अन्तर्वार्ता/विचारशुक्रबार, मंसिर २१, २०७०
शिक्षाको उकास
चार कक्षामा भूगोल पढाउने शिक्षकले सगरमाथा चिनाउँदा म अलमल्ल परेको थिएँ। नेपालको मानचित्रमा उत्तरतिर उठेको भाग देखाएर उनले हामीलाई संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथाको परिचय दिएका थिए। बुबाले ल्याइदिएको नक्शामा भने सगरमाथा उनले देखाएको ठाउँमा थिएन। तर, शिक्षक रिसाउने डरले मैले नक्शामा सगरमाथा फरक ठाउँमा देखेको बताइनँ।
भारतमा छापिएको भएर नक्शा नै गलत भएको मान्दै म चूपचाप रहें। पछि थाहा भयो, नक्शामा उत्तरतिर गएको ठाउँ धौलागिरि अञ्चलको उत्तरी भेग रहेछ। द्वि–आयामिक नक्शामा उचाइको आधारमा ठाउँ छुट्याउन नमिल्ने कुरा थाहा नपाउँदा मेरा शिक्षक झुक्किए होलान् भन्ने मेरो अनुमान छ।
राम्रो शैक्षिक स्थिति रहेको र धेरै प्राथमिक विद्यालय भएको जिल्लामा पर्ने स्याङ्जामा दुई दशकअघिका शिक्षकको स्तरले त्यो वेलाको शिक्षाको अवस्था देखाउँछ। अहिले पनि शैक्षिक स्तरमा उल्लेखनीय सुधार नभएकाले शिक्षकहरूको स्तर त्योभन्दा धेरै फरक भयो होला भन्न सकिने स्थिति छैन। च्याउ झैं उमि्रएका इङ्गलिस बोर्डिङ स्कूल हुन् वा सरकारी विद्यालय; सबैको स्तर दयनीय छ। विद्यालयहरूमा अध्ययन/अध्यापनका लागि उचित वातावरण छैन, भौतिक पूर्वाधार कमजोर छन्।
कमजोर शैक्षिक स्तर
बालबालिकाको मनोविज्ञान अनुसार पढाउन सक्दा मात्र विद्यार्थीले स्तरीय शिक्षा पाउँछन्, तर बालमनोविज्ञान बुझेर पढाइँदैन। विद्यालयमा भर्ना भएका पाँचमध्ये एक जना शिशु मात्रै प्राथमिक तहबाट निम्नमाध्यमिक र माध्यमिक तहमा पुग्छन् भने एसएलसी परीक्षा दिनेमध्ये आधा मात्रै उत्तीर्ण हुन्छन्।
‘घोकन्ते’ शैलीका कारण शिक्षितहरू पनि दक्ष जनशक्ति बन्न सकेको देखिंदैन। जसले गर्दा, विश्वको श्रमबजारमा शिक्षित नेपालीले पनि ‘ब्लू कलर’ भनिने तल्लो स्तरको काम गर्नु परेको छ। मुलुकको उच्च शिक्षाको स्तर राम्रो नहुँदा उच्च शिक्षा हासिल गर्न विदेश जानुपरेकाले वर्षेनि करोडौं रुपैयाँ बाहिरिने गरेको छ।
यो अवस्था आउनुमा सबैभन्दा ठूलो कारक राजनीतिक द्वन्द्व र अस्थिरता हो। द्वन्द्वका दश वर्षमा शिक्षा क्षेत्रका पूर्वाधारहरू ध्वंस गरियो। विद्यालय भवन सेना, प्रहरी र माओवादी लडाकू बस्ने ब्यारेक बने। बालबालिका खेल्ने मैदान सेना, प्रहरी र माओवादीका परेड ग्राउन्ड बने भने पढ्ने उमेरका हजारौं किशोरकिशोरीले पढ्न पाएनन्। बन्दूक बोकेर जंगलतिर लाग्नुपर्ने, विस्थापित भएर विदेश जानुपर्ने अवस्था नेपाली युवाले भोग्नुपर्यो। त्यो अवस्थाले दक्ष जनशक्तिको उत्पादन कम हुने नै भयो।
शिक्षा महत्वपूर्ण
देशको उन्नतिका लागि शिक्षाको भूमिका सबैभन्दा महत्वपूर्ण हुनेमा विवाद छैन। शिक्षालाई प्राथमिकता दिने मुलुकले विकास गरेकाले पनि यो तथ्य विवादहीन बनेको हो। दक्षिण कोरियामा शिक्षक पेशा धेरै तलब पाइने पेशामध्येमा पर्दछर त्यहाँ शिक्षकलाई ‘देश–निर्माता’ भनेर सम्मानसाथ सम्बोधन गरिन्छ।
चीनले पनि अहिले आक्रामक रूपमा शिक्षा व्यवस्थामा परिवर्तन गर्दैछ। त्यही कारण उसले विज्ञान र प्राविधिक क्षेत्रमा सबैभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्न सकेको हो। अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालका सबैभन्दा चर्चित योजनाहरूमा स्वास्थ्य र शिक्षा क्षेत्रको सुधार पर्छन्।
‘रेस टू द टप’ भन्ने नाराका आधारमा अमेरिकामा लागू गरिएको शिक्षा योजनाले शिक्षकको जवाफदेहितालाई आर्थिक लाभसँग जोडेको छ। राम्रो परिणाम देखाउन सक्ने विद्यालयहरूलाई उसले विशेष आर्थिक सहयोग, थप पूर्वाधार विकास र सम्मान दिने योजना पनि कार्यान्वयन गरेको छ।
भर्खरै सम्पन्न संविधानसभाको चुनाव मार्फत जनताले मुलुकमा राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धि चाहेको प्रष्ट रूपमा देखिएको छ। सामेलीपनको सिद्धान्तमा आधारित भएर भविष्यको नेपाललाई समृद्ध, सफल र द्वन्द्वरहित बनाउने आकांक्षा नेपाली जनताले मतदान मार्फत देखाएका छन्। त्यसका लागि राजनीतिक स्थिरता र एक्काइसौं शताब्दी सुहाउँदो शैक्षिक स्तर निर्माण गर्नु अहिलेको आवश्यकता हो।
अहिले उपलब्ध प्रविधिको सुविधा, इन्टरनेटको प्रयोग र देशकै लागि केही गर्न आतुर शिक्षित नेपाली युवाहरूको उचित व्यवस्थापन गर्न सके आउँदो एक दशकभित्रै शैक्षिक स्तर उकास्न असम्भव छैन।