थप समाचारशुक्रबार, मंसिर २८, २०७०
पतिले छाडेपछि… (फोटो फिचर)
शब्द तस्वीरः कमल रिमाल
विराटनगरको सिटी गोल्ड सेन्टरका संचालक मनिष साहकी पत्नी बबिता खान समेत नपाउने अवस्थामा रहेको बताउँछिन् । विराटनगरमा तीन वटा घर भए पनि एउटा कोठामा खुम्चिएर बसेकी उनीसँग छोरीको स्कूल शुल्क तिर्ने पैसा समेत छैन ।
भारतको बिहार छपरा माइती भएकी बबिता सन् २००७ मा विवाह भएको एक वर्षमा छोरी जन्मिएपछि पति र परिवारले दुःख दिन थालेको बताउँछिन् । १५ लाख भारु दाइजो दिएर विवाह गरेकी उनीसँग पति र परिवारले दाइजो कम भयो भन्दै दुःख दिन थालेपछि माइतीबाट अनेकौं पटक पैसा ल्याएर दिइन् । धेरै पैसा दिनु परेको पीरले बुबाको हृदयघात भएर मृत्यु भएको उनको भनाइ छ । उनका पति मनिष अहिले अर्कै युवती लिएर भारतको सिलिगुडी बस्न थालेका छन् ।
एबीसी नेपाल मोरङकी अध्यक्ष विष्णु शर्माका अनुसार, बबिता बस्ने कोठामा परिवारले सीसीटीभी क्यामेरा राखेको छ, उनको गतिविधि नियाल्न । बबितालाई भारत पठाउन सहयोग गरे संस्थालाई रु.१५ लाख सहयोग दिने लोभ मनिषको परिवारले दिएको बताउने विष्णु भन्छिन्, “बबिताका तर्फबाट जिल्ला अदालतमा मानाचामल र अंश मुद्दा दर्ता गराएका छौं ।”
पति भेषराज सिवा बेपत्ता भएपछि र परिवारले घरबाट निकालिदिएपछि भोजपुर दिङ्ला माइती भएकी चण्डिका सिवालाई पनि सन्तान हुर्काउन समस्या परेको छ । पहिलो पति शान्तिराम परियारको मृत्यु भएपछि दुई सन्तान हुर्काउने खर्च जुटाउन मलेसिया पुगेकी उनलाई त्यहीं भेटिएका भेषराजसँग विवाह गरेकी थिइन् । छोरी जन्मेपछि ‘पोइ टोक्ने आईमाइ’ भन्दै जेठाजुले कुटेर सुत्केरी भएको १८ दिनमा घरबाट निकालिदिएको उनी बताउँछिन् । धनकुटा, धरान र मोरङको इन्द्रपुरमा घर भएका भेषराजले विराटनगरमा लिइदिएको डेरामा अहिले उनको जिन्दगी चलिरहेको छ । पतिले छाडेर हिंडेपछि छिमेकी र घरबेटीसँग मागेर खाइरहेको बताउने उनको पहिलो पतिबाट जन्मिएका दुई सन्तान विदेशीको सहयोगमा पढ्दैछन् ।
लागूऔषध खाँदै पिट्ने पहिलो पतिलाई छाडेर टोलकै सुरज महतोसँग विवाह गरेकी विराटनगर–७ की पूजा कामतको पनि पतिले छाडेपछि अरूको घरमा भाँडा माझेर गुजारा चलाउनुपर्ने स्थिति आएको छ । पहिलो पतिबाट जन्मिएका ८ वर्षका छोरालाई पहिले स्वीकारेका सुरज अहिले बेपत्ता छन् ।
चार वर्षअघि अशोक साहसँग विवाह गरेकी विराटनगर–७ की पार्वती साह पतिको दिनहुँको पिटाइबाट आक्रान्त छिन् । पतिले तीनवर्षे छोरी आरतीको देब्रे हात भाँचिदिएको बताउने उनी छुट्टै बस्न चाहन्छिन् । यसअघि आरतीको दाहिने हात पनि अशोकले भाँचिदिएका थिए । आरतीको उपचारमा एबीसी नेपाल र बालकल्याण समितिले सहयोग गरिरहेको छ भने अशोकलाई प्रहरीले पक्रेर मुद्दा चलाएको छ ।
भारु १० लाख दाइजो दिएर २०६१ मा विराटनगर ७ का कम्प्युटर इन्जिनियर रञ्जित गुप्तासँग विवाह गरेकी भारतको छपरा माइती भएकी रीता रौनियार पनि पतिले अर्काे विवाह गरेपछि पीडित बनेकी छन् । दाइजो नपुगेको भन्दै यातना दिन थालेपछि वर्षैपिच्छे भारु एक लाख ल्याउँदै दिने गरेको बताउने उनी पतिले नचाहेकोले सन्तान पनि नभएको बताउँछिन् । दोस्रो विवाह गरेका मञ्जितले कान्छी पत्नीलाई मानो चामल मुद्दा दिन लगाएको र अदालतले पनि उनीहरूकै पक्षमा फैसला गरेकाले रीताले न्याय पाउन गाह्रो परेको अधिवक्ता कविता बस्नेतको भनाइ छ । कविता भन्छिन्, “रीतालाई हामीले पुनरावेदन अदालतमा मुद्दा दिन लगाएका छौं ।”
एबीसी नेपाल विराटनगरका अनुसार यो वर्षको पहिलो पाँच महीनामा घरेलु हिंसामा परेका ४३ जनाले अदालतमा मुद्दा दिएका छन् । तीमध्ये माना चामल र अंशका ३२ मुद्दा छन् ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
