ब्लगबिहीबार, पौष ४, २०७०
मन्त्री–सचिवको तस्वीर मोह
पञ्चायतकालमा राजारानीका तस्वीर घरमा नराखे दण्डित भइन्छ भन्ने त्रासले भित्तामा राजा–रानीका तस्वीर झुण्ड्याउने धेरै निमुखाहरु थिए । कतिपयले चाहीं आफू सत्ता नजिक भएको देखाउन पनि घरमा राजा–रानीका तस्वीर झुण्ड्याउँथे ।
प्रविधिको जटिलता र अचेलजस्तो हात–हातै क्यामरा नहुँदा अन्य तस्वीर राख्न चाहनेहरुलाई पनि त्यो समय सहज थिएन । अहिले प्रविधिको विकाससँगै डिजिटल क्यामराले खिचेको फोटो केही सेकेण्डमै विश्वभर पुर्याउन सकिन्छ । अहिले राजा–रानी पनि ‘श्री ५’ बाट सामान्य नागरिक बनिसकेका छन् ।
तर, प्रविधि र राजनीतिमा आएको परिवर्तनले पनि सत्तामा रहनेहरुको मानसिकता भने परिवर्तन ल्याउन सकेको रहेनछ । डिजिटल जमानामा डिजिटल प्रबिधिबाटै आम नागरिकमाथि सत्ताले आफ्ना अभीष्ट लाद्ने रहेछ । प्रसंग लोकतान्त्रिक गणतन्त्र नेपालका मन्त्रालयहरुको हो ।
हरेकजसो मन्त्रालय र विभागहरुका आफ्ना वेबसाइट छन् । मन्त्रालयका योजना, कार्यक्रम, विभिन्न कागजात लगायतका सूचनाहरु घरमै बसेर इन्टरनेटबाट हेर्न पाउँदा आम नागरिकलाई सुबिधा भएको छ । तर, त्यो सुविधा उपभोग गर्न खोज्ने सबैले एकपटक ‘इरिटेट’ हुनैपर्छ । कारण, कुनै मन्त्रालयको वेबसाइट खोल्नसाथ सबैभन्दा पहिले मन्त्री र सचिबको तस्वीर झुल्किन्छ । विभागका साइटमासमेत महानिर्देशक र उपमहानिर्देशकहरु झुल्किन्छन् ।
मन्त्रालय र विभागको महत्वपूर्ण ‘होमपेज’ मा मन्त्री र सचिबको तस्वीर राखिनु विश्वव्यापी अनुभवका आधारमा सर्वथा नौलो हो । अन्य देशका कुनै पनि मन्त्रालयको साइटमा यस्तो देखिँदैन । तर, नेपालमा चाहिँ नेपाल राष्ट्र ब्याङ्क, सेना, प्रहरीले समेत आफ्ना प्रमुखहरुको फोटोलाई वेबसाइटको होम पेजमा सबैभन्दा महत्व दिएर राखेका हुन्छन् ।
सार्वजनिक संस्थानहरुले पनि यही सिको गरेका छन् । वेबसाइट भिजिट गर्नेहरुले आफ्नो कामसँग सम्बन्ध नै नभएका ती संस्थाका प्रमुखहरुको फोटो ‘दर्शन’ नगरी हुन्न । लाग्छ, ती निकाय नागरिकले तिरेको करमा होइन तिनै हाकिमहरुको निगाहमा चलेका छन् ।
कुनै पनि संस्था व्यक्तिभन्दा पनि प्रणालीबाट चल्छ । त्यहाँ व्यक्ति को हुन्छ भन्ने कुरा गौण हुन्छ र संस्थाले गर्ने काम तथा दिने सेवा महत्वपूर्ण हुन्छ । नेपालमा चाहिँ व्यक्तिगत चाकडीमा सबैको विश्वास अडिएकाले पनि हुनसक्छ, जिम्मेवारी र कर्तव्यलाई गौण बनाएर व्यक्तिलाई प्रधान बनाइएको छ ।
यतिसम्म कि राष्ट्रपति कार्यालयका सचिवले समेत केहि समय अघिसम्म कार्यालयको वेबसाइटमा राष्ट्रपतिसँगै आफ्नो तस्वीर राख्न लगाएका थिए ‘देशकै दोस्रो प्रमुख व्यक्ति आफैं हुँ’ जस्तो गरेर । धेरैले खिल्लि उडाएपछि उनले वेबसाइटबाट आफ्नो तस्बीर हटाउन लगाएका छन्, तर उपराष्ट्रपति कार्यालयका कामु सचिव हरिकुमार श्रेष्ठको हर्कत अहिले पनि त्यहि छ । हेरौं यो लिंक http://vpn.gov.np/index-en.html
मन्त्रालयहरुमा त कसले हाकिमको ठूलो फोटो राख्ने भन्ने प्रतिस्पर्धा नै छ । भारतमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालय बाहेक अरु मन्त्रालयका साइटमा मन्त्री÷सचिवको दर्शन गर्नुपर्दैन । मन्त्रीको एउटा लिंक राखेर उसका गतिविधि, भाषण तथा सम्पर्कबारे जानकारी दिइएको हुन्छ । तस्वीरको भद्दा प्रदर्शनी गरिएको हुँदैन ।
वेबसाइट ‘भिजिटर’लाई चाहिएमा ऊ त्यहि लिंकबाट मन्त्रीबारे सुचना लिन सक्छ । नचाहिए आफ्नो आवश्यक विवरण खोज्छ । सचिव कर्मचारी पद भएकाले उसका बारेमा त्यस्तो लिंक समेत राखिएको हुँदैन ।
नेपालकै पनि कुनै निजी कम्पनीको वेबसाइटमा समेत मालिक र लगानीकर्तालाई भन्दा त्यसको उत्पादन र सेवालाई नै प्राथमिकता दिइएको हुन्छ । बोर्ड अध्यक्ष र प्रमुख कार्यकारीको सन्देश राख्नुपरे छुट्टै लिंक हुन्छ । चाहनेले हेर्छन् ।
वेबसाइट खोल्ने वित्तिकै व्यक्तिको स्तुतिगान देख्नैपर्ने बाध्यता लादिएको हुँदैन ।
सरकारी कार्यालयका वेबसाइटमा हाकिमले आफ्नो तस्बीर राख्न लगाउनु गैरकानुनी नै नभए पनि नैतिकताको प्रश्न चाहिँ अवश्य हो । सार्वभौम नागरिकलाई सेवा प्रदान गर्न गठित निकाय–संस्थाहरुले गर्ने व्यवहारको प्रारम्भिक सूचक पनि होे ।
कुनै पनि संस्थामा को हाकिम छ भन्दा पनि त्यो संस्थाले कस्तो सेवा दिन्छ भन्नेमै आम नागरिकको चासो हुन्छ । तर, सेवा गतिलो र सर्वसुलभ भएन भने वेबसाइटमा राखिएका तस्वीर आम नागरिकको घृणा पोख्ने ठाउँ बन्नसक्छ । प्रविधिको युगमा प्रविधिकै प्रयोगमार्फत् सेवाग्राहीमा यस्तो ‘सामन्ती व्यवहार’ लाद्नु गणतन्त्र नेपालका नेता र कर्मचारीतन्त्रलाई सुहाउने कुरा हुँदै होइन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
