अर्थ/बजारशुक्रबार, मंसिर २८, २०७०
निगमको सुधारका लागि अप्रिय निर्णय हुन सक्छः मन्त्री कोइराला
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले पेट्रोलियम पदार्थलाई राजनीतिको साधन बनाइएकाले समस्या आएको बताएका छन् । वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका कोइरालाले पेट्रोलियम पदार्थमा व्यवसायिकता भन्दा पनि राजनीतिक छिराइएकाले दुर्गति भोग्नुपरिरहेको बताए ।
२८ मंसीरमा बसेको वाणिज्य तथा आपूर्ति मन्त्रालयको चौमासिक समीक्षा बैठकमा उनले आयल निगमको सुधारका लागि मूल्य समायोजन गर्नुपर्नेमा जोड दिए । “कि ग्याँस सिलिण्डर बेच्न बन्द गर्नुपर्यो, कि मूल्य समायोजन गर्नुपर्यो,” उनले भने, “एउटै वस्तु व्यापार गर्ने निजी क्षेत्र फाइदा कमाउने, त्यही वस्तु बेच्ने सरकारी संस्था थला पर्ने, यसको आन्तरिक मूल्यांकन गरी छिनोफानो गर्न जरुरी छ ।”
उनले आयल निगमको भविष्यका लागि सरकार जस्तो सुकै अप्रिय निर्णय गर्न पछि नपर्ने बताए । “गरिबी, दुखी जनताले तिरेको राजस्वलाई न्याय गर्न पनि कठोर निर्णय लिनुपर्ने अवस्था आउन सक्छ,” उनले भने ।
उहाँले बजेटले सम्बोधन गरेका विषय कार्यान्वयन गर्न भन्दै पैसा अपुग भए तत्काल माग्न आग्रह गरे । जनताको दैनिक जीवनसँग सरोकार राख्ने सरकारी निकायहरुलाई परिणाममुखी सेवा दिन निर्देशन दिँदै उनले बजार अनुगमनलाई मौसमी नबनाउन सल्लाह दिए ।
उनले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन उत्पादक तथा निर्यातकर्ताहरुलाई सहुलियत दिनुपर्ने आवश्यकता रहेको भन्दै यसतर्फ वाणिज्य प्रशासनको तदारुकता जरुरी रहेको स्पष्ट पारे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
