टिप्पणीसोमबार, मंसिर १७, २०७०

देशको बाचा

कनकमणि दीक्षित

हेमराज-आरुषी हत्याकाण्डका सम्बन्धमा सीबीआइको विशेष अदालतले दोषी ठहर्याएका राजेश र नुपुर तलवार प्रहरी भ्यानमा । तस्वीर: एपी

३ जेठ २०६५ मा भारतीय राजधानी नयाँदिल्लीको नोयडामा भएको बहुचर्चित हेमराज–आरुसी हत्याका लागि अन्ततः आरुसीकै दन्तचिकित्सक बाबुआमा राजेश र नुपूर तलवारले आजीवन काराबासको सजाय पाएका छन् ।

तलवार दम्पतीको नोयडा (सेक्टर २५) स्थित घरमा भएको छोरी आरुसी (१४) र घरेलु कामदार हेमराज बन्जाडे (४५) को हत्या मुद्दाको किनारा दिल्लीसँगै जोडिएको ‘स्याटलाइट सिटी’ गाजियावादमा रहेको केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई) को विशेष अदालतले १० र ११ मंसीरमा लगायो, अघिल्लो दिन तलवार दम्पतीलाई हत्यारा करार गर्दै अनि दोस्रो दिन आजीवन काराबासको सजाए सुनाएर ।

यो फैसलाले धारापानी–१ अर्घाखाँचीस्थित बन्जाडे परिवारलाई मात्र हैन, दिल्लीका ती सबै नेपाली कामदारहरूलाई पनि न्याय दिएको छ, जसले अनुसन्धानको विभिन्न चरणमा उत्तरप्रदेश (यूपी) प्रहरी र सीबीआईको यातना र लाञ्छना बेहोरेका थिए ।

यौनसँग जोडिएकोले पनि हुन सक्छ, भारतीय मिडियाले अति चासो दिएको यो हत्याकाण्डबारे समाजमा अनेक अड्कलबाजी व्याप्त थियो । यसमा कतिले तलवार दम्पतीलाई निर्दोष ठानेका थिए भने कतिले यसलाई संरक्षणविहीन आप्रवासी कामदार फँसाउने मुद्दाका रूपमा लिएका थिए ।

यूपी प्रहरी र सीबीआईको अक्षमताले यस्ता शंका–उपशंकालाई बढाइदिएको थियो । तर, न्यायाधीश श्याम लालबाट आएको यो फैसलाले ती निर्दोषहरूलाई विजयी बनाउनुको साथै भारतीय न्यायप्रणालीमाथि विश्वास गर्नेहरूलाई थप विश्वस्त पारेको दिल्लीका एक जना कानुनी परामर्शदाता नरेश यादवले बताएका छन् ।

हुन पनि, आरुसीको बेडमै उनको शव भेटेको प्रहरीले त्यही घरको छतमा रहेको हेमराजको शव अर्को दिन मात्र भेटेको थियो । आरुसीको हत्या नेपाली कामदार हेमराजले नै गरेको हो भन्ने मुढाग्रही विचारका कारण त्यस्तो हुन गएको थियो ।

त्यसपछि मिडिया र समाजबाट शंकापुर्ण दबाब बेहोरेको युपि प्रहरीले अनुसन्धान अगाडि बढेको देखाउँन हेमराजका नेपाली साथीहरूलाई धमाधम समाउन थाल्यो । यूपी प्रहरीबाट सीबीआईका विभिन्न टीमको हातमा पुगेको यो केसमा थुप्रै नेपाली कामदारलाई ‘नार्को’, ‘ब्रेनम्यापिङ’ ‘पोलिग्राफ’ लगायतका टेष्ट गर्दै शारीरिक र मानसिक यन्त्रणा दिने काम भयो ।


नेपालको कुरा

अझ् पनि आरुसी हत्याको दोष हेमराजको टाउकोमा लगाउने प्रयासमा रहेका तलवार दम्पतीले गाजियावादको फैसला विरुद्ध अल्लाहवाद उच्च अदालत र आवश्यक परे सर्वोच्च अदालतमा पनि अपील गर्ने बताएका छन् । भारतीय न्यायप्रणालीमा यो मुद्दाको प्रक्रिया जुन रूपमा अगाडि बढे पनि निर्वाचनपछिको उत्तेजनामा डुबेको काठमाडौंले यसको प्रकृति, प्रवृत्ति र असरबारे सोचबिचार गर्नैपर्ने देखिन्छ ।

किनभने, आरुसी केसमा नेपाली पीडितहरूले भोग्नुपरेको अवगालको मूल कारण हिमाल, पहाड र तराईका हजारौं हजारलाई आफ्ना जहान पाल्न हिमाञ्चल प्रदेशका स्याउ बगानदेखि पंजाबका खेत र दिल्ली–बम्बेका सडकहरूसम्म पुग्न बाध्य पार्ने अर्थतन्त्र सुधार्न नसक्ने नेपाली राजनीतिको असफलतासंग जोडिएको छ ।

एक दशकअघिसम्म भारतीय मैदानमा नेपालीहरूकै हैसियतमा रहेका कुमाउनी र गढवालीहरू अहिले त्यहाँको सामाजिक भ¥याङको माथिल्लो खुड्किलामा उक्लिसकेका छन् । नेपालीहरूले चौकीदारी, कृषि मजदूरी, घरेलु नोकरी, होटल–रेस्टुरेन्ट, कलकारखाना लगायतका भारतीय श्रम बजारमा स्थानीय सीमान्तकृत (आदिवासी, दलित र अन्य) र बंगलादेशी आप्रवासीहरूसँग प्रतिस्पर्धा गर्नु परिरहेको छ ।

नेपाली मूलका भारतीयहरूको अवस्था पनि योभन्दा खासै भिन्न छैन । त्यसमाथि, हालैका वर्षहरूमा भएका अपराधिक प्रकृतिका घटनाहरूले नेपाली कामदारको ‘इमान्दार’ र ‘बहादुर’ छविलाई पूरै बिटुल्याइदिएको छ । शहरी मध्यम वर्गसँग जोडिएका घटनाहरूमा भारतीय मिडियाको असामान्य चासोले नेपाली कामदारहरूको छवि बिगार्न थप सघाएको छ । थुप्रै घटनाहरूमा निर्दोषलाई बलिको बोको बनाइएको छ र नेपाली कामदारको बिग्रँदो छविको सीधा असर उनीहरूको तलबस्केलमा परेको छ ।

हेमराजकी आमा (दायाँ) र श्रीमती । तस्वीर: प्रेमनारायण आचार्य

असाध्य रोग जस्तो बनेको राजनीतिक अराजकताले नेपालमा पूँजी निर्माण र रोजगार सिर्जना हुन दिएको छैन । यो प्रतिकूलतामा हजारौं, लाखौं नेपाली नागरिक पारिवारिक वातावरण र देशको अर्थतन्त्रलाई कमजोर पार्दै काम खोज्न बाहिरिने प्रक्रियाले हाम्रो राष्ट्रिय मनोविज्ञानमा समेत ठूलो आघात पुर्‍याइरहेको छ । राजनीतिक अनिश्चयको अन्त्य नभई नेपालको यो श्रमशक्ति पलायन प्रक्रिया रोकिने छैन ।

काठमाडौं विमानस्थलबाट खाडी र मलेशियातिर लाग्ने युवाशक्ति (दैनिक १२००) प्रति चिन्तित नेपाली मिडियाले सबभन्दा तल्लो आर्थिक संरचनाका हजारौं नेपाली बेसूचना भएर खुला सीमा काटिरहेको दृश्य देख्न सकेको छैन ।

भारतस्थित नेपाली कामदारहरूमाथि केहि अध्ययन त भएका छन्, तर उनीहरूको सुरक्षा अवस्था घातक बेवास्तामा परिरहेको छ । यता नेपाल सरकारको अवस्था कस्तो छ, उसले नयाँदिल्लीको बाह्रखम्बा रोडमा एक जना राजदूत पठाउन नसकेको दुई वर्षभन्दा बढी भइसक्यो ।

नेपाली राजनीतिज्ञ र नीतिनिर्माताहरूले नेपालभित्रै ठूलो मात्रामा सम्मानजनक रोजगार सिर्जना गर्ने उद्देश्यबाट काम गरेकै छैनन्, बढी प्रतिनिधिमूलक तथा उत्तरदायी सरकारको अभ्यासमा लाग्दालाग्दै पनि ।

राजनीतिक स्थायित्व, शान्ति र आर्थिक वृद्धिको पहल नगरी नेपालीहरूले पराया समाज र अर्थतन्त्रको सेवा गर्नुपर्ने विडम्बनाको अन्त्य नहुने कुरामा ध्यान दिन विलम्व भइरहेको छ । तर, नेपालीहरूले आर्थिक गुजाराका लागि विदेश पस्नु नपरेको दिनदेखि मात्र यो राष्ट्र–राज्यले आफ्ना नागरिकप्रति गरेको ऐतिहासिक बाचा पूरा हुन थाल्नेछ ।
———————————————————————————–

परिवारको बेहाल

हेमराजका छोरा प्रज्वल ।

आरुसी तलवारलाई घरेलु कामदार हेमराज बञ्जाडेले मारेको नभई हेमराज र आरुसी दुवैको हत्यारा आरुसीका बाबुआमा राजेश र नुपूर तलवार भएको फैसला सीबीआईको गाजियावाद विशेष अदालतबाट आएपछि अर्घाखाँचीस्थित हेमराजको परिवारले न्यायको अनुभूति गरेको छ ।

तीन वर्षअघि गाजियावाद पुगेर आफ्नो श्रीमान्को हत्या तलवार दम्पतीले गरेको निवेदन दिएकी खुमकला बन्जाडे (४६) ले अब आफूहरूले क्षतिपूर्ति पाउनुपर्ने बताइन् । “सासू बिरामी हुनुहुन्छ, छोरो पनि मुटु रोगी छ”, उनले भनिन्, “यत्रो अन्यायमा परेका परिवारलाई न्यायालयले न्याय दियो, अब भारत सरकारले पनि क्षतिपूर्ति दिनुपर्छ ।”

खेतीले तीन महीना पनि खान नपुग्ने भएकोले साढे पाँच वर्षदेखि माइतीको सहयोगबाट गुजारा गरिरहेकी उनले हत्या हुनुअघिसम्म श्रीमानले दिल्लीबाट मासिक रु.५/६ हजार पठाइदिने गरेको बताइन् । अर्घाखाँचीको धारापानी–१ साना औवलस्थित घरमा स्वर्गीय हेमराजका ७८ वर्षीय आमा कृष्णकला, श्रीमती र ११ कक्षामा पढ्दै गरेका छोरा प्रज्वल (१६) छन् । उनको एक छोरीको विवाह भइसकेको छ ।

खुमकलाले श्रीमानको हत्यापछि अखिल नेपाल–भारत एकता समाजले रु.५० हजार सहयोग गरेको बाहेक कतैबाट सहानुभूति नपाएको बताइन् ।
प्रेमनारायण आचार्य, अर्घाखाँची

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...