समाचारमंगलबार, मंसिर २५, २०७०

ज्यानको जवाफदेहिता

हिमालखबर

वीर अस्पतालमा लडेका नन्दप्रसाद न्याय नपाए बाँच्नुको अर्थ नभएको बताउँछन् । तस्वीर: बिक्रम राई / हिमालखबर

मुलुकको राज्यविहीनता तथा गैर–लोकतान्त्रिक यात्रा राम्ररी बुझेकाले नन्दप्रसाद र गंगामाया अधिकारीले छोरा कृष्णप्रसादको हत्यारालाई कानूनको दायरामा ल्याउन आमरण अनशन बस्ने उपाय रोजे । तर ४ मंसीरको निर्वाचनबाट खुला समाजतर्फ राज्य उन्मुख हुँदा पनि नन्दप्रसाद र गंगामाया उसैगरी अनशनमै छन् । यसको कारण हो, वर्तमान सरकार तथा लोकतान्त्रिक मानिने दलका नेताहरूको बेवास्ता ।

एउटा १६ वर्षे बालक मारिए २०६१ मा, चितवनको बकुल्लर चोकमा, एसएलसी परीक्षा दिएर गोरखाको फुजेल गाउँको घरबाट हजुरआमा भेट्न चितवन झ्रेको बेला । पारिवारिक रीसइबी रहेका फुजेलका केही व्यक्तिले चितवनका माओवादीलाई कृष्णप्रसादको हत्याकालागी ‘सुपारी’ दिएका थिए । हत्याको तरिका पनि दर्दनाक थियो, हात खुट्टा भाँच्नेदेखि बोरामा हाली मोटरसाइकलले घिसार्ने र लल्याकलुलुक परेको शरीरमा तीन गोली प्रहार गरी अन्त्य गर्ने ।

हत्या घटनाको प्रत्यक्षदर्शी भएर पनि चितवनवाशी माओवादी त्रासका कारण बोल्न सकेनन् । तर, ‘हामीले नै मारेका हौं, के गर्छौ हेरौं त’ भन्ने माओवादीका स्थानीय नेताको धम्की सुन्ने प्रशासक पनि अझै छँदैछन्, निजामती सेवामा अन्यत्र खटिएका । तर, गंगामाया र नन्दप्रसादले दिएको किटानी जाहेरीमा हत्यामा सामेल भएका आधा दर्जन भन्दा बढीको नाम छ, जसबाट हत्याबारे सूचना संकलन गर्न सकिने पर्याप्त आधार छन् ।

कृष्णप्रसादको हत्याको प्रक्रियागत छानबिन नेपाल प्रहरीबाट हुनुपर्दछ, नेपाली समाज, अधिकारी दम्पती र हाम्रो माग त्यति नै हो । नेपालमा निर्वाचनद्वारा पुनर्वहाली भएको प्रतिनिधिमूलक शासनलाई वजनदार र विश्वसनीय बनाउने हो तथा आर्थिक/सामाजिक रूपान्तरणतर्फ लम्कने हो भने मानवअधिकार, कानूनी राज तथा आर्थिक विकासबीचको अटुट सम्बन्धलाई हेक्का राख्नै पर्दछ । त्यही भएर, वीर अस्पतालको क्याबिन १६ र १७ मा अनशनरत दम्पतीको माग केन्द्रविन्दुमा राखिनुपर्छ भनिएको हो ।

कृष्णप्रसादको हत्याराको खोजी कानूनी दायराभित्रै हुनुपर्दछ, राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर होइन । तर, अनुसन्धान अडकिएको राजनीतिक पूर्वाग्रहकै कारण हो । पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र बाबुराम भट्टराईले नै अनुसन्धानमा खुलेआम बाधा हाले । त्यसैले, नेपाल प्रहरीको ‘अनुसन्धान जारी छ’ भन्ने उद्घोष विश्वसनीय हुन सक्दैन ।

अधिकारी दम्पतीको अवस्था नाजुक बन्दै गएकाले अनुसन्धानलाई अगाडि बढाउने अभिभारा लिनुपर्ने र जवाफदेहीता किटान गर्नुपर्ने बेला आएको छ । यसअघि राजनीतिको बागडोर सम्हालेको एमाओवादी नेतृत्वबाट आशा गर्न सकिने अवस्था छैन, तर जनताबाट अनुमोदीत दुई ठूला दल नेपाली कांग्रेस र एमालेका नेताहरूले गंगामाया र नन्दप्रसादलाई न्याय दिलाउने जिम्मेवारी लिनै पर्छ । यसैगरी, खिलराज रेग्मीको अन्तरिम मन्त्रीपरिषद र कर्मचारीतन्त्रको पनि जवाफदेही गाँसिएको छ यो मुद्दामा ।  धेरै वर्ष अवसरवादी ‘संक्रमणकाल’ को कब्जामा रहेका जनता र समाजलाई कानूनी राजतर्फ डोर्याउने मौका पनि हो यो उनीहरु सबैका लागि ।

यो र यस्ता मुद्धामा माओवादी वृतले भने जसरी सत्य निरुपण तथा मेलमिलाप आयोगलाई कुर्ने कुरा सही हुनै सक्दैन । उक्त आयोगले पनि फौजदारी अभियोग र प्रक्रियालाई नकार्दैन । माओवादी बृत भने नकार्छ भन्ने भ्रम फैलाउँदैछ । युद्धकालमा लडाइँको मैदान बाहिर भएका हत्यालाई फौजदारी अभियोग अन्तर्गत कारबाही चलाउनु प्रहरी, महान्यायाधिवक्ताको कार्यालय, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय तथा राजनीतिको बागडोर सम्हाल्न अग्रसर दल र तिनका नेताहरूको दायित्व हो । र, यो दायित्वबाट ‘राजनीतिक बाध्यता’ भन्दै उम्कन खोज्नेहरुलाई नेपाली जनता तथा अन्तर्राष्ट्रिय जगतले बिर्सने छैन ।किनभने, मानवीयता र कानूनी राज चाहनेहरुको स्मरणशक्ति दिगो हुन्छ ।

नेल्सन मण्डेलाः आफैं गर
दक्षिण एशियाका मोहनदास करमचन्द गान्धी र दक्षिण अफ्रिकाका नेल्सन मण्डेला २०–२१ औं शताब्दीको शिखर व्यक्तित्व थिए । नेल्सन मण्डेलाको देहावसानको सन्दर्भमा हामीले यति मात्र भन्नुपर्छ, उनी जस्ता महान् पुरुष जन्मिएपछि मात्र देशमा शान्ति, विकास, लोकतन्त्र र समृद्धि छाउला भनेर कुरेर बस्नु उचित होइन । त्यस्ता व्यक्तित्व कयौं युगमा एकचोटि मात्र जन्मने हुँदा तिनको पर्खाइमा बस्नु भाग्यवाद ठहरिने छ । कुनै पनि मुलुक तब बन्दछ, जब समाज चलायमान र अग्रगामी हुन्छ तथा हजारौं, लाखौं नागरिकहरू मानवता र लोकतन्त्रमा आधारित आफ्ना मान्यतालाई प्रतिरक्षा गर्न क्रियाशील हुन्छन् । नेपाल पनि यस अर्थमा अपवाद हुन सक्दैन । नेपाल बन्नेछ, जब हाम्रै नागरिक–प्रशासक, राजनीतिज्ञ, व्यवसायी, बौद्धिक, जिल्ला जिल्लामा रहेका चिन्तक तथा जुझरुले नेल्सन मण्डेलाको मान्यता आफ्नै बनाउने छन् र क्रियाशील हुनेछन् । यसर्थ हाम्रा लागि नेल्सन मण्डेलाको जीवनको सन्देश छ– “आफैं गर ।” श्रद्धान्जली युगपुरुषलाई !

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>