रिपोर्टआइतबार, मंसिर १६, २०७०
‘राजन मुक्ति’ बाट मुक्ति
ईश्वरचन्द्र झा, जनकपुर
राजन मुक्ति भनिने धनुषा लक्ष्मीपुर बगेवा ७ का रञ्जितकुमार झा १ मंसीरमा भारत, पटनाको गान्धी मैदानमा पक्राउ परे । भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोलीले पक्राउ गरेर उनलाई नेपाल ल्याइसकेको छ । बयान र अनुसन्धान पूरा भएपछि उनलाई सार्वजनिक गरिने प्रहरीले बताएको छ ।
को हुन् राजन मुक्ति ?
१८ वर्षको उमेरमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीको विद्यार्थी संगठनमा लागेका राजन ज्वालासिंह भनिने नागेन्द्र पासवान नेतृत्वको ‘जनतान्त्रिक तराई मुक्ति मोर्चा’ मा लाग्दै २०६१ मा भूमिगत भएका थिए । धनुषा, महोत्तरी र सर्लाही इन्चार्ज बनेर राष्ट्रिय कृषि अनुसन्धान केन्द्र, जनकपुरका कर्मचारी राजकुमार जोशीको अपहरणपछि गोली हानी हत्या गरेका उनी र उनको नेतृत्वको समूहले ९ वर्षमा १३ जनाको हत्या गरेको छ ।
धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सप्तरीमा सक्रिय उनले केहीअघि ज्वालासिंहलाई पदच्यूत गरेको दाबी गर्दै आफ्नै नेतृत्वमा छुट्टै समूह बनाएका थिए । ग्रामीण क्षेत्रका केही बेरोजगार युवालाई साथ लिएर उनले बनाएको समूह पछिल्लो समय मध्य तराईमा आतंकको पर्याय बनेको थियो । १२ असार २०७० मा उनले तराई मधेश जनतान्त्रिक पार्टी, तराई कम्युनिष्ट पार्टी, मधेश रक्षा दल, जनतान्त्रिक तराई–मधेश मुक्ति मोर्चा लगायत १२ वटा भूमिगत समूहलाई आफूसँग मिलाएका थिए ।
३० मंसीर २०६५ दिउँसो आन्तरिक राजस्व कार्यालयका खरिदार कुमार निरौलालाई जनकपुर–४ स्थित घरतर्फ गइरहेको वेला गोली हानेर चर्चामा आएका राजनको समूहमा लागेकाहरू पनि नामको पछि मुक्ति लेख्ने गर्थे । जबरजस्ती असुली, अपहरण, हत्या जस्ता अपराधिक गतिविधिमा लागेको त्यो समूहको साहस कतिसम्म बढेको थियो भने २०६७ मा मारिएका मोर्चाका धनुषा इन्चार्ज ‘अविनाश मुक्ति’ भनिने गणेश शाहको धनुषाको लक्ष्मीपुर वगेवामा सालिक नै बनाएका थिए ।
प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल धनुषा प्रहरी प्रमुख बनेपछि मात्र त्यो सालिक भत्काइएको थियो । लक्ष्मीपुर वगेवा–५ का रवीन्द्र चौधरीका अनुसार, जनकपुर–ढल्केबर सडकखण्डको लक्ष्मीनिया बजारमा सालिक निर्माण गर्दा स्थानीय प्रशासन मूकदर्शक बनेको थियो ।
राजन समूहले जनकपुरको रामानन्द चोकमा पाँच जनाको मृत्यु र करीब दुई दर्जन घाइते हुने गरी भएको बम विस्फोटको जिम्मेवारी लिएको थियो । उनको समूहले गत असारमा मधेशी जनअधिकार फोरम नेपालको महोत्तरीका कार्यालय सचिव रामप्रकाश साहलाई जलेश्वरमा रहेको पार्टी कार्यालयमै गोली हानेर हत्या गरेको थियो भने गत साउनमै मालपोत कार्यालयका एक जना कर्मचारीमाथि जलेश्वर–बर्दिबास सडकखण्डको बल्बामा गोली प्रहार गरेको थियो । जानकी मेडिकल कलेजका सञ्चालक अशोक सिन्हाका अंगरक्षक उपेन्द्र ओझमाथि गोली प्रहार गर्ने पनि उनकै समूह थियो ।
यसरी पक्राउ परे
पत्रकार उमा सिंहको हत्यामा संलग्न उमेश यादव कैलालीबाट पक्राउ परेपछि राजनको नजिक पुग्न प्रहरी सफल भएको थियो । उमेशको बयानको आधारमा राजनका ‘सार्प सूटर’ महोत्तरी बथनाहाका दीपक सिंह पक्राउ परे । जसले राजनबारे धेरै सूचनाहरू प्रहरीलाई दिए ।
तिनै सूचनाको आधारमा २९ कातिक साँझ् नारायणी अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालको टोली भारतको पटना पुग्यो । भारतीय प्रहरी अधिकारीहरूसँगको समन्वयले राजनलाई पक्राउ गर्न सहयोग पुगेको बताउँदै वरिष्ठ प्रहरी उपरीक्षक खनाल भन्छन्, “पटनाका डीआईजी लगायत अधिकारीहरूसँग अनौपचारिक वार्ता गरेपछि राजनलाई पक्राउ गर्ने योजना बनायौं ।”
१ मंसीर दिउँसो नेपाल प्रहरीको टोलीले राजनलाई फोन गरेर पटनाको गान्धी मैदानमा बोलायो । आफ्नै सहयोगीले बोलाएको भन्ने ठानेर निर्धक्क गान्धी मैदान आउँदै गर्दा राजनलाई भारतीय प्रहरीले बाटोमै पक्राउ गर्यो । त्यो दिन र रात थुनामा राखी सोधपुछ गरेपछि भारतीय प्रहरीले उनलाई भोलिपल्ट नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थियो ।
भारतको मोतीहारीका एसपी विनय कुमार, पटनाको एसटीएफका डीआईजी अमित कुमार, भारतीय इन्टेलिजेन्स ब्यूरोका एसपी परेश सक्सेना र पूर्वी तथा पश्चिमी चम्पारणका एसपीले राजनको खोजी गर्न नेपाल प्रहरीलाई सहयोग गरेका थिए । मोतीहारीका एसपी विनय कुमार भन्छन्, “उनलाई खोजी गर्न यहाँ हामीले धेरै प्रयास गरेका थियौं ।” मोतीहारीमा प्रहरीले व्यापक खोजी गरेको थाहा पाएपछि एक वर्षदेखि राजन पटनामा बस्दै आएका थिए ।
प्रहरीलाई राहत
राजन मुक्ति समातिएपछि धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीका सुरक्षा अधिकारीहरूको टाउकोदुखाइ कम हुने देखिन्छ । धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदी भन्छन्, “राजन पक्राउ परेपछि सशस्त्र समूहका ७० प्रतिशत अपराधिक गतिविधि कम हुनेछ ।” मध्य तथा पूर्वी तराईका जिल्लाहरूमा हत्या र अपहरणका अधिकांश घटनाहरूको जिम्मेवारी लिंदै आएका राजन जनकपुर टुडे का प्रकाशक अरुण सिंघानियाको हत्या र रामानन्द चोकको बम विस्फोटको घटना सम्बन्धी रहस्य खुल्ने मानिएको छ ।
एसपी सुवेदी राजनको बयानले धनुषा, महोत्तरी, सर्लाही र सिरहाका ४० भन्दा बढी अपराधिक घटनाको अनुसन्धानमा बल पुग्ने बिश्वास गर्छन् । सुवेदी भन्छन्, “अब हामी मुकेश चौधरीलाई पक्रन लागिरहेका छौं, उनलाई पक्राउ गर्न सकिए पछिल्ला ९ वर्षमा भएका ८० प्रतिशत अपराधिक घटनाहरूको रहस्य खुल्नेछ ।”