अर्थ/बजारसोमबार, साउन ८, २०६९
चालु आर्थिक वर्षमा ७० मेगावाट बिजुली थप हुने
ऊर्जा मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा साना तथा ठूला आयोजनाहरुबाट थप ७० मेगावाट बिजुली थप हुने भएको हो । सत्तरी मेगावाट थप हुँदा जडित क्षमता ७८० मेगावाट हुने भएको छ ।
मन्त्रालयका सचिव हरेराम कोइरालाका अनुसार मन्त्रालयले तयार पारेको वार्षिक कार्यक्रमअनुसार राष्ट्रिय प्रसारणमा ७० मेगावाट बिजुली थप भए पनि राष्ट्रिय आवश्यकता पूरा नहुने भएको छ । चालु आर्थिक वर्षमा ३० मेगावाटको चमेलिया १०-१० मेगावाटका सिपि्रङ र तल्लोमोदी आठ मेगावाटको आखु ४।५ मेगावाटको विजयपुर र ५ मेगावाटको सिउरीबाट विद्युत् उत्पादन हुनेछ ।
यसैगरी देशका विभिन्न स्थानबाट साना आयोजनाहरुबाट थप विद्युत् उत्पादन भएर सो परिमाण पूरा हुने बताइएको छ । चमेलिया आयोजनाको सुरुङमा समस्या आएर निर्माण प्रभावित भए पनि यो आर्थिक वर्षको अन्त्यसम्म सो आयोजना पूरा हुने मन्त्रालयको दाबी छ । राष्ट्रिय प्रसारण प्रणालीमा ७० मेगावाट थप भए पनि लोडसेडिङमा भने कमी नआउने भएको छ ।
चालु आवमा विद्युत्कॊ माग बढेर एक हजार १६३ मेगावाट पुग्ने प्रक्षेपण नेपाल विद्युत् प्राधिकरणले गरेको छ । वर्ष दिनमा नै ३८३ मेगावाट बिजुली आपूर्ति कम हुने बताइएको छ ।
चमेलिया विद्युत् प्राधिकरणले निर्माण गरिरहेको छ भने बाँकी सबै आयोजना निजी लगानीमा निर्माणा भइरहेका छन् । चालु आवमा थप तीन लाख ३५ हजार घरधुरीलाई विद्युत् सेवा पुर् याउने महत्वाकाँक्षी योजना अगाडि सारिएको छ ।
हाल १४५ मेगावाट बिजुली आयात भइरहेको छ । प्रसारणलाइन सुदृढीकरण गरेर भारतबाट थप बिजुली आयात गर्ने सरकारले बताउँदै आएको छ । यसैगरी लोडसेडिङ कम गर्नका लागि प्राधिकरणले सोलार र बायोमास जस्ता वैकल्पिक स्रोतबाट उत्पादन हुने बिजुलीसमेत खरिद गर्ने योजना बनाएको छ ।
वि.सं. २०७१ चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका तर आर्थिक सङ्कटबाट निर्माण प्रभावित भएका निजी लगानीबाट निर्माण भइरहेका जलविद्युत् आयोजनालाई सहुलियत दिन थालिएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
