रमझमआइतबार, मंसिर ३०, २०७०
किम्फ सकियो, मेक्सिकन फिल्म पहिलो
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) २०१३ मा मेक्सिकन फिल्म पहिलो भएको छ । काठमाडौंमा २६–३० मंसीरमा भएको किम्फमा २० देशका ४७ फिल्म (डकुमेन्ट्री, सर्ट फिल्म, फिक्सन, एनिमेसन र प्रयोगात्मक)लाई पछि पार्दै मेक्सिकन फिल्म ‘नो प्लेस इज फार अवे’ पहिलो भएको हो ।
मिचेल इबाभेनले निर्देशन गरेको सो फिल्मले मेक्सिकोको पहाडी इलाकामा पर्यटनले पारेको असरको विषय समेटेको छ । प्रतियोगितामा स्वीट्जरल्यान्डको ‘ब्रेथिङ द स्मेल अफ द स्काई’ दोस्रो र नेपालको हिमाली भागमा हेलिकोप्टरद्वारा गरिने उद्धारको विषयमा बनेको ‘हेलिकोप्टर रेस्क्यू इन द हिमालय’ तेस्रो भयो ।
पहिलो हुने फिल्मले १५ सय, दोस्रोले हजार र तेस्रोले पाँच सय अमेरिकी डलर पुरस्कार पाएका छन् । प्रतियोगितामा ‘कमलहरी’ फिल्मले दर्शक छनौटको अवार्ड पाएको छ । नेपाल पानोरामातर्फ ‘चेजिङ रेन्बो’ पुरस्कृत भयो ।