समाचारबुधबार, पौष ३, २०७०

शहरभर आगोको गोला

डम्बरकृष्ण श्रेष्ठ

राजधानी काठमाडौंका बासिन्दाले आफूहरू व्यापक विनाशको कारण हुनसक्ने पेट्रोलपम्प र ग्याँस डिपोरूपी बमहरूसँगै बसिरहेको ख्याल गरेका छैनन्। चक्रपथभित्रका कुमारीपाटी, लगनखेल, पुल्चोक, कालीमाटी, टेकू, त्रिपुरेश्वर, बागबजार, बानेश्वर, शान्तिनगर लगायतका घनाबस्तीका २०० देखि ५०० मिटर दूरीमा रहेका पेट्रोलपम्पहरू भने सम्भावित दुर्घटना कुरेर बसिरहे जस्ता देखिन्छन्।

सोल्टीमोड, कालीमाटीदेखि बागबजार र पुल्चोकदेखि लगनखेलभित्र रहेका पेट्रोलपम्प।

शहरमा आगलागी हुँदा प्रथमतः सबैको ध्यान घर–छिमेकका ग्याँस सिलिण्डर र भण्डारण गरिएका पेट्रोलियम पदार्थहरूमा जान्छ। शहरको एउटा घरमा कम्तीमा चार परिवार बस्छन् र एक परिवारसँग कम्तीमा दुइटा ग्याँस सिलिण्डर हुन्छ। आगलागी भएको घरसँगै पेट्रोलपम्प या ग्याँसडिपो पर्‍यो वा पेट्रोलपम्प र ग्याँस बिक्री डिपोमै आगलागी भयो भने के होला? जुद्ध वारुणयन्त्र, काठमाडौंका प्रमुख किशोरकुमार भट्टराई भन्छन्, “त्यो अवस्थामा उपत्यकामा भएका दमकलहरूले केही गर्न सक्दैनन्।”

भट्टराईका अनुसार, राजधानीमा ५० प्रतिशत आगलागी ग्याँस चुहावट र ४० प्रतिशत विद्युत् सर्किटबाट हुने गरेको छ। पेट्रोल–ग्याँस डिपोमा आगो लागेमा नियन्त्रण गर्ने ड्राई केमिकल पाउडर (डीसीपी) र सीओटु ग्याँसका केही सिलिण्डर मात्र छन्, जुद्ध वारुणयन्त्रसँग। आपतमा सबैले सम्झ्ने जुद्ध वारुणयन्त्रसँग त सानातिना आगलागी नियन्त्रण गर्न पर्याप्त दमकल र जनशक्ति पनि छैन। अर्थात्, राजधानीका घनाबस्तीका पेट्रोलपम्प र ग्याँसडिपोहरूमा आगलागी भयो भने त्यसलाई नियन्त्रण गर्ने क्षमता कसैसँग छैन।

दमकलकै कुरा गर्ने हो भने काठमाडौंमा पाँच, ललितपुरमा दुई र भक्तपुरमा एउटा मात्र दमकल चालु अवस्थामा छन्। यसबाहेक नेपाली सेना, नेपाल प्रहरी र पशुपति विकास कोषसँग एक–एक वटा दमकल छ, तर प्रहरी र कोषको दमकल भरपर्दो छैन। सेनासँग अत्याधुनिक दमकल छ, तर त्यो काठमाडौं विमानस्थल बाहिर विरलै निस्कन्छ।

‘बम–बारुदका गोला’

१३६ वटा पेट्रोलपम्प भएको काठमाडौं उपत्यकामा नेपालका ५५ ग्याँस उद्योगमध्ये दुइटा छन्। तर, सबै ग्याँस उद्योगका बिक्री केन्द्र राजधानीका कुना–कुनामा छरिएका छन्। जुद्ध वारुणयन्त्रका पूर्व प्रमुख हरि बुढाथोकी यी पेट्रोलपम्प र ग्याँस उद्योगमा कथंकदाचित आगलागी भयो भने लाखौं हताहत हुनसक्ने बताउँछन्।

ललितपुर बालकुमारीस्थित पशुपति अटो ग्याँस प्रालि। तस्वीर: मीनरत्न बज्राचार्य

उपत्यकामा नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थ लिनेमध्ये ९७ पम्प पेट्रोलियम डिलर एसोसिएसनमा आवद्ध छन्। एउटा पम्पमा पेट्रोल, डिजल र मट्टीतेलको १६ हजारदेखि ४० हजार लिटरसम्मका अलग–अलग ट्याङ्क हुन्छ। यी बाहेक प्रहरीको दुई, सेनाको दुई, साझा र सेनाको एक पम्प चालु छ। विभिन्न राजदूतावास र अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाका पेट्रोलियमका आ–आफ्नै भण्डारण छन्। यसैगरी, आफ्नै ठूलो भण्डारण भएको अर्को निकाय नेपाल वायु सेवा निगम हो।

ग्याँस उद्योग वा पेट्रोलपम्पमा आगो लागेर जमीनमुनिको ट्याङ्क विस्फोट भयो भने त्यसबाट पुग्नसक्ने क्षति अकल्पनीय हुने बताउने गृह मन्त्रालय विपत् व्यवस्थापन विभागका प्रमुख प्रदीप कोइरालाले त्यसको रोकथाम–नियन्त्रणको दायित्व उद्योग वाणिज्य मन्त्रालय, भौतिक योजना मन्त्रालय र नेपाल आयल निगमको भएको बताए। उनका अनुसार, पेट्रोलपम्प सञ्चालन अनुमति सडक विभाग र आयल निगमले दिने गरेकाले अनुगमनको जिम्मेवारी तीसँग सम्बन्धित मन्त्रालयको हुन आउँछ। घनाबस्तीमा निकै कम दूरीमा धेरै पेट्रोलपम्प हुनु निकै खतरनाक भएको बताउँदै कोइराला भन्छन्, “यी पम्प र डिपोहरू बम–बारुदको गोला भएका छन्।”

चक्रपथभित्र पेट्रोल र ग्याँसका ट्याङ्कर गुडाउनु पनि निकै खतरनाक भएको कोइरालाले बताए। लामो समय आयल निगमको गुणस्तर नियन्त्रण तथा अनुगमन विभागका निर्देशक रहेका भरतबहादुर केसी पेट्रोलपम्पहरूमा ‘फायर फाइटिङ इक्युपमेण्ट’ हरू पनि भरपर्दो नभएको बताउँछन्। ग्याँस बिक्री डिपोहरूमा त ‘सेफ्टी’ को सोचसम्म पनि देखिएको छैन। “ठूलो खतरा छ, व्यवसायीहरूको अनिच्छाले उपत्यकाका पम्पहरूलाई चक्रपथ बाहिर सार्ने सरकारी योजना पनि कार्यान्वयन हुन सकेन”, पूर्वनिर्देशक केसी भन्छन्।

घनाबस्तीभित्र रहेको कुमारीपाटीस्थित मच्छिन्द्र आयल स्टोर।

तर, आयल निगमका निवर्तमान प्रमुख सुरेशकुमार अग्रवाल भने पेट्रोलपम्पहरू शहरबीच भए पनि ट्याङ्की जमीनमुनि भएकाले डराउनु नपर्ने बताउँछन्। बरु पेट्रोलियम पदार्थ ओसार्दा र खन्याउँदा चाहिं खतरा हुने अग्रवालले बताए। “भारतको दिल्लीमा पनि पेट्रोलपम्पहरू शहरभित्रै छन्”, आयल निगमले घनाबस्तीका पम्पहरूले चाहेमा बाहिरका कुनै पनि स्थानमा सार्न सक्ने ‘स्किम’ उपलब्ध गराएको बताउँदै अग्रवाल भन्छन्, “बरु पेट्रोलपम्पहरू पर्खालभित्र छन्/छैनन्, तत्काल आगो निभाउने उपकरण र दक्ष कर्मचारीहरू तालीमप्राप्त छन्/छैनन् भनेर सुरक्षाको पूर्व तयारीको अनुगमनमा कडाइ हुनुपर्छ।”

उपत्यकामा रहेकामध्ये ९० प्रतिशत पेट्रोलपम्प घनाबस्तीमा छन्। १० वर्षअघिको मापदण्डमा खुलेका यिनीहरूमध्ये धेरैले कार्यालय भवन र पर्खालको मात्र नक्सा पास गरेका छन्। २०२८ सालअघिका कतिपय पेट्रोलपम्प वरपर पछि बस्ती विस्तार भएको हो। कामनपाको शहरी विकास विभाग अन्तर्गतको ‘डिजास्टर फोकल पर्सन’ रहेका इन्जिनियर वीरबहादुर खड्का भूकम्पीय जोखिममा रहेको राजधानीमा यी पम्पहरू बम जस्तै भएर बसेको बताउँछन्। यीमध्ये अधिकांश पेट्रोलपम्प आगो निभाउने स्प्रे, बालुवा र पानीविहीन छन्। भएका पनि काम लाग्ने छैनन्।

टरेको खतरा!

वायुसेवा निगमको हवाई इन्धन बोकेर रक्सौलबाट काठमाडौं हिंडेको भारतीय ट्याङ्कर २७ मंसीरमा धादिङको सडकबाट त्रिशूली नदीमा खस्यो। एकलास बगरमा खसेको उक्त ट्याङ्करको अघिल्लो भागमा आगो लागे पनि १२ हजार लिटर पेट्रोल रहेको मूल ट्याङ्क नफुट्दा चालक घाइते हुने बाहेक ठूलो क्षति भएन।

२०६४ माघको पहिलो साता बल्खुको पेट्रोलपम्प नजिकै सडकमा १८ टन ग्याँस बोकेको ट्याङ्कर पल्टियो। यो घटनालाई धेरैले सामान्य माने पनि जुद्ध वारुणयन्त्र काठमाडौंका तत्कालीन प्रमुख हरि बुढाथोकी भित्रभित्रै काँपेका थिए। किनभने, ट्याङ्करबाट ग्याँस चुहिएर आगो लागेको भए नियन्त्रणको कुनै साधन थिएन, उनीसँग। “नजिकै पेट्रोलपम्प, डेढ सय मिटरको दूरीमा ग्याँसडिपो अनि थुप्रै चिम्नीहरू थिए”, उनी सम्झ्न्छन् “त्यो ट्याङ्करबाट ग्याँस लिक भएको भए आधा काठमाडौं सकिन्थ्यो।”

जबरजस्ती उठाउन लागिएको उक्त ट्याङ्करलाई बुढाथोकीकै करबलले ग्याँस झिकेर मात्र पाँच दिनपछि उठाइएको थियो। त्यसवेला उनले गृहमन्त्रालय, आयल निगम, प्रहरी प्रशासन सबैतिर धाएर ग्याँस हावामा फैलिएर छरिंदै गए पूरै राजधानी जल्ने खतरा सम्झाएका थिए। ८ असोज २०४७ मा थाइल्याण्डको राजधानी बैंकक्को पेचाम्बरी रोडमा यस्तै ग्याँस ट्याङ्कर दुर्घटनामा परेर आगो लाग्दा ९० जनाको ज्यान गएको थियो, १२१ जना घाइते भएका थिए।

२०६२ मा मैतीदेवीको एउटा रङ पसलमा आगलागी हुँदा नजिकैको पेट्रोलियम डिपोले सबैलाई चिन्तित पारेको थियो, धन्न रङ पसलमै आगो नियन्त्रण गरियो। त्यसअघि २०६० मा तीनकुनेको वागमती पेट्रोलपम्पमा तेल खन्याउन आएको ट्याङ्करमै आगो लागेको थियो। त्यो वेला १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्करको आगो सय मिटर वरपर फैलिए पनि नजिकै घरहरू नभएकाले ठूलो क्षति भएन। तीन वटा मोटरसाइकल जलेको सो आगलागी नियन्त्रण गर्न उपत्यकाका ७ वटा दमकललाई एक घण्टा लागेको थियो।

वीरगंजबाट काठमाडौं जाँदै गरेको ग्याँस ट्याङ्कर २६ मंसीर २०७० मा धादिङको जोगिमाराको जवाङ खोलामा दुर्घटना भयो। दुर्घटनापछि ट्याङ्करमा आगो लागेको थियो। तस्वीर: विनोद श्रेष्ठ

कामनपाको भौगोलिक सूचना केन्द्र प्रमुख रहेको वेला त्रिभुवनमानसिंह प्रधानले २०५८ मा काठमाडौंको घनाबस्तीका १५ वटा पेट्रोलपम्पको अध्ययन गरेका थिए। उनको प्रतिवेदनमा एउटा पम्पबाट ५०० मिटरसम्म आगो फैलने र एक किलोमिटरसम्म पर्ने त्यसको असर क्षेत्र बढ्दै जाने उल्लेख छ। त्रिपुरेश्वर, टेकू, कालीमाटी, भद्रकाली, बानेश्वर लगायतका स्थानमा ५०० मिटर वा त्योभन्दा नजिक रहेका पेट्रोलपम्पमा यस्तो भवितव्य भयो भने पूरै शहरमा विनाश फैलिन सक्छ। “यस्तो खतराबीच पनि पेट्रोलपम्पहरूले ‘सेफ्टी’ मा ध्यान नदिनु अचम्मको विषय बनेको छ”, प्रधान भन्छन्।

नेपालमा प्राकृतिक प्रकोपको सम्भावित अध्ययन प्रशस्तै भए पनि मानव सिर्जित विनाशप्रति कमैले ध्यान दिएका छन्। यस्तो अवस्थामा त्रिभुवनमानसिंह प्रधानको अध्ययनले पनि महत्व पाएन। उनको प्रतिवेदनले ५०० मिटरको दूरीमा रहेका पेट्रोलपम्पहरूमध्ये कुनै एउटा आगलागीमा पर्‍यो भने त्यसबाट अर्को र फेरि अर्को पम्प हुँदै पूरै शहर आगोको लपेटामा पर्ने उल्लेख छ।

‘हामी केही गर्न सक्दैनौं’
उपत्यकाका तीन नगरमध्ये काठमाडौंमा पाँच, ललितपुरमा दुई र भक्तपुरमा एउटा दमकल चालु अवस्थामा छन् भने सेना, प्रहरी र पशुपति विकास कोषसँग एक/एक वटा दमकल छन्। जुद्ध वारुणयन्त्र कार्यालयसँग पेट्रोल र ग्याँसडिपोमा आगो लागेमा नियन्त्रण गर्ने केही मात्रामा डीसीपी र ७५ केजीको सीओटु ग्याँस सिलिण्डर मात्र छ। जसले पेट्रोलपम्प र ग्याँसडिपोमा आगो लागेमा निभाउनै सक्दैन। जुद्ध वारुणयन्त्र, काठमाडौंका प्रमुख किशोरकुमार भट्टराई भन्छन्, “पेट्रोलपम्प र ग्याँसडिपोमा आगो लागे हामी केही गर्न सक्दैनौं।”


थाइल्याण्ड घटनाले सिकाएको पाठ

२४ सेप्टेम्बर १९९० मा थाइल्याण्डको राजधानी बैंकक्स्थित पेचाम्बरी रोडमा ग्याँस बोकेको ट्रक दुर्घटनामा परेर आगो लाग्दा ९० जनाको ज्यान गएको थियो भने १२१ जना घाइते भएका थिए। सडकमा गुडिरहेका ४३ गाडी र छेउका ३८ घर–पसल जलेर खरानी भएका थिए। (हे. तस्वीर) सो घटनापछि थाइल्याण्डमा यस्तो आगो नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...