खेलकुदबिहीबार, मंसिर १३, २०७०

क्रिकेट खेलाडीको तलब दोब्बर, सरकारले जनही १० लाख दिने

हिमालखबर

सरकारले क्रिकेट राष्ट्रिय टीमका खेलाडीलाई १०–१० लाख रुपैंया दिने भएको छ । नेपाली खेलकुदमा  ऐतिहासिक उपलब्धि दिलाएका खेलाडीको सम्मानका लागि पुरस्कार दिन लागिएको युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले हिमालखबरसँग बताए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गरेको सिफारिश मन्त्रालयले सदर गरेर मन्त्रिपरिषदमा पठाएको उनले जानकारी दिए । राखेपले ट्वान्टी–२० विश्वकपमा नेपाल छनौट भएकै दिन १२ मंसीरमा खेलाडीलाई जनही १० लाख रुपैंया दिन सरकारलाई सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्ले निर्णय गरेपछि राष्ट्रिय टीमका १५ खेलाडी र प्रशिक्षकलाई गरी १६ जनाले जनही १० लाख रुपैंया पाउने छन् । टीममा रहेका अफिसियललाई भने तीन लाख रुपैंया दिने तयारी छ ।

मन्त्रि श्रेष्ठले देशका लागि ऐतिहासिक उपलब्धि दिलाउने खेलाडीलाई सम्मान र सुविधा दिन कुनै कसर बाँकी नराख्ने पनि बताए । उनले भने, “खेलाडीलाई सबै खाले सहयोग गर्न हामी तयार छौं ।”

खेलाडीको तलब दोब्बर
राष्ट्रिय टीमका खेलाडीको मासिक तलब बढेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीको तलब बढाएर १० हजार रुपैंया पुर्‍याउने निर्णय गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । यसअघि उनीहरुको तलब ५ हजार रुपैंया थियो ।

क्यानले राष्ट्रिय टीमका खेलाडीकालाई जनही एक लाख रुपैंया पनि दिने निर्णय गरेको छ । खेलाडीको सम्मानका लागि एक–एक लाख रुपैंया दिन लागिएको उनले बताए ।

उनकाअनुसार क्यानले खेलाडी कल्याणकारी कोषमा १० लाख रुपैंया थप्ने भएको छ । यसअघि १० लाख रुपैंयाको कोषलाई बढाएर २० लाख रुपैंया पुर्‍याउने निर्णय गरेको प्याकुरेलले जानकारी दिए ।

युएईमा चलिरहेको आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट छनौटमा हङकङलाई १२ मंसीरमा ५ विकेटले हराउँदै नेपाल ट्वान्टी–२० विश्वकप क्रिकेटमा छनौट भएको हो । बंगलादेशमा आगामी १६ मार्च देखि ६ अप्रिलसम्म ट्वान्टी–२० विश्वकप क्रिकेट हुँदैछ ।

*

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...