अर्थ/बजारबिहीबार, मंसिर १३, २०७०
लोभलाग्दो प्रगति
– मीना शर्मा
गोरखाबाट काठमाडौं आएका होमबहादुर गुरुङ (४४) ले पढाइ खर्च जुटाउन थालेको व्यवसायमा अहिले ६०० जनाले रोजगारी पाएका छन्। २०५२ सालमा उच्च शिक्षाका लागि राजधानी झ्रेका गुरुङ भन्छन्, “पढाइलाई निरन्तरता दिन केही कमाउनै पर्ने बाध्यता भएपछि कतिपय साथी जागीर खोज्न लागे, मैले चाहिं हस्तकला व्यवसाय थालें।”
वनस्थलीस्थित उनको फरएभर क्राफ्ट इन्डष्ट्रिजमा उत्पादित स्वेटर, टोपी, मोजा, पञ्जा, ब्याग, स्कार्फ लगायतका सामान अहिले १५ मुलुकमा निर्यात भइरहेको छ। उद्योगमा तीन सय जना नियमित र तीन सय जना आंशिक कामदार छन्। क्राफ्ट इन्डष्ट्रिजले एक हजार महिलालाई तालीम दिएको छ, जसमध्ये १५ प्रतिशत त्यहीं रोजगार छन्।
गत वर्ष क्यानडा, बेलायत, अष्ट्रेलिया, टर्की, जापान, बेल्जियम, जर्मनी, भियना, इटाली, फ्रान्स, स्पेन लगायतका मुलुकमा साढे १४ करोड रुपैयाँको सामान निर्यात गरेका गुरुङ हातबुना सामानको माग निरन्तर बढिरहेको बताउँछन्। उनी भन्छन्, “सिपालु कामदार पाए वर्षमा २५ करोडको सामान निर्यात गर्ने स्थितिमा छु।”
रु.१ करोड लगानीमा गत चैतदेखि ‘माई फेसन’ गार्मेन्ट खोलेर गर्मीका पहिरन समेत उत्पादन गर्न थालेका गुरुङले यसबाट चार महीनामा रु.९२ लाख आम्दानी गरेको बताए। गार्मेन्टमा नियमित र आंशिक गरी ११० जना कामदार छन्। टप्स, स्कर्ट, टी–सर्ट, सर्ट, ज्याकेट, ब्याग लगायत २० आइटम बनाउने उनको गार्मेन्टले शुरूबाटै बेलायत, अमेरिका, इटाली र अष्टे्रलियामा सामान पठाउन थालेको छ।
शून्यबाट सफलता
गोरखाका गुरुङ जस्तै कीर्तिपुरकी सविता महर्जन पनि शून्यबाट सफल भएकी उद्यमी हुन्।उनको कीर्तिपुर होजियारी उद्योगमा डेढ सय जना रोजगार छन्। ज्यालादारी कामदारबाट सफल उद्यमी बनेकी सविताको होजियारी मझ्ौला उद्योगमा उक्लिसकेको छ। उनी भन्छिन्, “उत्पादनहरूलाई अब अन्तर्राष्ट्रिय ब्रान्ड बनाइरहेकी छु।”
शेर्पा एड्भेञ्चर गियरको अन्तर्राष्ट्रिय ब्रान्ड ‘शेर्पा’ का लागि स्वेटर उत्पादन गरिरहेको कीर्तिपुर होजियारीले गार्मेन्ट उद्योग खोलेर शेर्पाकै ज्याकेट, ट्रयाकसूट, सर्ट, टी–सर्ट आदि पनि बनाउन थालेको छ। आउँदो सिजनका लागि शेर्पाबाट रु.३० लाख बराबरको स्वेटरको अर्डर आएको छ। अब आफैं अन्तर्राष्ट्रिय बजार खोज्ने तयारीमा लागेको सविताले बताइन्।
कात्तिक पहिलो साता भारतको दिल्ली र चेन्नईका महिलाका उद्यमशीलता हेरेर फर्केपछि भने सविता अलि निराश भएकी छन्– नेपाली महिलाको लगनशीलतालाई लिएर। भारतीय महिलाले करवाँ चौथका दिन पनि कामलाई पूजा गरिरहेको देखेको तर, नेपाली दिदीबहिनी भने दशैं सकिंदा पनि काममा नफर्केको गुनासो उनले गरिन्। “उताकाले जस्तो काममा लगनशीलता देखाउने भए हामी कहाँ पुगिसकेका हुन्थ्यौं”, सविताले भनिन्, “मान्छेहरू जागीर पाइँदैन भन्छन्, तर म सीप सिकाएर काम दिन्छु भन्दा कोही आउँदैनन्।”
कीर्तिपुरकै मधु महर्जन सीप र जाँगर भए दुई–चार हजार खेलाउन कहीं जानु नपर्ने बताउँछिन्। साडी, कुर्ता, सल, पछ्यौरा, टप्स लगायतका १० वटा आइटममा विभिन्न प्रकारका बुट्टा भर्ने उनको सीपले अहिले फ्रान्स र जर्मनमा बजार पाएको छ। आफ्नो उत्पादनको माग बढे पनि सिपालु सहयोगीहरू नपाउँदा आए जति अर्डर लिन नसकेको मधुले बताइन्। “काम हातैले गर्नुपर्छ”, आठ वर्षदेखि उद्यमी बनेकी मधु भन्छिन्, “बुट्टा भर्ने कामदार नपाउँदा बजार बढे पनि सामान दिन सकिएको छैन।”
यसैगरी, २०६४ देखि विभिन्न प्रकारका ब्याग बनाइरहेकी कीर्तिपुरकै मनदेवी महर्जन पनि सीप र जाँगर भएका मान्छेको खोजीमा छिन्। उनले बनाउने ब्याग, पर्स, कुसन कभर, एप्रोन लगायत २० प्रकारका सामानले नेपाली बजारकै माग धान्न सकिरहेको छैन। चार जनालाई रोजगारी दिएकी मनदेवी भन्छिन्, “परिवारसँग बसेर स्वाभिमानका साथ गरेर खाएकी छु, योभन्दा अरू के चाहियो?”