टिप्पणीबुधबार, मंसिर २६, २०७०

अर्मलाको अलार्म

तीर्थबहादुर श्रेष्ठ

तस्वीर: मीनरत्न बज्राचार्य

पानीमा उफ्रिरहेका छन्

जलघोडाहरू

उनीहरूका टापमुनि

बजिरहने अनन्त धुनहरूले

मौसम फेरिदिने

ल्याइदिएका छन् पूर्वसंकेतहरू

–रमेश श्रेष्ठ

पोखराका कवि रमेश श्रेष्ठले जलघोडाका टापमुनि बजिरहेको मौसम फेरिदिने पूर्वसंकेतहरू सुने, घाँस उखेलिरहेकी केटीका साथमा पोखराका मैदानहरूमा। उनले के सुने र के बुझे मलाई थाहा हुने कुरा भएन, परन्तु हालै पोखरा नजिकैको अर्मला ठूलीबेंसीको भूमिगत जलमार्गमा उफ्रिरहेका जलघोडाका टापमुनि बज्न थालेका धुनहरूले शुभसंकेत दिएका छैनन्।

दोस्रो संविधानसभा निर्वाचन परिणामले एकपछि अर्को राजनीतिक भ्वाङ पारिरहेको अवस्थामा अर्मलाको जमीन भासिन थालेको समाचारले आम नेपालीको कानलाई उतिसारो झ्स्काएन। पाँच मिटरसम्मका भकारी आकारका ३५ वटा भ्वाङ देखिएपछि अर्मलावासी भने अत्तालिंदै भूमिगत पानीलाई निकास दिने प्रयत्नमा जुटेका छन्। विशेषज्ञहरू खहरेको प्राकृतिक बाटोमा मानवीय अतिक्रमणको अवरोध पुग्दा त्यो परिणाम देखिएको निर्क्योलमा पुग्न थालेका छन्। अर्मलाको दुहुनी खोला दायाँ–बायाँ करीब २४० रोपनी खेत, करीब ५० वटा घर र एक विद्यालय उच्च जोखिममा छन् भने केही परिवारले अन्यत्रै शरण लिएका छन्। कमलो भूबनोटमा बसेको पोखरा उपत्यकाका बासिन्दाले यो घटनालाई पूर्वसंकेतको रूपमा बुझनुपर्छ।

लगभग ५० वर्ष पहिले म डकोटा जहाजमा चढेर काठमाडौंबाट पोखरामा उत्रिंदा हवाई मैदानमा अलकत्रा पोतिएको थिएन। नजिकैको चौतारामा बसेका भरियाहरू जहाजैसम्म आएका थिए, भारी लिन। असार महीना भए पनि कहीं पानी जमेको थिएन। एक जना भरिया दाइलाई “यहाँ पानी परेन?” भनेर सोध्दा “पोखरामा पानी निकै पर्छ, तर हिलो हुँदैन, जमीनभित्र सोसिएर जान्छ” भनेका थिए। त्यो पानी कहाँ जान्छ? उतिवेला मैले सोचेको थिएन। अब भने सोच्न बाध्य भएको छु।

पोखरा घुम्दा थुप्रै होचा पर्खालहरू देखियो। घरबारीका साँध छुट्याउन तथा मूलबाटो सँगसँगै पनि पर्खालहरू लगाइएका थिए। ती पर्खाल विभिन्न आकारका ढुंगा, गिर्खा र रोडाले बनेका थिए। त्यसवेला पोखरामा सिमेन्ट भित्रिएको थिएन, सबै निर्माणमा ढुंगा प्रयोग भएका देखिन्थे। यिनीहरू आफ्नो अतीतको यात्रामा कति गुल्टनबाजी खाएर पोखरासम्म आइपुगे भन्ने कुरा प्रत्येक ढुंगाको अनुहारमा कोरिएको भान हुन्थ्यो। पृथ्वीनारायण क्याम्पस नजिकैको बगरमा टुक्रुक्क बसेको २५ मिटर व्यास र ३००० टनभन्दा गह्रौं भीमढुंगा देखेपछि मलाई त्यो गुल्टाउने काम भीमसेनकै थियो होला भन्ने लागेको थियो। माछापुच्छ्रे हिमालको चट्टानलाई गुल्टाएर पोखरा पुर्‍याइदिने त्यो दैविक शक्तिप्रति हामी मानिसले झुक्नै पर्छ।

आजको माग

पोखरामा सेती र काली नदी आ–आफ्नै कथा, शान र शक्तिका साथ बगिरहेका छन्। हिउँ पग्लेर आएको आलो पानी सेतो चुनढुंगाका कण बोकेर हिंडेको हुन्छभने काली नदीको पानीले भूमिगत कालो माटो। अर्मलावासीले जमीनमा भ्वाङहरू देख्नुभन्दा केही दिन पहिले काली नदीले रङ फेरेको देखेका थिए। किन एक्कासि पानी कालो भयो, उनीहरूले बुझेका थिएनन्।

पोखरा उपत्यकामा कालीको हैन, सेतीको स्वरुप कौतुकमय छ। सेती नदीले जमीनलाई गहिरै काटेर अचम्म–अचम्मका गल्छीहरू बनाएको छ। लाग्छ, गल्छी काट्ने काममा सेतीलाई अरू कसैले भेट्दैन। सराङकोट र काहुनकोट डाँडाको बीचमा सेती नदीले बनाएको गल्छी अति रमणीय छ। पोखरा बजारैनिरको सेती गल्छी त ९५ मिटर अर्थात् झ्न्डै एक किलोमिटर गहिरो छ। त्यहाँ पोखरा उपत्यकाको सतही भूबनोटको स्वरुप प्रष्ट देखिन्छ। रोडा–ढुंगा, गेग्रान, बालुवा र माटोसँग जमेर बनेको विशाल जमोठलाई सेतीले ब्लेडले झैं काटेर लगेको हेर्दा प्रकृतिको त्यो क्रीडा बुझिनसक्नु देखिन्छ।

रामघाटनिर सेती नदी पुनः ह्वाङ्गै प्रकट हुन्छिन्। त्यहाँका फराकिला गरा, मैदान र बगरहरूले पोखराको भूस्वरूप कसरी निर्माण भएको रहेछ भनेर देखाउँछन्। त्यसको लगत्तै सेती नदी भूमिगत हुन्छिन् र विलाउँछिन्। सेतीमाथि प्रकृतिले नै ढुंगेसाँघु थापिदिन्छ। जस्तो ठाउँ, उस्तै नाउँ। कति बाठा हाम्रा पूर्वजहरू!

पोखराको अर्को विलक्षण स्वरुप पाताले छाँगोमा देखिन्छ, जहाँ फेवातालको पानी छाँगो बनेर पातालमा पोखिन्छ। अचेल पाताले छाँगोले केही विकासे नाम पनि पाएको छ– देविज् फल, डेभिडस् फल, नमालुम के के फल हो। सबभन्दा उपयुक्त नाम चाहिं पाताले छाँगो नै हो। त्यसले पोखराको भूस्वरुप र भूमिगत जलको प्रवाह बोध गराउँदछ। कवि रमेशको जलघोडाका टापहरूको आवाज हामीले पाताले छाँगोमा पनि सुन्न सक्नुपर्छ।

चित्रमय पोखराको विचित्र स्वरूप यहाँका गुफा पनि हुन्। जस्तो– चमेरे गुफा र महेन्द्र गुफा। चमेराहरू गुफामा गुँड लगाउँछन्। अँध्यारोले तिनलाई छेक्दैन। भूमिगत पानीले चुनढुंगालाई खियाउँदै, अनेकौं बान्कीका बुट्टा कोर्दै विचित्र–विचित्रका रोमाञ्चक गुफाहरू बनाउँछ। कुनै प्राकृतिक प्रकोपको संकेत भयो भने सबभन्दा पहिले चमेराहरू भाग्न थाल्छन्। विपत्तिको संकेत चमेरोले दिन्छ, महेन्द्र उडेर आउँदैन महेन्द्र गुफामा।

पोखरा वास्तवमा पोखरीहरूको राजधानी पनि हो। त्यसैले यहाँका माछा, माझी, ताल र जालको कथा धेरैले बुनिरहेका हुन्छन्। फेवाताल सबभन्दा प्रिय र प्रसिद्ध छ। हर्पन खोला थुनिएर ताल जम्न गएको छ। रूपाताल र वेगनास ताल पनि नदी थुनिएर बनेको विशेषज्ञहरूको भनाइ छ। नदीहरूका बाटो छेक्न आउने ढुंगा, गेग्रान र चट्टानहरू हिमाली क्षेत्रबाट ओइरिएको विश्वास गरिन्छ। वस्तुतः सम्पूर्ण पोखरा उपत्यकाको सतही जमीन माछापुच्छ्रे र अन्नपूर्ण हिमालतिरबाट ओइरिएर आएका ढुंगा, पत्थर, गेग्रान र बालुवाबाट निर्माण भएको छ। सतहमुनि भूमिगत पानीको चलखेल भई नै रहन्छ। त्यसको लेखाजोखा गर्नु आजको माग र आवाज हो।

कोमल, संवेदनशील पोखरा

पोखरा वरपरका डाँडाहरूमा मात्र साल, चिलौने आदिका वन भेटिन्छ। यो उपत्यका त वास्तवमा प्राकृतिक सिरुवारी हो। यो उपत्यकाको निर्माण ६०० वर्ष पहिले मात्र भएको भौगोलिक एवं भूगर्भिक मान्यता छ। पोखरा उपत्यकाको मौलिक एवं आधिकारिक जानकारीको रूपमा स्वर्गीय डा. हर्क गुरुङले ‘पोखरा उपत्यका’ शीर्षकको विद्यावारिधि शोध सन् १९६५ मा बेलायतको एडिनवरा विश्वविद्यालयलाई बुझ्ाएका थिए। माछापुच्छ्रे र पोखरा बजार १८ माइलको दूरीमा रहेको डा. गुरुङले देखाइदिएका हुन्।

तर, प्रत्येक एक माइलमा ११०० फीट उचाइ कम हुन्छ अर्थात् भूधरातल ज्यादै भिरालो छ र माछापुच्छ्रेतिरको भूस्खलन थोरै समयमै पोखरामा ओइरिन्छ। हिमनदी र हिमताल विस्फोटनका विभिन्न घटनाक्रममा पानीको बहावसँगै बगेर आएका गेग्रान, ढुंगा र विभिन्न चट्टानबाट पोखरा उपत्यकाको भूसतह बनेको हो। अर्थात्, काठमाडौं जस्तो ताल सुकेर उपत्यका निर्माण भएको हैन। काठमाडौं उपत्यका जस्तै लागे पनि पोखरामा यत्रोविधि ढुंगा कहाँबाट आए? भन्ने प्रश्नको उत्तर यो तथ्यले दिन्छ।

ज्याक आइभस् र ब्रुनो मेसर्लीको पुस्तक हिमालयन डाइलेमा (सन् १९८९) का अनुसार, हिमाली क्षेत्रको सबभन्दा ठूलो हिमताल विस्फोटनको घटना लगभग ६०० वर्ष पहिले भयो। त्यसले माछापुच्छ्रे हिमालतिरबाट बगाइल्याएको ५.५ घनकिलोमिटर गेग्रान पोखरामा थुपारिदियो। यस्तै, प्रदीप मूल, समज्वल बज्राचार्य र शरद जोशीको अध्ययन अनुसार, लगभग ५०० वर्ष पहिले माछापुच्छ्रेतिरको हिमताल फुट्दा पोखरामा ५० देखि ६० मिटर बाक्लो गेग्रान जम्यो। यसबाट बुझिन्छ, एउटै प्राकृतिक परिघटनाबाट पोखरा बनेको हैन। हिमाली क्षेत्रबाट बारम्बार बगिआएका पत्थर पोखरा उपत्यकामा थुप्रिने गर्दछ। विभिन्न अनुसन्धानका विभिन्न अनुमान छन् र तिनले पोखराको वर्तमान स्वरूप धेरै पुरानो नभएको बताउँछन्।

पोखराको भूगोल, भूस्वरूप र भूगर्भलाई नियाल्ने वैज्ञानिक एवं प्राविधिकहरूका अध्ययन–अनुसन्धानले भनेका कुरालाई बेवास्ता गर्दै विकास निर्माणका वेगलाई बेलगाम छोडिदियो भने अर्मलाको व्यथा पोखराका अरू ठाउँमा पनि बल्झ्न सक्छ। अर्मलाको सन्दर्भमा प्राध्यापक कृष्ण केसी, भूगर्भविद् लीलानाथ रिमाल, अच्युत कोइराला लगायतको सुझावलाई वेलैमा पालना गर्नुपर्ने भएको छ। साथै, पोखराको सुरक्षामा पानीको प्रदूषणलाई पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। अम्लीय पानीले चुनढुंगालाई सहजैसँग पगालिदिन्छ।

औद्योगिक निष्काशनको पानी जमीनको सतहबाट सजिलै भूमिगत हुने अवस्थामा अझ् खतरनाक छ। प्रदूषित वायुको अम्लीय पदार्थ पनि वर्षाको पानीसँग जमीनभित्रै पुग्छ। सुन्दर पोखराको सुरक्षामा वातावरणीय पक्षलाई सबभन्दा अगाडि सारेर मात्र विकास–निर्माण गरिनुपर्छ। वातावरणीय मापदण्ड कायम भएन र अनियन्त्रित निर्माणको क्रम थामिएन भने आफू बसेको हाँगाको फेद आफैं काट्ने कालिदासको कथा पोखरामा चरितार्थ हुनेछ।

सौन्दर्यको दृष्टिले हीराको टुक्रा हो पोखरा। तर हीरा जस्तो साह्रो छैन पोखरा। यसको धरातल कोमल, संवेदनशील छ। ५/६ सय वर्ष पहिले मात्र जमेको यसको धरातलमा वन–वनस्पति पनि राम्रोसँग हुर्कन नपाउँदै कंक्रिट उमारिएको छ। फेवातालमा ऐना हेरी बस्ने माछापुच्छ्रेलाई वेलाबखत बादलले छेक्ने गरेकोमा ठूल्ठूला भवनले बाह्रै काल छेक्न थालिसक्यो। पोखराको भार क्षमता विचार नगरी जथाभावी भार थप्दै जाने हो भने वातावरणीय सन्तुलन कायम हुन नसकेर प्रलय हुने पक्का छ।

प्राकृतिक प्रलयको कुनै भर–ठेगान हुँदैन भनेर विगत वर्षको सेती बाढीले प्रष्ट्याइसकेको छ। मानव बस्ती नबसेको अवस्थामा प्राकृतिक प्रकोपले आफ्नै व्यवस्था गर्छ, जस्तो– ६०० वर्ष पहिले गर्‍यो। हामीले सुन्दर पोखरा उपत्यका पायौं। तर गत वर्ष माछापुच्छ्रेको आसपासमा भएको गडबडीले सेतीमा एक्कासि बाढी आउँदा बस्ती–बजार बगायो, जनधनको ठूलो क्षति भयो। केही पर्यटक र विद्यार्थी समेत बेपत्ता भए।

प्रकृतिको फेरबदलमा मानवीय क्षति हुन नपाओस् भनेर गम्भीर हुने वेला आएको छ– पोखरा उपत्यकामा। अब प्राकृतिक प्रकोपका जोखिम क्षेत्रहरूलाई वैज्ञानिक नक्सांकन गरेर सोही अनुरूप मानव क्रियाकलापलाई नियन्त्रण र नियमन गर्नुपर्छ। पूर्व तयारीका विधिसम्मत योजनाहरूलाई सबैले पालन गर्नुपर्छ। मानवीय कारणले दैवी प्रकोप प्रकट नहोउन् भन्नेमा सबै चनाखो हुनुपर्छ। बूढा त मरे–मरे तर काल पल्कियो भने के गर्ने? पोखरालाई अर्मलाको सन्देश यही हो।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...