ब्लगबुधबार, मंसिर १२, २०७०

उज्यालो नेपाल

सरला गौतम

खेल जीवनबाट सन्न्यास लिएका सचिन तेन्दुलकर बीबीसी विश्व सेवासँगको अन्तर्वार्तामा भनिरहेका थिए, “म अब धेरै वर्षदेखि मनमा लागिरहेको काममा लाग्छु– पूरै इन्डियालाई उज्यालो पार्ने काम। हाम्रा धेरै गाउँ अँध्यारा छन्। त्यहाँका आमाहरूले आफूले पकाउँदै गरेको खाना देख्न सकून्, बच्चाहरूले उज्यालोमा पढ्न सकून्।” साँझ् आठ पनि नबज्दै अन्धकार हुने काठमाडौंको सडक पेटीमा हिंड्दै सचिनलाई सुनिरहेकी मैले उज्यालो सडकको कल्पना गरें। कल्पना त गर्न पाइयो नि!

१० दिने नेपाल बन्दको बीचमा एक साँझ् पाटनबाट हिंडेर कलंकी जाँदैथिएँ, त्रिपुरेश्वर पुगेपछि एउटा मोटरसाइकलले पछ्याइरहेको आभास पाएँ। अँध्यारोमा एक्ली केटी हिंड्दा अक्सर यस्तो हुन्छ। बत्ती भएको ठाउँमा त म डराइनँ, तर अँध्यारो आउँदा अलि हच्कन्थें। त्यो मोटरसाइकल टेकू चोकको उज्यालोमा छेउ लागेर रोकियो। म नजिक गएँ अनि निर्धक्कसँग मोटरसाइकलको नम्बर टिपें, चालकको अनुहार पनि नियालें। त्यसपछि सरासर अगाडि बढें, फोनमा कुरा गरे जस्तो गर्दै।

कालीमाटी–टेकू पुलको अँध्यारोमा फेरि अर्को मोटरसाइकल पछिलाग्यो। अँध्यारो खण्ड अलि लामो पर्‍यो। म अर्को साइडबाट हिंडें। त्यो मोटरसाइकल कालीमाटी चोक वरै उज्यालोमा रोकियो। चालकले घरी–घरी म आइरहेको हेरिरहेको थियो। नजिकै गएर सोधें, “तपाईंलाई केही समस्या परे जस्तो छ, म सहयोग गरौं?” ऊ ‘धन्यवाद’ भन्दै बाटो लाग्यो। यो अघि टेकूमा रोकिएको हैन, अर्कै चालक थियो।

उज्यालोको आँट

असाध्यै निडर भएकोले होइन, उज्यालोले दिने साहसका कारण मैले ती मोटरसाइकलवालाको सातो टिप्ने आँट गरें। उज्यालो भनेको उज्यालो मात्र होइन, सुरक्षित र आँटिलो महसूस हुने अवस्था पनि हो। त्यही ठाउँमा दिउँसो हिंड्दा डर लाग्दैन, जहाँ राति लाग्छ। आखिर दिन र रातको फरक पनि त प्रकाशकै कारण भएको हो। रातिको समयमा सडक बत्ती आफैंमा सुरक्षागार्ड हुँदोरहेछ। राजधानीका सबै ठाउँमा सुरक्षाकर्मी राख्न नसकिएला, तर बत्ती बाल्न त सकिंदो हो नि!

मैले एउटा कुथुङ्ग्री सम्झिएँ। कुनै गाउँको पोखरीमा एक्लै औंसीको रात बिताउने बाजी परेर दुई जना आँटिला तन्नेरी फरक–फरक पोखरीमा गएछन्। चारैतिर निस्पट्ट अँध्यारो भएको पोखरीमा पुगेको युवक तुरुन्तै टाप कसेछ। जो बस्यो उसले पोखरीबाट देखिने परको एउटा मधुरो बत्ती हेर्दै रात काटेछ। उज्यालोले यसरी धैर्य, साहस र सुरक्षाको अनुभूति गराउँछ भने अँध्यारोले अपराधको लागि सहायक भूमिका खेल्छ।

त्यही बीबीसी विश्व सेवामा रवीन्द्र मिश्रले नेपालको दोस्रो संविधानसभा निर्वाचन ऐतिहासिक रूपमा सफल भएको रिपोर्टिङ गरिरहँदा म सिंहदरबार अगाडिको सडक पेटीबाट खुशी हुँदै हिंडिरहेकी थिएँ। तीन दिन अघिभन्दा चाँडै भए पनि सडक निस्पट्ट अँध्यारो थियो। म कतै यस्तै अँध्यारोमा, यसरी नै हामीले तेस्रो संविधानसभा निर्वाचन पनि सम्पन्न भएको खबर सुन्नुपर्ने त होइन? भनेर सोच्दै कलंकी पुगें।

तर, संविधानसभा निर्वाचन सफल भएको वेला हामी किन निराशावादी हुने? बरु, छिटै स्थानीय चुनाव पनि होस्, राम्रा मान्छेहरू स्थानीय सरकारमा पुगून्। शहरका सडक मात्र हैन, गाउँ–गाउँ उज्यालो पारून्। सबै मिलेर नेपाललाई समृद्ध र सुसंस्कृत बनाऊन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...