समाचारशनिबार, मंसिर १५, २०७०

संविधानसभामा कस्ता दल आउँदैछन् ?

सन्त गाहा मगर


पहिलो पटक संविधानसभामा पुगेका दलहरू मध्ये संघीय समाजवादी पार्टी(संसपा) नेपालले पाँच र भानुराम थारु अध्यक्ष रहेको थरुहट तराई पार्टी(थतपा)ले पाँच सिट जितेको छ । संसपा राज्य पुनर्संरचनाको विषयमा नेतृत्वसँग असहमति जनाएर एमाले उपाध्यक्ष अशोक राईले गठन गरेका हुन । थतपाका संस्थापक अध्यक्ष लक्ष्मण थारु अहिले मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)मा छन् । लक्ष्मण पार्टीबाट बाहिरिएपछि थतपामा भानुराम, गोपाल दहितलगायतका नेताहरू छन् ।

यस्तै कुमार खड्का अध्यक्ष रहेको अखण्ड नेपाल पार्टी(अनेपा), रामकुमार राई अध्यक्ष रहेको खम्बुवान राष्ट्रिय मोर्चा (खरामो)नेपाल, लोकमणि ढकाल अध्यक्ष रहेको जनजागरण पार्टी(जजापा), मेघराज नेपाली(निषाध) अध्यक्ष रहेको मधेश समता पार्टी(मसपा) नेपाल र परशुराम तामाङ अध्यक्ष रहेको संघीय गणतान्त्रिक समाजवादी पार्टी(संसपा)नेपाल समानुपातिकमा एक/एक सिट जितेर संविधानसभामा पुगेका छन् । नयाँ दलहरू कुनै संघीयताको विरोधी छन् भने कुनैले एकल जातीय पहिचानसहितको संघीयतालाई आफ्नो प्रमुख मुद्दा बनाएका छन् ।

आकार र स्वरुपमा परिवर्तन
१९६ सिट जितेको नेपाली काँग्रेस १९६ र १७५ सिट जितेको नेकपा एमालेले पहिलो र दोस्र्रो ठूलो दलको रुपमा संविधानसभामा पुगेका छन् । २०६४ को संविधानसभाको सबैभन्दा ठूलो दल एनेकपा माओवादी ८० सिट सहित तेस्रो दलको हैसियतमा संविधानसभामा पुगेको छ ।

२३ सिट जितेर चौथो शक्तिको रुपमा संविधानसभामा पुगेको कमल थापा नेतृत्वको राप्रपा नेपालले अघिल्लो संविधानसभामा जम्मा चार सिट जितेको थियो । राजतन्त्र र हिन्दु धर्मसापेक्ष राष्ट्रको वकालत गर्दै आएको यो पार्टीले प्रत्यक्षमा भने एक सिट पनि जित्न सकेन । २०६५ जेठमा गणतन्त्रको विपक्षमा भोट हाल्ने एक मात्र पार्टी थियो, राप्रपा नेपाल ।

अघिल्लो संविधानसभामा ५३ सिट जितेको मधेशी जनअधिकार फोरम(मजफो) नेपाल अहिले पाँच चिरा भएको छ । मजफो विभाजनपछि बनेको विजयकुमार गच्छदारको मजफो लोकतान्त्रिकले १४, उपेन्द्र यादवको मजफो नेपालले १०, राजकिशोर यादवको मजफो गणतान्त्रिकले एक र शरदसिंह भण्डारीको राष्ट्रिय मधेश समाजवादी पार्टीले ३ सीट जितेको छ ।

महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा)ले ११ तथा यसबाट फुटेर महेन्द्र राय यादवले गठन गरेको तराई मधेश सदभावना पार्टीले ३ सीट पाएको छ । गत संविधानसभामा तमलोपाको प्रत्यक्षमा ९ र समानुपातिका ११ गरी २० सिट थियो ।

राजेन्द्र महतोको सदभावना पार्टीले ६ तथा यसबाट फुटेर बनेको संघीय सदभावना पार्टीले एक सिट जितेको छ । सदभावना पार्टीले त्यतिबेला ९ सिट जितेको थियो ।
२०६४ मा ८ सिट जितेको पशुपति शमशेर राणा नेतृत्वको राप्रपा र ३ सिट जितेको सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय जनशक्ति पार्टी संविधानसभा चुनाव भन्दा केही महिना पहिला एकिकरण भयो । एकिकरण पछि बनेको राप्रपा १३ सिट सहित छैठौं ठूलो दल बनेको छ । राप्रपाले प्रत्यक्षबाट तीन सिट जितेको छ ।

सिपी मैनाली महासचिव रहेको नेकपा (माले)ले पाँच सिट जितेको छ । पटक पटक विभाजन भएको मालेको त्यतिबेला आठ सिट थियो । संघीयताको विरोधमा रहेको राष्ट्रिय जनमोर्चाले तीन सिट जितेको छ । जनमोर्चाले अघिल्लो संविधानसभामा भन्दा एक सिट कम जित्यो ।

नेपाल मजदुर किसान पार्टीले चार सिट जितेको छ । एमएस थापा अध्यक्ष रहेको राष्ट्रिय जनमुक्ति पार्टीले दुई सिट जितेको छ । समाजवादी जनता पार्टीले एक सिट पाएको छ । २०६४ मा एक/एक सभासद जितेको नेपाल परिवार दल र दलित जनजाति पार्टीले दुई–दुई सिट जितेका छन् । त्यतिबेला पाँच सिट जितेको नेकपा संयुक्त ३ तथा दुई सिट जितेको नेपाली जनता दल एक सिटमा खुम्चेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च विभाजन गरेर रुक्मिणी चौधरीले गठन गरेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट) र नेपाः राष्ट्रिय पार्टीले एक सिट जितेको छ ।

त्यतिबेलाको जनमोर्चा एमाओवादीमा बिलय भईसकेको छ । सरिता गिरी नेतृत्वको नेपाल सदभावना पार्टी र केशव मैनाली अध्यक्ष रहेको चुरे भावर राष्ट्रिय एकता पार्टी संविधानसभामा पुग्न सकेन ।

*

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>