रिपोर्टआइतबार, मंसिर २३, २०७०
अपराधीलाई राजनीतिक आड
तुफान न्यौपाने, नेपालगञ्ज
गत संविधानसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट बाँके क्षेत्र नं. २ का उम्मेदवार कमलप्रसाद अधिकारीलाई ५ चैत २०६४ मा हत्या गर्ने बाँके रनियाँपुर–५ का सिकन्दर अली शेष खाँ ३ जेठ २०६५ मा पक्राउ परे । ५ चैत २०६३ मा हिरमिनिया–४ का रामनिवास मौरे र १४ चैत २०६४ मा बेतहनी–३ का माताप्रसाद बर्मालाई गोली हानी हत्या गरेको अभियोग पनि उनीमाथि थियो ।
तर सिकन्दरसँगै अधिकारी हत्याका अन्य अभियुक्त भुल्लन केवट र होली केवटलाई आस्थाका बन्दी मान्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले मुद्दा फिर्ता लिएर छाडिदियो ।
जबकि अस्पतालमा मृत्युको मुखमा रहेको वेला अधिकारीले तत्कालीन प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा समक्ष सिकन्दर र केवटद्वयले आफूलाई गोली हानेको बयान दिएका थिए । राष्ट्रिय जनमोर्चाका बाँके सचिव कृष्णराज पाण्डे भन्छन्, “उनीहरूले नै हत्या गरेको सबैतिरबाट प्रमाणित भए पनि माओवादी सरकारले उनीहरूलाई छाडिदियो ।”
२८ कात्तिक २०६५ मा रिहा भएपछि सिकन्दरले चार जनाको हत्या गरे भने अपहरण, फिरौती, असुली र विस्फोटका थुप्रै घटना गराए ।
अपराधी छुटाउने राजनीति
सिकन्दरको समूहमा रहेका र कुनै वेलाका एमाले कार्यकर्ता बाँके इन्द्रपुरका मेराज अहमद साई टेलिफोन र बिजुलीको तार चोरीको अभियोगमा ७ जेठ २०६५ मा पक्राउ पर्दा एमालेको दबाबबाट धरौटीमा रिहा भए ।
त्यसपछि हौसिएका उनले सिकन्दरसँग मिलेर १४ असोज २०६७ मा बागेश्वरी उमाविमा अध्ययनरत कपिल द्विवेदी र लीलाधर भट्टलाई अपहरण गरी फिरौती असुलेर हत्या गरे । त्यो अभियोगमा पक्राउ परेका उनलाई बाँके जिल्ला अदालतले २९ मंसीर २०६९ मा ७८ वर्षको कैद सजायको फैसला गर्दै बाँके कारागार पठाएको छ ।
महेन्द्र बहुमुखी क्याम्पसका तत्कालीन प्रमुख सीताराम विष्टलाई २ जेठ २०६४ मा गोली हानेको आरोपमा ११ जेठमा पक्राउ परेका बाँके हिरमिनिया—६ का अर्जुनसिंह शिख (भगत सिंह) लाई पनि नेपाली कांग्रेसका तत्कालीन जिल्ला सभापति कृष्णमान श्रेष्ठको दबाबमा प्रहरीले ३ असारमा छाड्यो ।
पछि भगत सिंहले जनतान्त्रिक तराई मधेश मुक्ति नामको आपराधिक समूह गठन गर्दै आफूलाई छुटाउने कृष्णमानकै घरमा बम विस्फोट गराए । त्यसपछि उनले त्यो क्षेत्रमा हत्या, अपहरण, फिरौती, असुली, जबरजस्ती करणी, बम विस्फोट लगायत झ्न्डै दुई दर्जन आपराधिक घटना गराए । उनीमाथि पाँच वटा ज्यान मुद्दासहित १८ फौजदारी अभियोग छन् ।
एमाओवादी नेता बाबुराम भट्टराई सरकारले तिनै भगत सिंहलाई वार्तामा बोलायो भने विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम, लोकतान्त्रिकले संविधानसभा निर्वाचन अघि पार्टी एकता नै गर्यो । भगत सिंहलाई बाँके क्षेत्र नं. २ बाट उम्मेदवार बनाउने लोकतान्त्रिकको प्रयास भने फोटोसहितको नामावलीमा उनको नाम नभएकाले सफल हुन सकेन ।
पक्राउ पर्दै अपराधी
सिकन्दरलाई भारतको श्रावस्ती नवावगन्ज हसनपुरका उनका सहयोगी हविव खाँ (३५) सहित १२ मंसीरमा प्रहरीले पक्राउ ग¥यो । प्रहरीले हविवबाट एक थान कटुवा पेस्तोल र दुई थान गोली तथा सिकन्दरबाट मेड इन जर्मनी लेखिएको १३१३२३२ नम्बरको रिभल्वर र दुई थान गोली बरामद गरेको भेरी अञ्चल प्रहरी प्रमुख मधुसूदन पुडासैनी बताउँछन् । उनका अनुसार सिकन्दरले संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नं. २ का एमाले उम्मेदवार दिनेशचन्द्र यादवको हत्या योजना बनाएको थाहा पाएपछि उनको सुरक्षा बढाइएको थियो ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश मल्लको नेतृत्वको विशेष अनुसन्धान टोलीले सिकन्दरलाई समातेको दुई दिनपछि भगत सिंहलाई पनि पक्रन सफल भयो । “फेरि हिंसात्मक गतिविधि बढाउने सूचना पाएकाले पक्राउ गरेका हौं”, मध्यपश्चिम प्रहरी प्रमुख डीआईजी राजेन्द्रसिंह भण्डारी भन्छन्, “ऊ विरुद्धका कुनै पनि मुद्दा फिर्ता नभएकाले सबै अभियोग पुष्टि गर्ने गरी प्रमाण जुटाएर मुद्दा चलाउँछौं ।”
भारतमा आश्रय लिएर नेपालमा हिंसा मच्चाउँदै आएका उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो । “भूमिगत सशस्त्र समूहलाई निर्मूल पार्न भारतीय प्रहरीसँग समन्वय गरेको बताउँदै एसएसपी पुडासैनी भन्छन्, “तराईभरिका प्रहरी कार्यालयबाट सूचना संकलन गरेकाले उनीहरूको नेटवर्कमा प्रहार गर्न सफल भएका हौं ।”
डीएसपी मल्ल त्यो क्षेत्रका मुख्य अपराधीमध्ये मुकेशकुमार चौधरीलाई पक्राउ गर्न बाँकी रहेको बताउँछन् । चौधरी मिथिला राज्यको माग गर्दै जनकपुरको रामानन्द चोकमा बसेको धर्नामा भएको विस्फोट र जनकपुरकै सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा संलग्न हुन् ।
कपिल द्विवेदी र लीलाधर भट्टलाई अपहरणपछि हत्या गर्ने मेराज अहमद साई चौधरी समूहको बाँके/बर्दियाका इन्चार्ज थिए । १२ फागुन २०६९ मा दलबहादुर थापालाई गोली हानी हत्या गरेका भारत नानपाराका प्रताप सिंह र बाबागञ्जका विशाल सिंह पनि चौधरी समूहकै सक्रिय कार्यकर्ता हुन् । उनीहरू दुईसहित चौधरी समूहका ८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
हिमाल खबरपत्रिकाबाट