टिप्पणीआइतबार, मंसिर ९, २०७०

एमाओवादीको शर्मनाक पराजयका कारण

mumaram Khanal

आशा र अपेक्षा गरेभन्दा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न भएको दोस्रो संविधानसभा निर्वाचनको परिणाम आश्चर्यजनक रूपले एमाओवादीको विपक्षमा गएको छ । घोषित परिणामको आँकडाले नेकपा (एमाले) र नेपाली कांग्रेस ठूलो दल बन्ने प्रतिस्पर्धामा रहेको देखाउँछ भने गत निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमाओवादी निकै कम संख्या सहित तेस्रो स्थानमा पुगेको छ । यो परिणामपछि संविधानसभाका संभावना र चुनौतीको लेखाजोखा गर्न थालिएको छ ।

संविधानसभाको निर्वाचनमा नातिनीको सहयोग लिइ मतदान गर्दै एक वृद्धा ।

निर्वाचनको पूर्व सन्ध्यामा एमाओवादीको अवस्था देशव्यापी रूपमै कमजोर रहेको टिप्पणी भइरहेकै थिए । तर, राम्रै मत ल्याएर उसले तेस्रो स्थान प्राप्त गर्ने आकलन गरिएको थियो । आकलन गरिएभन्दा निकै कम मत पाएपछि एमाओवादीले राजनीतिक धैर्य गुमाउँदै मत गणनाको प्रक्रियाबाट बाहिरिने घोषणा गर्‍यो । प्रक्रियाबाट बाहिरिने उसको निर्णयले शान्ति प्रक्रिया, संविधान निर्माण र उसकै राजनीतिक भविष्यबारे प्रश्न उठ्न थालेका छन् ।

असन्तुलित एमाओवादी
मत गणनाको प्रारम्भिक प्रक्रिया शुरू हुनेवित्तिकै आफ्नो पक्षमा परिणाम नआउने देखेपछि एमाओवादीले राति ३ बजे निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षडयन्त्र र धाँधली भएको आरोप सहित पार्टीका मतगणना एजेन्टहरूलाई बाहिरिन निर्देशन दियो । जबकि निर्वाचन सम्पन्न हुनेवित्तिकै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नै निर्वाचन स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष भएको प्रतिक्रिया दिएका थिए । यसरी आफ्नो पक्षमा परिणाम नआउने वित्तिकै राजनीतिक रूपमा असन्तुलित हुँदै उनले अराजनीतिक प्रतिक्रिया दिए ।

सबैलाई थाहा भएकै हो, प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव एमाओवादीले नै गरेको थियो । त्यो पनि आफ्नो महाधिवेशन हलबाटै । जबकि उसको त्यस्तो प्रस्तावप्रति राजनीतिक दल, नागरिक समाज, बार एशोसिएसन लगायत विभिन्न पेशागत संगठन तथा बुद्धिजीवीहरूको विरोध थियो । तैपनि निर्वाचन हुन्छ भने जोखिम मोलेरै भए पनि निर्वाचन गर्नुपर्छ भन्ने मत बढ्दै गएकाले यो निर्वाचन सम्पन्न हुनसकेको हो । वर्तमान गैरदलीय सरकारको निर्माण पनि एमाओवादीको आग्रह अनुसार नै भएको हो ।

निर्वाचनबारे एमाओवादीले अहिले गरेको निर्णयले उसलाई फेरि एक पटक अराजनीतिक र गैरजिम्मेवार राजनीतिक दल भनेर चिनाएको छ । योभन्दा अगाडि पनि उसले कैयौं पटक विद्रोहको धम्की दिंदै शान्ति प्रक्रियाबाट बाहिरिने चेतावनी दिने गरेको थियो । त्यस्ता भनाइले उसको राजनीतिक विश्वसनीयतालाई समाप्त पार्दै पार्टीमै विभाजनको बीउ रोपेको थियो । विगत दुई वर्षदेखि उसको विश्वसनीयतामा केही सुधार भएको वेला पहिलो दिन आफैंले स्वच्छ र स्वतन्त्र भनेको निर्वाचनको परिणामलाई अस्वीकार गर्ने र प्रक्रियाबाटै भाग्ने निर्णयले एमाओवादीलाई निकै अप्ठेरो परिस्थितिमा पुर्‍याएको छ ।

तर, निर्वाचनको परिणामलाई स्वीकार नगरी एमाओवादीलाई सुखै छैन । निर्वाचन परिणामलाई नस्वीकार्ने निर्णयमा अडिग रह्यो भने ऊ पुनः विभाजित हुने निश्चित छ । किनभने बाबुराम भट्टराई पक्षले संविधानसभालाई त्याग्ने राजनीतिक निर्णय स्वीकार्ने देखिंदैन ।

त्यस्तो अवस्थामा पुष्पकमल दाहालका सामु मोहन वैद्यको नेतृत्वलाई निःशर्त स्वीकार्नुको विकल्प बाँकी रहने छैन । अहिलेको असन्तुलित निर्णयलाई नसच्याउने हो भने उसको सांगठनिक विघटनको प्रक्रिया डरलाग्दो रूपमा शुरू हुने खतरा छ । त्यस्तो वेला एउटा पक्ष एमालेतर्फ र अर्काे पक्ष वैद्य माओवादीतर्फ आकर्षित हुन सक्छ । त्यसकारण, एमाओवादीले यो असन्तुलित र अराजनीतिक निर्णयलाई छिट्टै सच्याउँदै निर्वाचन परिणामलाई स्वीकार्नुको विकल्प छैन ।

पराजयका कारण
दश वर्षको जनयुद्ध र १९ दिनको जनआन्दोलनको राजनीतिक म्यान्डेट के थियो र के थिएन भन्ने पहिलो संविधानसभाको निर्वाचनपछि ज्यादै विवादित विषय बन्यो । अझ् मधेश आन्दोलन भएपछि त्यसको अभिजात वर्गीय नेतृत्वले मधेशमा रहेको चरम वर्गीय उत्पीडनलाई उपेक्षा गर्दै क्षेत्रीयताको नाममा आफ्नै वर्गमा अधिकार केन्द्रित गर्न खोज्यो । र, अभिजात वर्गमा फेरिएको एमाओवादीको नेतृत्वले ऊसँग अराजनीतिक गठबन्धन गर्दै आफूहरूलाई कथित अग्रगामी शक्ति भन्न थाल्यो ।

जनयुद्ध र मधेश आन्दोलनको जगमा निर्मित यी दुवै नव अभिजात वर्गीय नेतृत्वले नेपालको राजनीतिक शक्ति सन्तुलन र नेपाली समाजको बनोटलाई मनोगत व्याख्या गर्दै उग्र जातिवादको बीउ रोप्ने प्रयास गरे । उनीहरूको पतनको श्रृंखला शुरू भएको त्यहींबाट हो । एमाओवादीले अहिले लज्जास्पद पराजय भोग्नुको महŒवपूर्ण कारण पनि त्यही हो ।

संविधानसभा, लोकतान्त्रिक गणतन्त्र, राज्यको पुनर्संरचना र धर्म निरपेक्षता एमाओवादीले स्थापित गरेका मुद्दाहरू हुन् भन्ने साँचो नै हो । गत संविधानसभाको निर्वाचनमा माओवादीले ती मुद्दामा दावी गर्दै जनतासमक्ष मत मागेको थियो । जनताले पनि ‘जनयुद्ध’ र जनआन्दोलनको राप र ताप भएको त्यो वेला एमाओवादीको दावीलाई सत्य ठह¥याउँदै ठूलो पार्टी बनाइदिए । एमाओवादी ठूलो बन्नुमा त्यो मुद्दासँगै बल प्रयोग, शान्ति प्रक्रियाबाट बाहिर नजाउन् भन्ने जनचाहना र लडाकूको माध्यमबाट सिर्जना गरिएको मनोवैज्ञानिक त्रासले पनि काम गरेको थियो ।

तर, ठूलो दल बनेपछि एमाओवादीले दम्भ र अहंकार देखाउँदै अन्य दलहरूलाई अपमान गर्न थाल्यो । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्नबाट रोक्यो र सहमतिको राजनीतिलाई भत्काउँदै बहुमतीय प्रणालीको आधारमा आफ्नै नेतृत्वमा सरकार बनायो । संविधान निर्माणमा प्राथमिकता दिनुको साटो एमाओवादी नेतृत्वले सर्वसत्तावादको अभ्यास गर्दैै र नेपाललाई ‘स्वर्ग बनाउने’ बताउन थाल्यो । सेनापति रुक्मांगत कटवाल हटाउने प्रकरणबाट सत्ताच्यूत भएपछि त दाहाल संविधान निर्माण गर्न नभएर पुनः प्रधानमन्त्री कसरी बन्न सकिन्छ भन्ने प्रयत्नमा सम्पूर्ण रूपमा केन्द्रित हुन थाले । त्यसले एमाओवादी विरुद्ध तीव्र धु्रवीकरण भयो भने उसैमा पनि कथित विद्रोह र शान्ति प्रक्रियालाई हेर्ने दृष्टिकोणमा विवाद ल्यायो । त्यो विवाद बढ्दै जाँदा उसमा व्यवस्थापन गर्नै नसकिने गरी विभाजनको रेखा कोरियो ।

अनेक प्रयत्न गर्दा पनि दाहाल प्रधानमन्त्री बन्न नसकेकै वेला पार्टी विवादको फाइदा उठाउँदै बाबुराम प्रधानमन्त्री बन्न सफल भए । उनकै नेतृत्वमा ‘अपमानजनक ढंग’ ले लडाकूको समायोजन र संविधानसभाको विघटन गरियो । यो निर्वाचनमा जनताले एमाओवादीलाई संविधानसभाको नेतृत्व दिन नचाहनुका कारणमध्ये यी केही हुन् । पाँच वर्ष नेतृत्व गर्ने मौका पाउँदा पनि संविधान बनाउन नसक्नु एमाओवादीलाई जनताले मौका नदिनुको अर्काे कारण हो ।

वर्गीय मुद्दालाई तिलान्जली दिंदै शक्ति आर्जन गर्न एमाओवादीले उचालेको उग्र जातिवाद र एकल जातीय पहिचानको नारालाई पनि नेपाली जनताले रुचाएन । जातजातिलाई अधिकार दिने नाममा अमूक जातिका अभिजातहरूलाई मात्र अधिकार दिंदै आफ्नो गठबन्धन बलियो बनाउने एमाओवादीको नियत जनताले वेलैमा बुझे । जनताले जातीय संघीयताका विरोधीहरूलाई मतदान गर्नुको कारण त्यही हो ।

एमाओवादीले पराजय बेहोर्नुको अर्काे कारण पार्टी विभाजन पनि हो । शान्ति प्रक्रियामा आएर पार्टी बहुपदीय प्रणालीमा गइसकेपछि पनि एमाओवादीको नेतृत्व व्यक्तिवादी नै रह्यो । जसको परिणाम नेताहरू असन्तुष्ट र भूमिकाहीन बन्दै गए । नेतृत्वको चाकरी गर्ने नेताको काँधमा बोक्नै नसक्ने जिम्मेवारीहरू थोपरियो भने क्षमतावान भए पनि नेतृत्वको आलोचना गर्नेहरूले जिम्मेवारी पाएनन् । त्यो असन्तुष्टि र सैद्धान्तिक मतान्तर बढ्दै पार्टी विभाजन समेत भयो । संविधानसभा विघटनलगत्तै भएको विभाजनमा वैद्य पक्षमा ९० जनाभन्दा बढी सभासद्सहित कार्यकर्ताहरूको ठूलो पंक्ति लाग्यो । जतिसुकै नजरअन्दाज गर्न प्रयत्न गरे पनि एमाओवादीलाई हराउन त्यो शक्ति पर्याप्त थियो ।

एमाओवादी हार्नुको अर्काे कारण उसको सांगठनिक अराजकता पनि रह्यो । पार्टी विभाजनपछि एमाओवादीको संगठन अस्तव्यस्त बन्यो तथा पुराना र संघर्षशील कार्यकर्ताहरू असन्तुष्ट बने । नेतृत्वले भने त्यसलाई बेवास्ता गर्दै शोधभर्ना गर्ने नाममा स्वार्थपूर्तिका लागि आएका नयाँ प्रवेशीलाई महŒव दियो । पुराना कार्यकर्ताहरूले त्यसलाई अपमान मान्दै निर्वाचनको वेला बदला लिने अठोट गरे । उनीहरू निर्वाचनमा पूरै निष्क्रिय रहे । जबकि जनताले उनीहरूलाई नै एमाओवादीको वास्तविक नेता÷कार्यकर्ता ठान्थे । कतिपय खराब उम्मेदवार परेको ठाउँमा र लाभको पदमा छँदा सम्पर्क समेत नदिने नेताहरूलाई हराउन उनीहरू विरोधीका सहयोगी समेत बने ।

मूल नेतृत्व नयाँ पूँजीपति वर्गमा रूपान्तरण हुनु एमाओवादी पराजित हुनुको अर्को कारण हो । सरकारको नेतृत्व गर्ने, लाभको पदमा बस्नेका परिवार एकाएक असीमित सम्पत्तिको मालिक बनेपछि एमाओवादी नेतृत्व अलोकप्रिय बनेको थियो । आर्थिक मुद्दामा सबैभन्दा बढी दाहाल तानिए भने बाबुरामकी पत्नी हिसिला यमी पनि त्यत्तिकै बदनाम बनिन् । एमाओवादीका अरू नेताहरू पनि गच्छे अनुसार कमाउ धन्दामा लागेको सार्वजनिक भयो । ती घटनाहरूले एमाओवादी नेतृत्व जनतासँग टाढिन पुग्यो । जनताले एमाओवादी नेतृत्व पाखण्डी रहेको महसूस गरे । कार्यकर्ताहरू त्यस्ता नेतालाई निर्वाचनमा जिताउन सक्रिय भएनन् ।

एमाओवादीमा लागेर दुःख पाएका पूर्व लडाकू, घाइते र अपाङ्ग, एमाओवादीका नेताहरूबाट तिरस्कृत भएका कार्यकर्ताहरू रुष्ट हुनु एमाओवादी हार्नुको अर्काे कारण हो । एमाओवादीले आफ्नो जीवन बर्बाद पारिदिएको उनीहरूको दुखेसो थियो । एमाओवादीको समर्थन गर्ने निम्न वर्गीय जमात उनीहरूको दुखेसोसँग प्रभावित बन्यो । यो वर्ग एमाओवादीको उपभोक्तावादी र भ्रष्ट नेतृत्वसँग रुष्ट हुनु पनि अस्वाभाविक भएन । यो जमात एमाओवादी नेतृत्वसँग बदला लिने मौका पर्खिरहेको थियो, निर्वाचन त्यसका लागि उपयुक्त मौका बन्यो ।

हिंसाको राजनीतिप्रति जनताको वितृष्णा एमाओवादी पराजित हुनुको अर्काे महत्वपूर्ण कारण रह्यो । उनीहरूको नेतृत्वमा भएको निरन्तर कलह, सही चुनावी रणनीति र जनताले पत्याएको परिपक्व नेतृत्वको अभाव, जिम्मेवारी र उत्तरदायित्व नलिने नेतृत्व, दम्भ र अहंकारी नेता, राजनीतिक सुझ्बुझ्को अभाव, जनतालाई सताउने कार्यकर्ता, शक्तिको वस्तुपरक विन्यासको कमी एमाओवादीले पराजय बेहोर्नुका अरू कारण रहे ।

हिमाल खबरपत्रिकाबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>