ब्लगमंगलबार, मंसिर ११, २०७०

एउटा नेपालीको कथा

दिनकर नेपाल

‘सेते’ मेरो साथीको नाम हो। ऊ र म सहपाठी थियौं– स्याङ्जा वालिङको अमिलिथुम प्राविमा। पहिलो कक्षाको परीक्षामा उसले नै मेरो कापी तानेर एउटा राम्रो फूल बनाइदिएको थियो। प्राथमिक तहपछि उसले पढ्न छोड्यो र म अन्तैतिर लागें। मलाई उसको वास्तविक नाम थाहा छैन, किनकि हामी कहिल्यै साथी हुन सकेनौं। थर भने अनुमान लगाउने गरेको छु। उसको कापीमा देखे जस्तो पनि लाग्छ– ‘… नेपाली’।

आजभोलि हाम्रो भेट र कुराकानी पनि हुन्छ। मेरो घर र उसको ‘डेरा’ नजिकै छ। उसका बुवा–आमा वालिङमा बस्न थालेको चालीस–पचास वर्ष भइसक्यो होला, तर उनीहरूको डेरा मात्रै छ। पर्वतको एउटा गाउँबाट वालिङ बसाइँ सरेका उसका आमा–बुवा तीस वर्षदेखि बसेको ठाउँबाट हालै अन्यत्र सरेका छन्। त्यतिवेला, एक जना जिम्माल बूढाले ‘तिमीहरू यहीं घर थामेर बस, पछि यो जग्गा तिमीहरूकै नाममा गरिदिउँला’ भनेका रहेछन्। रहँदाबस्दा सडक आयो, वालिङ व्यापारिक केन्द्र बन्यो र जमीनको भाउ आकासियो।

जिम्मालबा मरेर गएपछि जग्गा उनका छोराहरूको नाममा गयो। त्यसलाई बाँड–फाँड र बेचबिखन गर्नुपर्ने भएकोले सेतेका बा–आमा अन्तै सर्नुपर्ने भयो। सेते भने आत्मनिर्भर भएर अलग्गै बस्छ। जिम्मावालबाका छोराहरूमध्ये एउटा खाँटी कम्युनिस्ट छन्, सर्वहाराका हितमा भाषण गर्छन्। शायद, उनैका नाममा पर्‍यो, उनीहरू बसेको जग्गा। अहिले फेरि सर्वहाराको हक–अधिकारको कुरा गर्ने चुनावी मौसम आएको छ। अब, कम्युनिस्ट कान्छा जिम्मालले उनीहरू सरेको ठाउँ पत्ता लगाउनेछन्। आखिर, सेतेका बा–आमा बस्न सक्ने ठाउँ यो सानो ‘टाउन’ मा धेरै कहाँ छन् र!

सेतेले अघिल्लो पल्ट पनि भोट हाल्यो होला, शायद तिनै कम्युनिस्ट जिम्मालको माओवादीलाई नै हाल्यो होला। चन्दा पनि दियो कि? हुन त उद्यमी सेतेलाई राजनीतिमा खासै रूचि छैन, तर अघिल्लो पटक चुनावी लहर कहाँ यस्तो थियो र? त्यो उमंगबाट कोही अछुतो रहेनन्। त्यतिवेला माओवादीले १८ जना दलितलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो। कुल १३ प्रतिशत मतदाता रहेका दलितबाट अहिले ९ जना मात्र उम्मेदवार बनाएको छ। कांग्रेसको त एउटा पनि दलित उम्मेदवार छैनन्।

राजनीति मात्रै हैन, अन्यत्र पनि सेतेले धोका पाउने गरेको छ। उतिवेला, निकै पैसा खर्च गरेर लाइसेन्स निकालेको ऊ गाडी चलाउने सुरमा थियो। हाम्रो घरमा पनि एउटा गाडी किन्ने कुरा चलिरहेको थियो, तर सेतेलाई ड्राइभर राख्ने कुरामा सहमति हुन सकेन। उसले अलिकति पैसा जोडेर सानो खालको खुल्ला ट्रयाक्टर किन्यो। पछि मैले थाहा पाएँ, हाम्रै परिवारबाट पनि उसले अलिकति ऋण पाएको रहेछ। दुई वर्षभित्र उसले सारा ऋण तिरेर ट्रयाक्टर आफ्नो बनायो।

पछिल्लो भेटमा हामी धेरैबेर गफियौं। पहिले हामी पढेका स्कूलमै उसका छोराछोरी पढ्दारहेछन्, जसको हालत २० वर्षअघिकै जस्तो छ र म आफ्नो छोरालाई त्यहाँ पढाउने कल्पनासम्म गर्न सक्दिनँ। छुट्टिने वेला उसले एउटा प्रश्न सोध्यो र मेरो जवाफ नसुनी गलल्ल हाँस्दै भन्यो, “जाऊँ हाम्रा घरतिर, भात खान।”

म भने आफूलाई मन परेको उम्मेदवारबारे उसलाई कसरी संकेत गरौं भनेर शब्दको जालो बुन्दैथिएँ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...