रिपोर्टशुक्रबार, मंसिर १४, २०७०

पीडापछिको सीप

हिमालखबर

माओवादी हिंसात्मक द्वन्द्वको समयमा ललितपुर बुखेलका विष्णुप्रसाद तिमल्सिना (५४) मानिखेलको बुद्ध माविमा स्थायी शिक्षक थिए। तर, माओवादीले मागेजति चन्दा दिन नसकेपछि २०५९ मा उनी पेशा त्यागेर इजरायलतिर लाग्न बाध्य भए। २०६४ मा आधुनिक कृषिको सीप र केही लाख रकम लिएर फर्किएका उनी अहिले गाउँमै ६० रोपनी जमीनमा व्यावसायिक खेती गरिरहेका छन्। उनको सरदर वार्षिक कारोबार रु.१० लाख छ।

त्यो वेला रु.१ लाख चन्दा मागेकोमा रु.५० हजार मात्र दिएको भन्दै माओवादीले शिक्षक तिमल्सिनालाई सफायाको धम्की दिएको र सरकारी सुरक्षा निकायको निगरानी पनि बढिरहेको थियो। “ज्यान जाने खतरा बढेर पेशा त्यागें”, लहलहाउँदो तरकारी फार्ममा भेटिएका तिमल्सिनाले भने, “त्यो वेला भाग्नु नपरेको भए अहिले हातमा पेन्सन हुनेथियो, खेतीको सीप भने हुने थिएन।”

सफल काम, उजाड मन
त्यसपछिको पाँच वर्ष इजरायलको फार्ममा काम गर्दा तिमल्सिनाले आधुनिक कृषिको शक्ति बुझे। यसरी कृषिलाई समृद्धिको माध्यम बनाएका उनी त्यसमा धेरै हदसम्म सफल पनि भएका छन्, तर आर्थिक अवस्था हरियो–भरिलो भए पनि द्वन्द्वकालको पीडा र अपमानले उजाड बनाएको मनमा अझै उज्यालो नफर्केको उनले बताए।

आफूले भोगेको पीडा त छँदैछ, हाम्रो क्रान्ति सफल भए देशमा कायापटल गर्छौ भन्दै हिंड्नेहरू अझै थान्को लाग्न नसकेकोमा उनी चिन्तित छन्। “अराजक बन्द–हड्तालले गर्दा किसानका तरकारी बारीमै कुहिएर जाने दिन अझै सकिएको छैन, नेपालमा”, तिमल्सिना भन्छन्।

कहिलेकाहीं रोगले बाली सखाप पार्दा किसानले सरकारी राहत पाउँदैनन्। चाहिएको वेला औषधि र भिटामिन पाइँदैन। मल–बीउको अवस्था त्यस्तै छ। “सबभन्दा दुःखको कुरा, अहिले पनि कृषिप्रतिको धारणा बदलिएको छैन”, तिमल्सिना भन्छन्, “युवालाई विदेश जान लगानी गर्ने सरकारले तरकारी खेती गर्न ऋण दिंदैन।”

सरकारले किसानलाई ऋण, तरकारी खेतीका लागि अत्यावश्यक भिटामिन–औषधि र कृषि बीमासँगै बजारको राम्रो व्यवस्था गरेर यो पेशाप्रति सम्मान बढाउनुपर्ने उनको राय छ। नेपालीले कृषिमा व्यावसायिकताको बाटोबाट छिटो आर्थिक समृद्धि प्राप्त गर्ने तिमल्सिना बताउँछन्। “तर, एकातिर उत्पादनको मूल्य नपाएर किसानहरू ठगिएका छन् भने अर्कातिर विचौलियाहरूले उपभोक्ताको चरम शोषण गरिरहेका छन्” तिमल्सिना भन्छन्, “यो हेर्ने सरकारले नै हो, तर माओवादी हिंसासँगै उसको उपस्थिति हराएको छ।”

द्वन्द्वको समयमा दोहोरो चेपुवामा परेर पलायन भएका तिमल्सिना अहिले पनि ढुक्कले काम गर्न नपाएको बताउँछन्। आफूले काम थाले पनि कामदार नपाएर उनी दिक्क छन्। शहरको कोलाहलभन्दा पर रमाइरहेको देखिने तिमल्सिना कृषिलाई सबैले हेला गरेकोमा दुःखी छन्। रु.२२ लाख लगानीमा व्यवसाय थालेका उनले तीन वर्षअघि शुरू गरेको रु.५ लाखको बाख्रापालन कामदार नपाएर रोकिएको बताए।

तिमल्सिनाले ६० हजार लीटर क्षमताको पोखरीबाट थोपा सिंचाइ प्रणाली अपनाएका छन्। पाँच वर्षअघि इजरायलबाटै राम्रो तलबमा चार साथी सहित पोल्याण्ड जाने अवसर छाडेर आएका उनले साथीहरूले पनि कृषिमै सक्रिय रहेको बताए। तर, नेपालमा अझै गरिखाने वातावरण नबनेको उनी बताउँछन्। “म सँगै जसो इजरायल गएको मेरै भाइ अझै फर्केको छैन”, तिमल्सिना भन्छन्, “देशमा वातावरण छैन, कसरी फर्कनु भन्छ।”
मीना शर्मा
________________________________________
७९ वर्षे तन्नेरी
बाटामा भेटिने शुभचिन्तक र शिष्यहरूले ‘सर, अब त साइकल कुदाउन निकै गाह्रो हुँदो हो, घरमै आराम गर्नुभए हुनेथियो!’ भन्दा तीन पुस्तालाई पढाइसकेका शिक्षक छविलाल सिटौला मान्छे हेरेर भनिदिन्छन्, “अहिलेसम्म त तिमी केटाहरूभन्दा कम छुइनँ है।”

पश्चिम झापामा हेडसरको नामले सुपरिचित छविलाल सिटौला (७९) दमक–११ मा रहेको घरबाट साइकल चलाउँदै पाँच किलोमिटर पश्चिमको कृष्णमन्दिरस्थित विद्यालक्ष्मी बोर्डिङ स्कूल पुग्छन्र दिनभर फुर्तीसाथ काम गरेर फर्कन्छन्। उनलाई आलस्य र निष्त्रि्कयतासँग डर अनि कामप्रति मोह छ। जीवनलाई एउटा असल कामको उम्मीद भन्ने उनी त्यसनिम्ति आफूले सात्विक खानपान र सक्रियता अवलम्बन गरेको बताउँछन्।

सिटौला सरले २०११ सालमा काठमाडौं, नक्सालको नन्दी रात्रि विद्यालयबाट म्याटि्रक पास गर्नासाथ आफ्नै गाउँ आठराईको त्रिभुवन हाइस्कूलमा चकडस्टर समातेका थिए। त्यसवेला उनको तलब मासिक रु.५ थियो। बीचका दुई वर्ष स्नातक पढ्न काठमाडौं र बनारस गए बाहेकको १० वर्ष आठराईमै पढाएका उनी २०२३ पुसमा प्रधानाध्यापक भएर दमकको हिमालय माविमा झ्रेका थिए।

त्यो वेला राजधानी उपत्यकाका तीन जिल्लापछि समृद्ध मानिन्थ्यो, पूर्वी पहाडको तेह्रथुम। त्यहाँको त्रिभुवन स्कूलमा ६ कक्षासम्म पढेका छोरालाई अंग्रेजी शिक्षाको महत्व बुझेका बाबु जनार्दन सिटौलाले दार्जीलिङ लगेर कक्षा सातमा भर्ना गरिदिए। त्यहाँ एक वर्ष पढेपछि उनी तीन कक्षा फड्को हानेर काठमाडौंको नन्दी रात्रि विद्यालय भर्ना भए, दशौं कक्षामा।

“हरमणि दीक्षित परीक्षा नियन्त्रक रहेको त्यो वर्ष नेपालभरिबाट ६९८ जनाले म्याटि्रक पास गरेका थियौं”, सिटौला सम्झ्न्छन्, “त्यसवेला म्याटि्रक गर्नेहरूको नाम राजपत्रमा छापिन्थ्यो, सिंहदरबारको भित्तामा पनि टाँस हुन्थ्यो।”

सिटौला सर दमक र्झ्दा झापालाई सालघारीले ढाकेको थियो। आदिवासीहरूका एकाध बस्ती थिए। छोराछोरी पढाउनुपर्छ भन्ने चेत एकदमै कम थियो। त्यो अवस्थामा आफैं विद्यार्थी बटुल्दै दमक सिरानको छाप्रे हिमालय माविमा पढाउन थालेका सिटौला त्यहाँ ३२ वर्ष प्रधानाध्यापक रहे।

२०३८ सालमा दमक नगर पञ्चायत भएसँगै दमक बहुमुखी क्याम्पस स्थापनामा अगुवाई गरेका उनले त्यहाँ २०५९ सालसम्म अंग्रेजी पढाए। हिमालय उमाविबाट पनि २०६१ सालमा अवकाश पाए, तर त्यतिकै बस्न नसकेर बोर्डिङ स्कूल खोलेर फेरि लहलहाउँदा भुराहरूको बीचमा बसे।

नातिनातिना उमेरका शिक्षकहरूको हारमा मिसिएर पनातिपनातिना छिमलका विद्यार्थी पढाइरहेका प्रिन्सिपल सिटौला गत वैशाखबाट भने प्रशासनिक काममा बढी केन्द्रित भएका छन्। मनले माया गरेको काम धीत मरुन्जेल गर्न पाउनुलाई जीवनको मजा मान्ने सिटौला भन्छन्, “चिरनिद्रामा जाने दिनसम्म एकैछिन पनि थलिएर बस्नु नपरोस्, शिक्षक हुन पाइरहूँ, बस्।”
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...