व्यक्तित्वबुधबार, मंसिर २६, २०७०
७९ वर्षे तन्नेरी
पश्चिम झापामा हेडसरको नामले सुपरिचित छविलाल सिटौला (७९) दमक–११ मा रहेको घरबाट साइकल चलाउँदै पाँच किलोमिटर पश्चिमको कृष्णमन्दिरस्थित विद्यालक्ष्मी बोर्डिङ स्कूल पुग्छन् र दिनभर फुर्तीसाथ काम गरेर फर्कन्छन् । उनलाई आलस्य र निष्क्रियतासँग डर अनि कामप्रति मोह छ । जीवनलाई एउटा असल कामको उम्मीद भन्ने उनी त्यसनिम्ति आफूले सात्विक खानपान र सक्रियता अवलम्बन गरेको बताउँछन् ।
सिटौला सरले २०११ सालमा काठमाडौं, नक्सालको नन्दी रात्रि विद्यालयबाट म्याट्रिक पास गर्नासाथ आफ्नै गाउँ आठराईको त्रिभुवन हाइस्कूलमा चकडस्टर समातेका थिए । त्यसवेला उनको तलब मासिक रु.५ थियो । बीचका दुई वर्ष स्नातक पढ्न काठमाडौं र बनारस गए बाहेकको १० वर्ष आठराईमै पढाएका उनी २०२३ पुसमा प्रधानाध्यापक भएर दमकको हिमालय माविमा झरेका थिए ।
त्यो वेला राजधानी उपत्यकाका तीन जिल्लापछि समृद्ध मानिन्थ्यो, पूर्वी पहाडको तेह्रथुम । त्यहाँको त्रिभुवन स्कूलमा ६ कक्षासम्म पढेका छोरालाई अंग्रेजी शिक्षाको महŒव बुझ्ेका बाबु जनार्दन सिटौलाले दार्जीलिङ लगेर कक्षा सातमा भर्ना गरिदिए । त्यहाँ एक वर्ष पढेपछि उनी तीन कक्षा फड्को हानेर काठमाडौंको नन्दी रात्रि विद्यालय भर्ना भए, दशौं कक्षामा । “हरमणि दीक्षित परीक्षा नियन्त्रक रहेको त्यो वर्ष नेपालभरिबाट ६९८ जनाले म्याट्रिक पास गरेका थियौं”, सिटौला सम्झ्न्छन्, “त्यसवेला म्याट्रिक गर्नेहरूको नाम राजपत्रमा छापिन्थ्यो, सिंहदरबारको भित्तामा पनि टाँस हुन्थ्यो ।”
सिटौला सर दमक झर्दा झापालाई सालघारीले ढाकेको थियो । आदिवासीहरूका एकाध बस्ती थिए । छोराछोरी पढाउनुपर्छ भन्ने चेत एकदमै कम थियो । त्यो अवस्थामा आफैं विद्यार्थी बटुल्दै दमक सिरानको छाप्रे हिमालय माविमा पढाउन थालेका सिटौला त्यहाँ ३२ वर्ष प्रधानाध्यापक रहे । २०३८ सालमा दमक नगर पञ्चायत भएसँगै दमक बहुमुखी क्याम्पस स्थापनामा अगुवाई गरेका उनले त्यहाँ २०५९ सालसम्म अंग्रेजी पढाए । हिमालय उमाविबाट पनि २०६१ सालमा अवकाश पाए, तर त्यतिकै बस्न नसकेर बोर्डिङ स्कूल खोलेर फेरि लहलहाउँदा भुराहरूको बीचमा बसे ।
नातिनातिना उमेरका शिक्षकहरूको हारमा मिसिएर पनातिपनातिना छिमलका विद्यार्थी पढाइरहेका प्रिन्सिपल सिटौला गत वैशाखबाट भने प्रशासनिक काममा बढी केन्द्रित भएका छन् । मनले माया गरेको काम धीत मरुन्जेल गर्न पाउनुलाई जीवनको मजा मान्ने सिटौला भन्छन्, “चिरनिद्रामा जाने दिनसम्म एकैछिन पनि थलिएर बस्नु नपरोस्, शिक्षक हुन पाइरहूँ, बस् ।”
गोपाल गडतौला, झापा
साप्ताहिक खबरपत्रिका हिमालबाट