टिप्पणीमंगलबार, मंसिर ४, २०७०

आतंककारी कृत्य गर्नेलाई कठघरामा ल्याऊ

सन्त गाहा मगर

संविधानसभा निर्वाचनका लागि सार्वजनिक विदा दिइएकाले भोटेबहाल, काठमाडौंका आठ वर्षीय समिर खड्गीलाई ४ मंसिर विहान विद्यालय जाने हतारो थिएन । त्यसैले अरुबेला स्कूल जाने समयमा उनी घर नजिकै दौंतरीहरूसँग खेल्न निस्किए । सवा १० बजे केही पर आधार गल्लीमा भेटिएको खेलौना जस्तो वस्तु उचाल्न नभ्याउँदै विस्फोट भयो । विस्फोटले समिरको दाहिने हातको पुरै औंला गुम्यो  । शरीरभरी बमका छर्राले लाग्यो (हे.तस्वीर) ।

४ मंसिर विहान विस्फोटमा परेर दाहिने हातको पुरै औंला गुमाएका ८ वर्षीय समिर खड्गी । तस्वीरः देबकी विष्ट/हिमालखबर

जिम्मेवारी लिए पनि नलिए पनि यो आक्रमण निर्वाचन विथोल्ने घोषणा गर्नेहरुकै कतुर्त भएकोमा कुनै सन्देह छैन । भनिरहनु नपर्ला, यस्तो बबर्रतापूर्ण आक्रमण नितान्त अमानवीय ढंगले गरिएको आतंककारी क्रियाकलाप नै हो ।

नेकपा–माओवादी लगायतका दल चुनावमा सहभागी हुनुपथ्र्यो/गराइनुपथ्र्यो भन्ने विवादको विषय नै रहेन, अब । तर यसबीच चुनाव विरोधका नाम जे जति अमानवीय क्रियाकलाप भए, त्यसले वैद्यहरूका ‘राम्रा’ भनिएका मागलाई समेत छायामा पारेको छ । चुनाव विरोधीकै कारण २ मंसिरमा ट्रक चालक राजकुमार क्षेत्रीको ज्यान गएको छ । वैद्य माओवादीको बन्दको चौथो दिन २८ कात्तिकमा बाराको निजगढमा उनले चलाईरहेको ट्रकमा पेट्रोल बम प्रहार गरिएको थियो ।

बालक लक्षित विस्फोट

सामाखुशीमा गरिएको विस्फोटाबाट घाइते पाँच वर्षीया मन्जु श्रेष्ठ । तस्वीरः कान्तिपुर

भोटेबहालकै घट्नालाई लिने हो भने खेलौना बमको प्रयोग गरिएको देखिन्छ । यो सिधै बालक लक्षित अपराध हो । यसले हमलाकारीहरू कायर तथा पराजित मानसिकतामा पुगिसकेको पुष्टी हुन्छ ।

काठमाडौंबाट रौतहट जाँदै गरेको यात्रुबाहक बसमा १ मंसिर साँझ आक्रमण गर्दा पाँच वर्षीय प्राजुन खातुनको अनुहार र दुबै हात जल्यो (हे. तस्वीर) । उनको पनि अस्पतालमा उपचार भईरहेको छ ।

काठमाडौंबाट रौतहट जाँदै गरेको बसमा सतुंगलमा पेट्रोल बम प्रहारबाट घाइते प्राजुन खातुन । तस्वीर साभारः कान्तिपुर

२७ कात्तिकमा काठमाडौंको सामाखुशीमा माइक्रोबसमा गराइएको विस्फोटबाट पनि साना नानीलाई नै क्षति पुग्यो । बन्दको अवज्ञा गरेको निहुँमा गरिएको आक्रमणबाट पाँच वर्षीया मन्जु श्रेष्ठ घाइते भइन् । अहिले उनको उपचार चलिरहेको छ ।
अस्पतालको शैयामा छटपटाईरहेका समिर, मन्जु र प्राजुनहरूलाई के थाहा बन्द के हो ? संविधानसभा चुनाव के हो ? वा वैद्यहरूको १८ बुँदेमा के छ ? तर चुनावका विरोधीहरूले आफ्नो अभीष्ट पुरा गर्न अबोध बालबालिकालाई नै तारो बनाए । र, यो कृत्यले पाकिस्तान र अफगानिस्तानमा स–साना बालबालिकालाई शिकार बनाउने आतंकवादी संगठन अलकायदाको कर्तुतलाई स्मरण गराएको छ ।

विडम्बना सरकारले ‘जे गरेर पनि निर्वाचन विथोल्छौ’ भन्ने नेताहरूलाई सुरक्षा दिएर राखेको छ । गृह मन्त्रायलको तथ्यांक अनुसार देशभरी दुई सय भन्दा बढी विस्फोटका घट्ना भईसकेका छन् । तर प्रत्यक्ष परोक्ष रुपमा बम विस्फोटको जिम्मा लिने दलका नेताहरूलाई कुनै कारवाही गरिएको छैन ।

दोहोरियो सेक्टरकाण्ड
राष्ट्रिय पञ्चायतको चुनाव बहिष्कार गर्ने क्रममा भएका हिंसात्मक घटनाकै कारण २०४३ मा तत्कालीन नेकपा मशालका महामन्त्री मोहन वैद्यले पार्टी प्रमुखको पद छाड्नुपरेको थियो । १५ बैशाख २०४३ मा काठमाडौंको विभिन्न नौ सेक्टरमा रहेको प्रहरी चौकी आक्रमण गर्ने निर्णयले उनी नेपाल कम्युनिष्ट पार्टी (मशाल) को महामन्त्रीबाट पोलिटब्यूरो सदस्यमा झरे । सेक्टरकाण्ड नामले परिचित यो घट्नालाई २०४६ मा चितवनमा वैद्यकै नेतृत्वमा बसेको केन्द्रीय समिति बैठकले ‘आत्मघाती र प्रत्युपादक’ भएको ठहर गरेको थियो । सेक्टरकाण्डपछि मशालको उपत्यका सञ्जाल ध्वस्त भएको थियो ।

ताप्लेजुङको चुनावी सभामा बम विस्फोट हुँदा घाइते पदमबहादुर मगर उपचारपछि । तस्वीरः लेखनाथ सिकारु ।

महामन्त्री वैद्यको निर्णयमा सहमति जनाउने सबै पोलिटब्यूरो सदस्यहरू केन्द्रीय सदस्यमा, केन्द्रीय सदस्यहरू क्षेत्रीय सदस्यमा घटुवा भए भने प्रहरी चौकी आक्रमणमा जाने कार्यकर्ताहरूमाथि कारवाही गरियो । त्यतिबेला गुमेको पार्टी प्रमुख पद ४ असार २०६९ मा एनेकपा माओवादी फुटाएपछि मात्रै मिल्यो, वैद्यलाई ।

नेतृत्वको लहडी निर्णय आफ्नै पार्टी कार्यकर्ताका लागि समेत कति घातक हुँदोरहेछ भन्ने दृष्टान्त थियो सेक्टरकाण्ड । आफ्नै निर्देशनमा चौकी आक्रमण गर्न जानेहरूलाई समेत वैद्यले बचाएनन्, कारवाही गरी छाडे । यसपल्ट नेकपा–माओवादीको नेतृत्वले त्यो धरातल समेत गुमाइसकेको छ । आतंककारी कृत्यमा अघि बढेको माओवादी नेतृत्वमाथि कारबाही गर्न सरकारले अझैं ढिला नगरोस् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>