रमझमसोमबार, मंसिर ३, २०७०
भोट माग्दै कलाकार
४ मंसीरमा हुने संविधानसभा निर्वाचनको रन्कोले पूरा देशलाई छोप्दा कलाकारहरूलाई नछुने कुरै भएन । यसपटकको फरक चाहिं के छ भने, दलहरूका भ्रातृ संगठनमा आवद्ध कलाकारलाई भन्दा नामी फिल्मी कलाकारहरूलाई बढी चुनाव लागेको छ । चुनावी प्रचारमा कलाकारहरूको प्रयोग बढ्ने क्रममा नीर शाह, मदनदास श्रेष्ठ, किरण खरेल, राजकुमार राईदेखि गायिका राधिका हमालसम्म नेपाली कांग्रेसलाई भोट माग्न व्यस्त छन् । उता भुवन केसी, मनोज गजुरेल, जिया केसी, देशभक्त खनाल, लव शर्मा नेकपा एमालेको प्रचारमा खटेका छन् ।
एमाओवादी पनि के कम; उसले रेखा थापा, मौसमी मल्ल, राजेन्द्र खड्गी, अशोक शर्मा, चेतन सापकोटा, केपी पाठक लगायतका कलाकार समूहलाई देश दौडाहामा खटाएको छ । यो रिपोर्ट तयार पार्दासम्म निर्देशक दीपक श्रेष्ठ एमाओवादीका लागि सुनसरी क्षेत्र नं. १ मा सक्रिय छन् । एमाओवादीले उनलाई समानुपातिक सूचीमा राखेको पनि छ । पञ्चायतकालदेखि नै ‘गाउँ गाउँबाट उठ…’ जस्ता जागरण गीत गाएर जनता जगाउँदै माले, एमालेदेखि माओवादीसम्मको लागि भोट मागेका रामेश र रायन भने यसपटक मौन छन् । “आफूले प्रचार गरेको पार्टीले जिते पद वा आर्थिक फाइदा लिन सकिने स्वार्थमा धेरै कलाकार लागेका छन्”, मन मारेर बसेका जनगायक रामेश भन्छन्, “यस्तो प्रयोग गरागरबाट देश र जनताले केही पाउँदैनन् ।”
लागिपरे कलाकार
नेताका भाषण, विकासे आश्वासन र संविधान निर्माणका मौखिक प्रतिबद्धता भन्दा कलाकारका प्रस्तुतिहरू बढी बिकाउ बनिरहेका छन् । चर्चित कलाकारहरू आउने भएपछि दर्शकको रूपमा जनताको उपस्थिति बढ्नु स्वाभाविक हो । एमालेले समानुपातिकतर्फ उम्मेदवार बनाएको भुवन केसी र एमाओवादीबाट आश्वासन पाएर पनि टिकट नपाएकी रेखा थापा आ–आफ्नो पार्टीलाई जिताउन लागिपरेका छन् ।
यो अवधिमा केसी राजधानीमा एमाले नेता माधवकुमार नेपालको क्षेत्रदेखि पूर्व झापा र पश्चिममा गुल्मी, रूपन्देहीसम्म पुगे । उनले नेताको शैलीमा भाषण गर्नेदेखि कम्मर मर्काउँदै गीत समेत गाएर मतदाता आकर्षित गर्न खोजे । उता नीर शाह र मदनदास श्रेष्ठले राजधानीका घर–घर पुगेर भोट मागे । रेखा थापा, मौसमी मल्ल, अशोक शर्मा, राजेन्द्र खड्गी लगायतका कलाकारहरू विभिन्न प्रस्तुतिसहित एमाओवादी नेता बाबुराम भट्टराई उम्मेदवार भएको रूपन्देहीको क्षेत्र नं. ४ मा भोट माग्दै हिंडे । एमालेले बुटवलमा लोकगायक वैकुण्ठ महत लगायतका कलाकारहरूको चुनावी सांस्कृतिक समूह नै तयार गरेर प्रचारमा हिंडायो ।
२० कात्तिकमा एमाओवादीको देशव्यापी चुनावी अभियान शुरू भएपछि झापा र मोरङका आठ ठाउँमा जनवादी कलाकार जेबी टुहुरेले ‘आमा दिदी बहिनी हो…’ बोलको गीत गाए, जुन उनले पाँच वर्षअघि एमाले नेता केपी ओलीको लागि गाएका थिए । ३७ वर्षदेखि गाउँदै आएको त्यो गीतमा उनले यस पटक पनि धेरैलाई नचाए । ७ कात्तिकमा झापाको दमकमा भएको एमालेको चुनावी सभामा पनि कलाकारहरूको लर्काे नै लागेको थियो । त्यहाँ भुवन केसी, लोकगायक बद्री पङ्गेनी, जिया केसी, लव शर्मा लगायतले नेता ओलीलाई जिताउन आग्रह गर्दै आ–आफ्ना प्रस्तुति दिए ।
अधिकांश जिल्लामा स्थानीय कलाकारहरूलाई परिचालन गरेको कांग्रेसले २४ कात्तिकमा दमकमा गरेको चुनावी सभामा भोट हाल्न अनुरोध गर्न पुगेकी थिइन्, लोकगायिका राधा हमाल । काठमाडौंको क्षेत्र नं ६ बाट राप्रपा नेपालको उम्मेदवार बनेका निर्माता उद्धव पौडेल कलाकारहरूलाई प्रचारमा प्रयोग गर्न हौसिने नै भए । आयुष रिजाल, गरिमा पन्त, सुमन सिंह, निता ढुङ्गाना, निर्माता छवि ओझा लगायतका कलाकारहरू पौडेलको पक्षमा खुलेर लागेका छन् । राप्रपाबाट पप गायक सञ्जय श्रेष्ठ र गायिका मीरा राणाले समेत टिकट पाएका छन् ।
कात्तिकमा रिलिज भएको मधुमास फिल्मकी नायिका शिवाङ्गिनी राणा पनि बाबुको चुनाव प्रचारमा व्यस्त छिन् । उनका बाबु धवलशमशेर बाँके क्षेत्र नं. ३ बाट राप्रपा नेपालका उम्मेदवार छन् । त्यस्तै, दलित जनजाति पार्टीको मोरङ क्षेत्र नम्बर ५ का उम्मेदवार तथा चलचित्रकर्मी सलिम अन्सारी निर्वाचन प्रचारका लागि चुनाव चिन्ह भन्दा फिल्मी पोस्टर टाँस्दै हिंडेका छन् । उनले आफू हिरो भएको चलचित्रका सीडी बाँडेर चुनाव प्रचारमा नयाँ तरिका अपनाएका छन् । राष्ट्रिय मधेश समाजवादी पार्टीमा लागेका सलिमले मागेको क्षेत्र नपाएपछि नयाँ पार्टीबाट उम्मेदवारी दिएका हुन् ।
‘व्यक्तिगत स्वार्थका लागि मात्र हो’
-रामेश, जनगायक
राजनीति देश र जनताको सेवाका लागि हो भन्ने कुरा अब रहेन । पहिले पार्टीले कलाकारलाई प्रयोग गर्दै आएकोमा अब कलाकारहरूले पनि पार्टीलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्न थाले । अहिले त्यही प्रयोग गरागर चलेको छ । कलाकारहरू भोलि पार्टीबाट आर्थिक फाइदा लिन दौडधुप गरिरहेका छन् । यो कुरा दुवै पक्षले बुझ्ेका छन् र एकअर्कालाई प्रयोग गरिरहेका छन् ।
वामपन्थी देख्नासाथ गोली हान्ने पञ्चायती व्यवस्थामा हामी कलाकारहरूले गाउँ–गाउँ घुमेर चेतना जगायौं । पार्टीहरू भूमिगत हुँदा जनतामाझ् पुग्ने हामी नै थियौं । तर, सत्तामा आएपछि नेताहरू स्वार्थमा लिप्त भए, देश र जनताका लागि परिवर्तन भएन । माले, एमालेपछि माओवादीसँग आशा थियो । हामी भोट माग्दै हिंड्यौं, तर उसले पनि जनतालाई धोका दियो । जनताका सपना र बलिदानलाई पद र पैसासँग साट्यो । नेताहरूले देश र जनतामाथि अन्याय मात्रै गरिरहे । जनता अपमानित छन् । हामी जनतासँगै छौं, जनताकै भलोका गीत गाउँछौं । कुनै पार्टीको पद र प्रलोभन चाहिंदैन ।
साप्ताहिक खबरपत्रिका हिमालबाट