खेलकुदमंगलबार, पौष २, २०७०

सोमपालको भिसा आएन

हिमालखबर

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनौट तयारीका लागि नेपाली राष्ट्रिय टीम श्रीलंका प्रस्थान गरेको छ । न्यूजिल्याण्डमा २९ पुसदेखि हुने छनौट खेल्न अभ्यासका लागि नेपाली टीम २ पुसमा श्रीलंका हिडेको हो ।

कप्तान पारस खड्काको नेतृत्वमा गएको टीमसँगै पहिलो पटक सिनियर टोलीमा परेका सोमपाल कामी भने जान पाएनन् । उनको भीसा नआएकाले सँगै जान नपाएको नेपाल क्रिकेट संघ (क्यान) का महासचिव अशोकनाथ प्याकुरेलले हिमालखबरलाई बताए । प्याकुरेलले भने, “सोमपाल अब ३–४ दिनपछि मात्रै श्रीलंका जानेछन् ।”

यसअघि यु–१९ टीमबाट खेल्दै आएका सोमपालले १९–२२ मंसीरमा कीर्तिपूरमा भएको जर्नी टु वल्र्डकप प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि सिनियर टीममा समावेश गरिएको थियो । सो प्रतियोगिताका चार खेलमा उनले १० विकेट लिएका थिए ।

राष्ट्रिय टीम १० दिन श्रीलंका रहँदा सोमपालले पनि पछिल्ला अभ्यास खेल्ने क्यानका महासचिव प्याकुरेलले बताए । नेपाली टीमले त्यहाँ ए लेभल खेल खेलेका खेलाडी सम्मिलित टीमसँग अभ्यास खेल्ने उनले जानकारी दिए । प्याकुरेलका अनुसार नेपालले त्यहाँ पाँच वटा अभ्यास खेल खेल्नेछ र त्यसपछि नेपाली टीम सिधै न्यूजिल्याण्ड जानेछ ।

न्यूजिल्याण्डमा २९ पुसदेखि १८ माघसम्म आईसीसी एकदिवसीय विश्वकपको क्रिकेट छनौट प्रतियोगिता हुँदैछ । छनौट अघि नेपालले २६ पुसमा नामिबियासँग र २७ पुसमा केन्यासँग अभ्यास खेल खेल्नेछ ।

छनौट खेलमा शीर्ष दुईमा रहने टीमले सन् २०१५ मा न्यूजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गर्ने वान डे विश्वकपमा सहभागिता जनाउनेछन् भने शीर्ष ४ भित्र अटाउने टीमले एक दिवसीय मान्यता पाउनेछन् ।

एकदिवसीय विश्वकप क्रिकेट छनौट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय टीमका खेलाडीहरु:
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उप कप्तान), शरद भेषवाकर, सोमपाल कामी, शक्ति गौचन, वसन्त रेग्मी, पृथु बास्कोटा, विनोद भण्डारी, प्रदीप ऐरी, अनिल मण्डल, सागर पुन मगर, जितेन्द्र मुखिया, महेश क्षेत्री, सुवास खकुरेल, अविनाश कर्ण ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...