खेलकुदशनिबार, मंसिर २२, २०७०

जर्नी टु वर्ल्डकपः फाइनलमा नेपाल पराजित

हिमालखबर

कीर्तिपुरस्थित त्रिवि मैदानमा २२ मंसीरमा भएको जर्नी टु वर्ल्डकप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा एयर इन्डियाले यसअघि नेपालसँगको हारको बदला लिँदै उपाधिमाथि कब्जा जमाएको छ ।

यसअघि १७ मंसीरमा भएको उद्घाटन खेलमा नेपालले एयर इन्डियालाई ५ विकेटले हराएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४५ ओभरमा ८ विकेट गुमाउँदै २७६ रन बनाएको थियो ।

यस्तै एयर इन्डियाले नेपालले दिएको २७७ रनलाई ४३.२ ओभरमा नै पूरा ग¥यो । एयर इन्डियाले ४३.२ ओभरमा ५ विकेटको क्षतिसँगै आफ्नो लक्ष्य पूरा गरेको हो ।

नेपालको लागि विनोद भण्डारीले सर्वाधिक ७९ रनको योगदान दिए भने कप्तान पारस खड्काले ६१ रन जोडे । यसैगरी अनिल मण्डलले ४५ र सागर पुनले ३५ रन जोडेका थिए ।

यसअघि नेपालले सिङ्गापुरलाई २२७ को फराकिलो रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । एयर इन्डियाले दिल्ली वन्डरर्सलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

नेपाल क्रिकेट संघको प्राविधिक सहयोगमा जोरा इन्टरनेसनलले आयोजना गरेको सो प्रतियोगितामा नेपाललगायत भारतको एयर इन्डिया क्लब, सिङ्गापुरको राष्ट्रिय क्रिकेट टिम र भारतकै दिल्ली वन्डरर्स क्लबको सहभागिता थियो ।

१७ मंसीरदेखि शुरु भएको प्रतियोगिता आगामी पुस महिनामा न्युजिल्यान्डमा हुने एकदिवसीय विश्वकप क्रिकेट अभ्यासका लागि आयोजना गरिएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...