिल्ने हुन्छ ।” उम्मेदवारले आँखा झिपिक्क पारे । सबैको मुहार उज्यालो भयो ।