रिपोर्टबिहीबार, मंसिर १३, २०७०
छोरी पढाउन कालापहाड
– यामकुमारी कँडेल
सदरमुकाम वीरेन्द्रनगरबाट ३८ किलोमिटर पश्चिमको सालकोट–२ हास्यगाउँका चन्द्रवीर बुढा (४२) ले भारतमा काम गरेको आठ वर्ष भयो। हरेक वर्ष सरदर रु.४० हजार बचाएर घर ल्याउने उनी आफ्नै जमीनको उब्जनीले खान पुगे पनि चार छोरी पढाउन चाहिने नगदका लागि भारतका विभिन्न शहरमा दुःख गरिरहेको बताउँछन्।
“गाउँमा निमावि मात्र भएकोले उनीहरूलाई बाहिर पठाउन मैले अझै दुःख गर्नुपर्नेछ, जुन म अवश्यै गर्छु”, बुढा भन्छन्, “जेठी विन्दु र माइली हिमालाई छिमेकी गाउँमा राखेर कक्षा १० र ९ मा पढाइरहेको छु, सानीहरू गाउँकै नेपाल राष्ट्रिय निमाविमा पढिरहेका छन्।”
विन्दु र हिमाको कोठाभाडा, लुगाफाटा, कापी–किताब र फीसमा मासिक कम्तीमा रु.६ हजार खर्च हुन्छ। एसएलसीपछि विन्दुको पढाइलाई चाहिने खर्चका लागि अहिलेदेखि नै आटो–सिस्नो मात्र खाएर पैसा बचाउन थालेको बुढाले बताए। त्यसो भनिरहँदा उनको अनुहारमा दिक्दारी हैन, खुशीको चमक देखिएको थियो। “एसएलसीपछि उनीहरूलाई वीरेन्द्रनगर पठाउनुपर्छ”, बुढाले गर्वका साथ भने, “विन्दु नर्स बनेर गाउँको सेवा गर्छु भन्छे, उनीहरूको पढाइको लागि पैसा नपुगे घरै बेचिदिन्छु।”
एकसे एक बाबुआमा
चन्द्रवीर र कावली बुढा जस्ता बाबुआमा पाउने विन्दु, हिमा, रोशनी र देवुलाई भाग्यमानी छोरी भन्नुपर्छ, तर, त्यही गाउँकी रमिता रावत (१४) ले ६ कक्षा पढ्दै गर्दा मायालु बुबा गुमाइन्, जो तीन छोरीको पढाइका लागि काम गर्न भारतको शिमला गएका थिए। शिमलामा डकर्मी काम गरिरहेका ४२ वर्षीय बुबा पूर्णको लडेर मृत्यु भएको र उतै सद्गत गरिएको खबरपछि तीन महीनासम्म विद्यालय जान नसकेकी माइली छोरी रमिता भन्छिन्, “घरबाट विदा हुँदा बुबाले नयाँ स्कूल ड्रेस, कापी–किताब र ज्यामिति बक्स ल्याइदिन्छु भन्नुभएको थियो।”
अब पढाइ–लेखाइका साथ छोरीहरूलाई हुर्काउने जिम्मा एक्ली आमा जर्मकलीको काँधमा आइपरेको छ। घरकै अन्नले खान पुगे पनि छोरीहरूलाई राम्ररी पढाउन पूर्ण भारत गएको जर्मकली बताउँछन्। पतिको मृत्युपछि आफ्नो आत्मा एकदम कमजोर भएको बताए पनि उनले छोरीहरूलाई जसरी पनि धेरै पढाउने आँट कसेकी छन्। माइती र छिमेकीहरूबाट पनि आँट पाएकी उनले जेठी छोरी सरिता (१७) लाई एसएलसी पास गराएर सूर्यप्रकाश उमाविमा भर्ना गरेकी छन्।
रमिता र कान्छी विपना गाउँमै पढ्दै छन्। “जेठी छोरीलाई डेरामा खान–बस्न र पढाइका लागि महीनामा कम्तीमा रु.४ हजार लाग्छ” जर्मकली भन्छिन्, “तर, जति खर्च भए पनि अहिलेसम्म उनीहरू विषय नलागी पास हुँदै आएका छन्।”
छोरीहरूलाई उच्च शिक्षा दिन जर्मकलीले मौरी पाल्न सिकेकी छन्, जसलाई केही वर्षभित्रै विस्तार गरेर ठूलो बनाउने उनको योजना छ। सासू जैसराको सहयोगमा शुरू गरेको मौरी व्यवसायले अहिले नै उनलाई आम्दानी दिन थालेको छ।
हास्यगाउँका पूर्णबहादुर खत्री (४५) पनि तीन छोरीलाई समयोचित शिक्षा दिन संघर्षरत छन्। त्यसका लागि २०६५ सालमा हरियाणा पुगेका उनी होटलमा भाँडा माझनेदेखि फूटपाथ व्यापारसम्म गर्दै महीनाको ८ हजार रुपैयाँ बचाउन सक्ने भएपछि गाडी दुर्घटनामा परेर एउटा खुट्टा गुमाए। अहिले श्रीमतीको सहयोगमा सकी–नसकी बाख्रापालन थालेका पूर्णबहादुर दम्पतीले जेठी छोरी विमलालाई कक्षा ६, माइली अमृतालाई कक्षा ५ र कान्छी निर्मलालाई कक्षा १ मा पुर्याएका छन्।
छोरीहरूको पढाइ खर्च जुटाउन पञ्जाब पुगेका पूर्णबहादुरका गाउँले गणेशबहादुर घर्ति मगर (३०) भने गाउँकै निमाविमा पाले काम पाएर फर्केका छन्। जेठी छोरी रविना र कान्छी सम्झ्ना त्यही स्कूलमा कक्षा ४ र १ मा पढ्ने भएकोले पूर्णबहादुरले पाउने मासिक रु.६२०० तलब बचत गरिरहेका छन्। “अहिलेदेखि नै अलिअलि बचत नगर्ने हो भने पछि बढ्ने छोरीहरूको पढाइ खर्च धान्न सकिन्न”, पूर्णबहादुर भन्छन्।
यस्तो भए हुन्थ्यो…
हास्यगाउँ र यस वरिपरि जुम्ला जिल्लाबाट बसाइँ आएकाहरूको बसोबास छ। उनीहरूमध्ये धेरैसंग जमीनको समस्या छैन, तर सिंचाइको व्यवस्था नहुँदा खेतीपातीबाट हुनुपर्ने जति आम्दानी भएको छैन। नेरानिमाविका प्रधानाध्यापक सुशीला सापकोटा नगद आयका लागि गाउँका अधिकांश घरमूली बाहिर जाने गरेको बताउँछिन्। “तर, छोरा र छोरीमा कत्ति पनि विभेद नराख्ने यहाँका निरक्षर अभिभावक शिक्षामा यति प्रतिबद्ध छन् कि जहाँ गएर जति दुःख गर्नु परे पनि आयको ठूलो हिस्सा शिक्षामा खर्च गरिरहेका छन्।”
हास्यगाउँमा सिंचाइको व्यवस्था भए तरकारी लगायतका नगदेबालीका साथै मौरी र पशुपालनको पनि प्रचुर सम्भावना छ। बाह्रमासे सिंचाइको व्यवस्था मात्र हुने हो भने यो भेगमा आर्थिक उपार्जनको गतिविधि ह्वात्त बढ्ने सालकोट गाविस सचिव पूर्णराम नेपाली बताउँछन्। नेरानिमाविका व्यवस्थापन समिति अध्यक्ष रहेका धनबहादुर थापाले सरकारी तथा गैर–सरकारी संस्थाहरूलाई हास्यगाउँमा पशुपालन र व्यावसायिक तालीम संचालन गर्न आह्वान गरे। थापा भन्छन्, “पशुपालनको राम्रो सम्भावना रहेको यस क्षेत्रमा सरकारले सिंचाइमा पनि लगानी गरिदिए त अरू केही गर्नै नपर्ने थियो।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
