रमझमसोमबार, मंसिर २४, २०७०

मौसम पर्वतीय फिल्मको

हिमालखबर

२६–३० मंसीरमा राजधानीमा हुने ‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)’ २०१३ का लागि २० देशका ४७ फिल्म (डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक) छनोट गरिएको छ । हिमाल एसोसिएसनको वार्षिक किम्फमा विशेषगरी पर्वतीय क्षेत्रको जनजीवन, संस्कृति र वातावरणमाथि बनेका फिल्महरू प्रदर्शन गरिन्छन् ।

राष्ट्रिय सभागृहमा हुने किम्फका फिल्महरूलाई यसपालि पनि अन्तर्राष्ट्रिय र नेपाल पानोरामा प्रतियोगितात्मक वर्गमा छुट्याइएको छ । महोत्सवको उद्घाटन सहारा शर्माद्वारा निर्देशित नेपाली फिक्सन ‘इन्द्रेणी खोज्दै जाँदा’ (चेजिङ रेन्बोज) बाट हुनेछ । यो फिल्ममा सपना पूरा गर्न काठमाडौं आएका तीन दाजुबहिनीको कथा छ ।

किम्फले ‘नेपाल पानोरामा’ अन्तर्गत नेपाली फिल्महरू प्रदर्शन गर्न थालेको पाँच वर्षको अवधिमा नेपाली फिल्मकर्मीहरूले विषय छनोट र प्रस्तुतिमा निकै उन्नति गरेको बताउने आयोजक संस्थाका अध्यक्ष वसन्त थापा भन्छन्, “महोत्सवको उद्घाटन नै नेपाली महिला निर्देशकको फिल्मबाट हुन लागेकोमा हामी उत्साहित छौं ।”

किम्फको समापन चाहिं क्याप्टेन जोहन नोयलको डकुमेन्ट्री ‘द इपिक अफ एभरेस्ट’ को विशेष प्रदर्शनीबाट गरिनेछ । यस फिल्मलाई ब्रिटिश फिल्म इन्ष्टिच्युटले पुनरुद्धार गरी यसै साल बेलायतमा सार्वजनिक प्रदर्शन गरेको थियो । यो डकुमेन्ट्रीमा सन् १९२४ को जर्ज म्यालरी–एण्ड्रू इर्भिन सगरमाथा अभियानका दृश्यहरू समावेश छन् ।

यसपालिको किम्फमा तीन सदस्यीय जुरीबाट छानिने अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका प्रथम, द्वितीय र तृतीयले क्रमशः १५००, १००० र ५०० अमेरिकी डलर पुरस्कार पाउने छन् । यसैगरी, नेपाल पानोरामाको उत्कृष्ट डकुमेन्ट्रीले रु.२५ हजार र उत्कृष्ट फिक्सन फिल्मले पनि रु.२५ हजार पुरस्कार पाउनेछ । दर्शकहरूको मतका आधारमा कुनै एक फिल्मले ‘अडियन्स अवार्ड’ पाउने महोत्सवकी निर्देशक रम्यता लिम्बूले बताइन् ।

उनका अनुसार, यसपटकको किम्फमा विश्व वन्यजन्तु कोष–नेपाल (डब्लुडब्लुएफ–नेपाल) को प्रायोजनमा ‘वी आर अल कनेक्टेड’ कार्यक्रम पनि हुनेछ । त्यस्तै, हिमालय रेस्क्यु एसोसिएसनले यही महोत्सवमा हिमालय क्षेत्रमा हेलिकप्टरले गर्ने उद्धारकार्यका चुनौतीमाथि एउटा छलफल कार्यक्रम पनि सञ्चालन हुनेछ भने जर्मन ट्राभल राइटर गेर्डा पाउलरले प्रवचन दिनेछिन् ।

अनुशील


प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>