रिपोर्टसोमबार, मंसिर ३, २०७०

हिंसाको हिसाबकिताब

हिमालखबर

किशोर दाहाल गौरादह, झापा

५ भदौ २०६२ को साँझ् पति गुरुप्रसाद खतिवडा र खेतमा काम गरेर फर्केका छोराबुहारीलाई खाना दिएर घर बाहिरको फलैंचामा छिमेकीहरूसँग गफ गर्न पुग्दा त्यसमुनि बम राखिएको न ६० वर्षीया यमुनादेवीलाई थाहा थियो, न त त्यहाँ आएका छिमेकीलाई नै । गफमा गरिरहेको वेला राति ११ बजेतिर अचानक बम पड्किंदा यमुनादेवीको ज्यान गयो ।

बमले क्षतविक्षत उनको शरीरबाट छुट्टिएको टाउको ५० मिटर परको गोठमा पुगेको थियो । २८ कात्तिक बिहान आमा मरेको ठाउँ देखाउँदै विह्वल छोरा कृष्णबल्लभले भने, “माओवादीहरू अहिले भोट माग्न कुन मुख लिएर आउलान् !” पत्नी वियोग र नसा सम्बन्धी बिमारीले थलिएका गुरुप्रसादको पनि गत २८ पुसमा निधन भयो । पश्चिम झपाको गौरादह–५ धिमधिमेमा भएको त्यो घटनाको आक्रोश अहिले गाउँभरि फैलिएको छ ।

झुन्डिएर आत्महत्या गरेकी बुहारी कमलाको हत्या गरेको आरोप लगाउँदै २३ वैशाख २०६१ मा टंककुमारी दाहाललाई झपा तोपगाछीको घरबाट अपहरण गरेर दुई दिनपछि हत्या गरेको घटनालाई २८ कात्तिकमै गौरादहमा भेटिएका उनका छोरा किशोरले आक्रोशपूर्वक सम्झ्एि । त्यो वेला गाउँको चौबाटोमा आधा घण्टासम्म कसैलाई निस्कन नदिएका माओवादीहरू गएपछि हेर्दा आमाको टाउको शरीरबाट छुट्टिएको पाइएको बताउँदै किशोर भन्छन्, “आमालाई मारेर आशौच बार्न पनि नदिने उनीहरूकै कारण गाउँ समेत बस्न नपाएका हामी त्यो पीडा कसरी बिर्सन सक्छौं ?”

पीडितको परिवारले पीडा र आक्रोश पिएर बसेको भए पनि स्थानीयले एमाओवादीसँग यो निर्वाचनमा त्यो घटनाको हिसाब खोज्न थालेका छन् । दुवै घटना देखे÷थाहा पाएका गौरादहका दुर्गा शर्मा भन्छन्, “राजनीति नबुझ्ेका, अक्षर समेत नचिन्ने निहत्था महिला मारिएको घट्ना बिर्सने कुरै भएन ।” मत माग्न गाउँ पुगेका एमाओवादी उम्मेदवार र कार्यकर्ताहरू ज्यादतीको शिकार बनेकाहरूका अघि नाजवाफ हुने गरेको छन् ।

आक्रोशको लहर
२०६४ को निर्वाचनमा माओवादी युद्ध छाडेर शान्ति प्रक्रियामा आएको, क्यान्टोनमेन्टमा लडाकू र हतियार भएको र पूर्वलडाकू वाईसीएल रहेकाले सामान्य मतदाता मात्रै नभएर प्रतिस्पर्धी दलका नेता÷कार्यकर्ता पनि आतङ्कित थिए । त्यो वेला माओवादी पुनः जंगल फर्किने डर पनि थियो उनीहरूमा । त्यसमाथि, ‘नयाँ शक्तिले नयाँ गर्ने’ आम मानिसको आशा छँदैथियो ।

तर, एमाओवादी हतियार र लडाकूबाट अलग भएको, शान्ति प्रक्रिया समाप्त भएको र केही गर्ला भन्ने आशा सकिएकाले ६ वर्षसम्म मौन रहेका मतदाता मुखर हुन थालेको २५ कात्तिकमा राजधानीछेउको ललितपुर–१ अन्तर्गतका पहाडी गाउँहरूमा पनि देखियो । माओवादीले द्वन्द्वकालमा हत्या गरेका शंखु—६ की महिला स्वास्थ्य स्वयंसेविका गोरीमाया तामाङ र कालेश्वरका १४ वर्षीय देवी दाहाल यो निर्वाचनमा निर्णायक बन्ने परिस्थिति देखिएको थियो, त्यहाँ ।
स्थानीय एमाओवादीसँग ती हत्याको हिसाब खोज्न आतुर रहेको स्थानीयको भनाइले देखाउँथ्यो ।

कतिसम्म भने, तामाङ हत्याका मुख्य योजनाकार मानिएका बसन्त उपनामका एमाओवादी कार्यकर्ता राजन तिमिल्सिना सहित निर्वाचनको प्रसारमा शंखु पुगेको एमाओवादी ललितपुर–१ का उम्मेदवार हरि दाहालको टोलीलाई स्थानीयले ढुंगामुढा गरी भगाए । स्थानीयबाट जोगिन तिमिल्सिनाले प्रहरीको मद्दत लिनु परेको त्यो घटनापछि एमाओवादीले त्यहाँ चुनावी सभा गर्न सकेको छैन । गोरीमायालाई २०६१ मा घरबाट अपहरण गरी चरम यातनाका साथ ललितपुरका विभिन्न गाउँ घुमाउँदै मकवानपुरको जंगलमा लगेर हत्या गरिएको थियो ।

ती दुई अमानवीय घटनाका रचयिता एमाओवादीप्रति शंखु र कालेश्वरका बासिन्दा मात्र होइन, छिमेकी गाविसहरू गोटीखेल, चन्दनपुर, दलचोकी र बुखेलमा पनि आक्रोश छ । दलचोकी—५ का नारायण घिमिरेले २०६४ मा डर–त्रासमा परेर एमाओवादीलाई भोट दिए पनि अब मनको आवाज सुन्ने बताए भने शंखुको लाँकुरीभञ्ज्याङमा भेटिएका राप्रपा नेपालका कार्यकर्ता यदुनाथ तिमिल्सिनाले गोरीमायालाई मार्ने एमाओवादीले त्यो क्षेत्रबाट मत नपाउने बताए ।

गत निर्वाचनमा ललितपुर–१ बाट जितेका एमाओवादी नेता वर्षमान पुन मोरङ–९ जानुको मुल कारण उनको पार्टीप्रति स्थानीयमा देखिएको आक्रोश नै थियो । अहिले यो क्षेत्रमा कांग्रेसका उदयशमशेर राणा, एमालेका मधुसूदन पौडेल र राप्रपा नेपालका केशरबहादुर बिष्टबीच त्रिपक्षीय प्रतिस्पर्धा छ । पञ्चायतकालदेखि यो क्षेत्रको विकासमा योगदान पु¥याएका बिष्टबारे कालेश्वर–५ का बुद्धिकृष्ण तिमिल्सिनाले भने “उनकै कारण हाम्रो थाप्लोबाट नाम्लो हटेको बिर्सने कुरै आउँदैन ।” लेले–चन्दनपुर ४७ किलोमिटर सडक निर्माणका लागि बिष्टले जश पाएका छन् ।

२०६४ को निर्वाचनमा गोली र खुकुरीको डरले माओवादीलाई मत दिएको बताउने गोटीखेलका माइतसिंह वाइवा (५२), चन्दनपुर—३ की गोमा बजगाई र कालेश्वर–५ का बुद्धिकृष्ण तिमिल्सिनाले वर्षमानले केही राम्रो काम गरेको भए पनि द्वन्द्वकालमा पीडा दिएकाले एमाओवादीलाई मत नदिने बताए ।

बल्झिए पुराना घाउ
२५ असार २०५९ मा बाँके शमशेरगञ्ज गाविसको अकलघरवा गाउँ घेरेका माओवादीहरूले राप्रपाबाट वडा सदस्यमा निर्वाचित सोहनलाल यादव र मोती तमौलीलाई अचानोमा राखेर बन्चरोले खुट्टा छिनालेर गर्धनमा खुकुरी प्रहार गरी हत्या गरे भने ९ जना गाउँलेलाई पिटेर घाइते बनाए । सोहनलालको घरमा विस्फोट गराएर जग्गा कब्जाको घोषणा गरिएको त्यो घटनाका पिडीत इन्द्रप्रसाद यादवले कृत्रिम खुट्टाले हिंड्नु परेको छ भने जगदीश यादवको दायाँ खुट्टा चल्दैन ।

त्यो त्रासदीको विरोधमा गाउँलेले केही बोल्न नसकेको अवस्थामा गत निर्वाचनमा माओवादीले त्यो गाउँ रहेको बाँके–१ जितेको थियो । त्यो वेला अरू दलले समेत न्याय दिलाउन नसकेको सम्झ्ँदै सोहनलालका भाइ रामनारायण भन्छन्, “विरोधमा बोले ज्यान नबच्ने भएकाले हामी चुप भयौं ।” यो निर्वाचनमा ऊ वेलाको हिंसाको हिसाब खोज्ने स्थानीयको ‘मूड’ थाहा पाएर एमाओवादीहरु शमशेरगञ्जका १, २ र ३ वडामा छिर्न नसकेको जगदीश बताउँछन् । नेपालगञ्जको घरदैलो कार्यक्रममा भेटिएका बाँके–३ का एमाओवादी उम्मेदवार दामोदर आचार्यलाई त्यही घटनाका घाइते इन्द्रप्रसाद यादवले भने “हँसिया हथौडाले एउटा खुट्टा छिनाईदिनुभयो, भोट मागेर अर्को खुट्टा पनि छिनाल्ने विचार छ ?”

द्वन्द्वकालमा माओवादीले दैलेखमा पत्रकार डेकेन्द्र थापाको हत्या गरेका घटनाका दोषीलाई जोगाउन प्रधानमन्त्री हुँदा बाबुराम भट्टराईले राज्यशक्तिको दुरुपयोग गरेको नबिर्सेका दैलेखवासीले निर्वाचनमा एमाओवादीलाई देखाइदिने दैलेख बजारका कविराज खत्री बताउँछन् । शान्ति प्रक्रियामा आएपछि पनि माओवादीले ८ जेठ २०६६ मा जुम्ला धापा—९ का कांग्रेस महासमिति सदस्य उमाकान्त हमालको हत्या ग¥यो । २०६४ को चुनावमा कांग्रेस, एमाले र नेमकिपाको कुल मतभन्दा माओवादीले बढी मत ल्याएर जितेकोमा अहिले एमाओवादी उम्मेदवार धापा जान सकेका छैनन् । कांग्रेस उम्मेदवार ललितजंग शाही आफू विजयी भए त्यो घटनाका अभियुक्तलाई कानूनी दायरामा ल्याउने बताउँछन् ।

गत निर्वाचनमा मध्यपश्चिमका ३३ मध्ये २७ सीट जितेको एमाओवादीलाई यो पटक जनताले द्वन्द्वकालका ज्यादतीको हिसाब खोज्न थालेकाले त्यो कायम राख्न सम्भव छैन । पार्टी विभाजन, लडाकू र बन्दूकको साथ छुटेको प्रतिकूलता पनि उसलाई छँदैछ । गत निर्वाचनमा पिछडिएको क्षेत्र र समुदायको नारा लगाएकाले माओवादीलाई भोट दिएको बताउने मुगुको श्रीनगर—१ का विनोदकुमार मल्ल भन्छन्, “माओवादीले कुरा ठूला गरेर केही नगरेकाले यो पटक उसलाई मत जाँदैन ।”

२३ जेठ २०६२ मा बाँदरमुढेमा यात्रुवाहक बसलाई एम्बुसमा पारेर माओवादीले छोरी, ज्वाइँ, दुई नातिनी, छोरा र सालीको हत्या गरेका तथा दुई भाइलाई घाइते बनाएको पिडा कल्याणपुर गोपालनगरका नमप्रसाद घिमिरेले अझै भोगिरहेका छन् । त्यो घटनापछि भरतपुर बसाइँ सरेका उनी कल्याणपुर गएरै मतबाट एमाओवादीलाई जवाफ दिने बताउँछन् ।

बाँदरमुढे घटना पीडित संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारी घटना भएको लामो समयमा पनि त्यसको पीडा कम गर्न कोही अघि नसरेको बताउँदै एमाओवादीले घटनाको दोषीलाई उम्मेदवार बनाएको बताउँछन् । गत निर्वाचनमा बाँदरमुढे काण्डका पीडित रहेको माडी क्षेत्रबाटै माओवादी समर्थनमा जनमोर्चाका अमिक शेरचनले जितेकोमा अब हार्ने अधिकारीको भनाइ छ । माडीका नागरिक अगुवा नारायण आचार्य पनि यो निर्वाचनमा एमाओवादीले त्यहाँबाट मत नपाउने धारणा राख्छन् ।

समर्थकमै मोहभंग
१० फागुन २०५६ मा गस्तीमा निस्केको प्रहरीले रुकुमको खारामा माओवादी कार्यकर्तालाई आश्रय दिएको आरोपमा १६ जना स्थानीय कांग्रेस कार्यकर्ता र सर्वसाधारणलाई गहुँबारीमा लाइन लगाएर गोली हानी हत्या गर्‍यो भने ६८ घरगोठमा आगो लगायो । प्रहरीलाई चौकी बाहिर ल्याएर आक्रमण गर्ने योजना अनुसार माओवादीले त्यो दिन खारामा आगो लगाएको थियो ।

गुहार माग्दै स्थानीयको भेषमा प्रहरी चौकीमा उनीहरू नै पुगेपछि प्रहरी बाहिर निस्किंदा माओवादी एम्बुसमा परी एक जना प्रहरी मारिएका थिए । जसको बदलामा प्रहरीले त्यो काण्ड मच्चाएको थियो । पति निरभान र छोरा गणेशलाई प्रहरीले आफ्नै अघि हत्या गरेको देखेकी खारा–३ की ५८ वर्षीया राती ओली शान्तिका लागि गत निर्वाचनमा माओवादीलाई मत दिए पनि यो पटक नदिने बताउँछिन् ।

राज्यआतंक व्यहोरेको खाराका धेरैले गत निर्वाचनमा जसरी यो पटक एमाओवादीलाई मत नदिने बताउँछन् । रुकुम, रोल्पामा माओवादीले गत निर्वाचनमा आफूले जिते जनताले ट्याक्टरले जोत्न र हेलिकप्टरबाट बीउ छर्न पाउने नारा लगाएको थियो भने अरू दलले प्रचारप्रसार गर्न र मतदान प्रतिनिधि राख्न समेत सकेका थिएनन् ।

गत निर्वाचनमा माओवादीको प्रचार गरेका र अहिले रुकुम एमालेको झ्ुला गाउँ कमिटीका अध्यक्ष रहेका मानबहादुर गिरी भन्छन्, “नयाँ नेपाल बनाउने माओवादीको सपना कमाउने धन्दा मात्रै रहेको अहिले थाहा भयो ।” एमाओवादी अहिले त्यहाँ आक्रामक हुनुमा ‘आधारक्षेत्र’ भत्केको निराशा र आक्रोश कारण रहेको देखिन्छ ।

माओवादीको नाराबाट आकर्षित भएर २०५५ मा भूमिगत भएका धनुषा लक्ष्मीनिवास–२ का जवाहरलाल महतोले जनकपुरमा खैनी पसल चलाएको पाँच वर्ष भयो । ‘आमूल परिवर्तन’ को लागि माओवादीमा लागेको बताउँने महतो सिद्धान्त पछ्याउँदा पनि पार्टीभित्र ठाउँ नपाएपछि र अवसरवादीका अघि टिक्न नसकेपछि गुजारा चलाउन पसल थापेंको बताउँछन । यो पटक एमाओवादीलाई धेरैले मत नदिने उनको भनाइ छ ।

साथमा मीना शर्मा काठमाडौं, गोपाल गड्तौला झपा, तुफान न्यौपाने नेपालगञ्ज, कमल थापा÷लक्ष्मण केसी रुकुम, सविता श्रेष्ठ चितवन, ईश्वरचन्द्र झ जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...