ब्लगमंगलबार, साउन २, २०६९
उध्रेको प्लास्टिक छ है…
चिनियाँ प्रधानमन्त्री वेन जिआबाओ गएको जनवरीमा आधादिने भ्रमणमा आउँदा सरकारले अतिथि सत्कारका लागि बैठक सजाउन नयाँ–नयाँ मेच–सोफा अर्डर गरयो। सुनिएअनुसार पसलमा राखेको प्लास्टिकको कभर नउघारिकनै समारोह शुरू र सम्पन्न भयो ।
थाहा भएन, प्रम वेनलाई प्लास्टिकसहितको कवचमै विराजमान गराइयो–गराइएन या जताततै प्लास्टिकले नेपाली पक्षलाई अप्ठेरो महसूस गरायो–गराएन। भएन होला, किनकि मेच र सोफा किनेपछि प्लास्टिक च्यात्न जानेकै छैनौं हामीले । त्यो पोलिथिनको च्यादरको आयु सक्दो लम्ब्याएर धुजा–धुजा होउन्जेलसम्म यथावत् राख्ने हाम्रो आदत छ ।
एकातिरबाट हेर्दा यो साधारण कुरा हो, तर अर्कोतिर यो सांकेतिक पनि छ । यसले ‘नेपाली चरित्र’ को एउटा पाटो उजागर गर्दछ— कुनै कुराको सार या उद्देश्यतर्फ जाँदै नजाने; आफैंलाई मर्का पर्दा पनि देखावटी, प्रदर्शनमुखी कुरामा मात्र ध्यान दिने । यसको अर्थ हो— नयाँ आधुनिक उपकरण, तौरतरिका अथवा रीतिरिवाज अपनाउँदा त्यो किन, कसरी र कतिसम्म आफूले अपनाउने भन्ने कुरा सोच्दै नसोच्ने । कुनै पनि कुराको गहिराइमा जानै नचाहने ।
अब सोफा वा मेचलाई पसलमा किन पोलिथिन फिल्मले मोरिएको हुन्छ भन्नेतर्फ जाउँ ।
कुरा सरल छ, तर जताततै उध्रिएको प्लास्टिकको प्रकोप फैलिएपछि भन्नैपर्ने भयो— मेच त मेच हो, यसलाई बस्नको लागि सुविस्ता होस् भनेर ‘एर्गोनोमिक’ हिसाबले डिजाइन गरिएको हुन्छ । अझ् धेरै सुविस्ताको लागि फोमको भित्रीलाई कपडाले मोरेर बनाइन्छ । यस्तो मेचलाई बेच्न शोरुममा राख्दा प्लास्टिकले छोप्ने चलन किन छ भने हाम्रा खुला पसलहरूमा धूलोले राम्ररी आवतजावत गरेको हुन्छ र स्टकमा राखिएका सामान, विशेष गरी कपडाले छोपेका वस्तुहरू, छिट्टै धुलाम्मे र फोहोर हुन्छन् । होलसेलबाट रिटेलमा पुरयाउँदा बाटोमा पनि त्यत्तिकै फोहोर होला । त्यसबाहेक ग्राहकहरूको संसर्गबाट पनि जोगाउनु परयो, कतिले मैला हात र लुगाले छुँदै, उठ्–बस् गर्दै टेस्ट गर्ने हुन् ।
यी सबै कारणले प्लास्टिकले मोरिएको हुन्छ कपडाका मेच–सोफाहरूलाई, तर बस्न सुविस्ताका लागि होइन । बरु प्लास्टिक नझ्कििकन बसिदिंदा मेच–सोफामा कपडा हाल्नुको अर्थ नै अनर्थ भइदिन्छ । कपडाले ‘मोइस्चर’ र पसिनालाई हावामा मिसिने मौका दिन्छ भने प्लास्टिकले यसलाई पूरै रोकिदिन्छ । कपडा राख्नुको पूरा ‘एड्भान्टेज’ बस्ने व्यक्तिलाई प्राप्त हुँदैन ।
यो त सबैले बुझेकै कुरा हो, तर पनि किन मेच किनेर ल्याएपछि प्लास्टिकलाई यथावत् राख्ने चलन छ त; महीनौं, धुजाधुजा नपरेसम्म पनि ? जुन प्रवृत्ति हरेक वर्ग, क्षेत्र, समुदायमा हामी पाउँछौं । यदि हाम्रो मुलुकको विविध समुदायमाझ् पहाड, हिमाल र तराई–मधेश सबै क्षेत्रलाई समेट्ने एउटै नेपाली पहिचान छ भने त्यो किनेको मेचको प्लास्टिक नच्यातिकन प्रयोग गर्ने हाम्रो सामूहिक संकल्प र अठोट नै हो । यसलाई हाम्रो आफ्नै राष्ट्रिय मौलिकता ठानेर खुशी हुन पनि सकिन्छ । तर यस्तो चलन, जसलाई रीतिरिवाज भन्न पनि मिल्ने भइसक्यो, को कारणको शोध चाहिं गर्नै पर्दछ । किन नाम्चेदेखि तौलिहवासम्म यस्तै हुन्छ ?
शायद हामी नेपालीको आफूले किनेको चिजलाई सक्दो लामो समय नयाँ जस्तै पारेर राख्ने मितव्ययी अथवा संरक्षणवादी प्रवृत्ति हो यो । ती सामानबाट पाउने सुविस्ताबाटै आफूलाई वञ्चित गरेर भए पनि त्यसलाई सकेसम्म लामो समय सुरक्षित राख्ने चेष्टा ।
तर जब हामी घर, अफिस, रेस्टुरेन्ट, वा शयनकक्षमा मेच, सोफा किन्छौं; त्यो प्रयोग गर्न, बस्नका लागि किनेका हुन्छौं । सादा काठ अथवा प्लास्टिकको मात्र नभई फोम र कपडाद्वारा सुसज्जित मेच किन्नुको अर्थ अलि बढी सुविस्ता खोज्नु हो । र, त्यो सुविस्ता पाउन पोलिथिनको च्यादर उधार्नै पर्छ । मेचको मज्जा किनेदेखि नै लिनुपर्दछ, किन त्यो पोलिथिन च्यातिने वेलासम्म पर्खने ? यसो गर्दा बस्दा पाइने सुविस्तासँगै मेच बनाउने कारीगरको उद्देश्य पनि पूरा हुन्छ र मेच मालिकको ‘एस्थेटिक्स’ मा पनि कसैले प्रश्न उठाउँदैन ।
यो स्तम्भकारको एउटा ‘जंगली’ भन्न मिल्ने स्वभाव छ— कुनै पनि घर, अफिस, प्रतीक्षालय, गाडी जेमा होस्; सोफा, मेच, सिटमा मोरेको पोलिथिन देख्नै हुँदैन । आफन्तको सामान हो र मिल्ने भए आफैंले च्यातिदिन्छु, नत्र किन उक्त च्यादर तुरुन्तै च्यात्नुपर्छ भनेर सम्बन्धित व्यक्तिसँग वकालत गरिहाल्छु । कुनै साथीको नयाँ गाडीको सिट छोपिएको पोलिथिनमा त झ्न् मेरा नंग्रा पुगिहाल्छन् । र यसो गर्नुको आनन्द कति ठूलो हुन्छ कि म पाठकलाई पनि यसै गर्न निम्त्याउँछु । मुलुकभर अभियान नै चलोस्, ‘सिटको प्लास्टिक हटाउ अभियान’ ! र कसैले ‘अलि गम्भीर हुनुस्, यस्तो छेउ न टुप्पोको कुराका मसी कागज खर्च नगर्नुस्’ भन्छन् भने मेरो जवाफ रहन्छ– यो विषयमा अन्तरनिहित सत्य धेरै नै गम्भीर छ ।
पोलिथिनलाई मेच, सोफामा किनेको महीनौं (कतै कतै त पत्याउनुस्, वर्षौ) जहाँको तहीं राख्ने हाम्रो बानीले ‘सार’ र ‘रूप’ बीचको भेद छुट्याउन नसक्ने हाम्रो राष्ट्रिय प्रवृत्ति झ्ल्काउँछ । सामाजिक क्रियाकलापमा होस् वा राजनीतिमा यत्रतत्र यस प्रवृत्तिका उदाहरण पाइन्छन् । ती उदाहरणतर्फ अहिले यहाँ नजाउँ ।
(हिमाल खबरपत्रिका १–१५ साउन २०६९को उकालो लाग्दा स्तम्भमा प्रकाशीत लेख ।)
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
