अर्थ/बजारआइतबार, पौष ७, २०७०
सुमार्गीले २३ अर्ब लगानी गर्ने
अजेयराज सुमार्गीले ७ पुसमा राजधानीमा पत्रकार सम्मेलन गरी आफ्नो कम्पनी मुक्तिश्री प्रालिको स्वामित्वमा रहेका विभिन्न परियोजनाहरुमा साढे २३ अर्ब लगानी गर्ने घोषणा गरेका छन् । टेलिकम, सिमेण्ट, जलविद्युत, होटल, सुपरस्टोर सहितका परियोजनामा लगानी गर्ने उनले बताए ।
सुमार्गीले राजधानीमा रु. ५ अर्ब लगानीमा पाँचतारे होटल स्थापना गर्ने बताए । ‘जग्गा खरिद भइसकेको छ, विदेशी चेनहरुसँग सहकार्यका लागि कुरा भइरहेकाले छिट्टै निर्माण शुरु गर्छौं,’ सुमार्गीले भने । सुमार्गीले मुक्ति श्री सिमेण्ट इन्ण्ड्रस्ट्रिजमा पनि ४ अर्ब लगानी गर्ने घोषणा गरेका छन् ।
सुर्खेतमा दैनिक १२०० मेट्रिक टन क्षमताको सिमेण्ट कारखाना स्थापना गर्न आवश्यक सर्वेक्षण सकिइसकेको छ । त्यस्तै, धादिङको आखुँखोला जलविद्युतमा रु. ५ अर्ब ५० करोड लगानी गर्ने सुमार्गीले बताए ।
नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) को सेवा विस्तार गर्न सुमार्गीले थप ६ अर्ब ५० करोड लगानीको घोषणा गरेका छन् । हालसम्म यसमा ७ अर्ब लगानी भइसकेको छ । टेलिकममा लगानीका लागि कम्पनीले ६५ मिलियन डलर विदेशी कम्पनी जोधर इन्भेष्टमेन्ट र एयरेबल कम्पनीबाट ऋण भित्र्याएको जनाएको छ ।
मुक्तिश्री अन्तर्गतको नेपाल इन्फ्रा प्रालिले काठमाडौं, चिवन, मकवानपुरसहितका स्थानमा सुपरस्टोर खोल्न रु. ३ अर्ब लगानी गर्ने बताइएको छ । सुमार्गीले यसअघि रु. १० अर्ब भित्र्याएको र आगामी परियोजनाहरुमा लगानीका लागि विदेशबाट थप रु. ८ अर्ब ल्याउने घोषणा गरे । तर, उनले सो रकम विदेशका कुन–कुन बैंक तथा लगानीकर्ताबाट कसरी ल्याउने भन्ने प्रष्ट पारेनन् ।
सुमार्गीको सम्पत्तिको स्रोत प्रष्ट छैन भने उनले छोटो अवधिमा ठूलो सम्पत्ति कमाएका छन् । उनी राजनीतिक नेतृत्वसँग अपारदर्शी सम्बन्ध भएको भनेर विवादास्पद छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
