अन्तर्वार्ता/विचारबुधबार, साउन १०, २०६९
तेज हराएका दाहाल
७ साउनमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अनुहार मलिन थियो । २-६ साउनसम्म काठमाडौंमा भएको पार्टीको विस्तारित बैठकको होहल्ला, त्यहाँ नेता र कार्यकर्ताबीच भएको हात हालाहाल, कुर्सी हानाहान र ज्यान जोगाउन प्रहरीको शरण लिनुपरेको घटनाले उनी थकित देखिन्थे । २ असार २०६३ असारमा प्रधानमन्त्री निवास बालुवाटारमा र्सार्वजनिक भएयता दाहाललाई सयौं पटक देखेकाहरुले उनको अनुहारबाट कान्ति उडेको पहिलो अनुभव गरे । र, महशुस गरे- नेपाली राजनीतिमा बारुदको धुवाँ उडाउँदै आएका दाहालको बहिर्गमन त्यही गतिमा हुँदैछ ।
पार्टी पक्तिबाट एक समय देवत्वकरण गरिएका दाहालले सायद सोचेका थिएनन्, एक दिन पार्टी कार्यकर्ताबाट कुर्सी प्रहार खेप्नुपर्नेछ । पाँच दिने भेलामा उनले पार्टी प्रमुख भएपछिका २२ वर्षा पहिलो पटक क्रान्तिलाई धोका दिएको सिधा आरोप खेपे, आर्थिक अनियमितता गरेको दोष धाने, सुविधाभोगी भएको लान्छना बोके । आक्रोशित कार्यकर्ताको मुख थुन्न उनले प्राडो गाडी र लाजिम्पाटको महल छाड्ने बाचा गर्नुपर्यो । ७ साउनको पत्रकार सम्मेलनमा उनी २०६३ मा बालुवाटार भित्रिएयता पहिलो पटक कोटबिना आए । आफूले चढ्ने गरेको प्राडो पनि त्यही दिन सहयोगी शिव खकुरेलमार्फ सरकारलाई बुझाए ।
गुमेको साख फिर्ता फर्काउन उनले यी र यस्ता अरु धेरै त्याग गर्न सक्लान् तर, के उनी सफल होलान् – ६ वर्ष शान्तिकालका उनका बोली र व्यवहारको विश्लेषण गर्ने हो भने उत्तर आउनेछ, सफल हुने छैनन् । सबैभन्दा ठूलो पार्टीका नेता भएकाले यो बीचमा पाठकले पत्रिकामा सबैभन्दा बढी उनैलाई पढे, सबैभन्दा बढी टेलिभिजनमा उनैलाई हेरे । यहाँनेर बिर्सन नहुने तथ्य के हो भने यो बीचमा सबैभन्दा बढी दोहोरो कुरा उनैले गरे । अघिल्लो दिनको आफ्नो भनाइ भोलिपल्ट आफैंले काटे । कहिले भारतलाई खुला चुनौती दिए, कहिले त्यही भारतलाई सबैभन्दा नजिकको मित्र भने । कहिले अरु सबैलाई भारतको दलाल भने त कहिले भारतीय दूतावासमा आफू गोप्यरुपमा सात पटक पसेको खुलासा गरे । आफ्नो लागि युद्धकालमा मर्न र मार्न तयार लडाकुहरुलाई नेपाली सेनामा समायोजन गराउने भन्दै पाँच वर्षम्म शिविरमा राखे ।
द्वन्द्वकालका दश र शान्तिकालका पाँच वर्षयुवाका लागि कति महत्वपूर्ण हुन्छ ? उनले कुनै वास्ता गरेनन् । राजनीतिक उद्देश्यका लागि राजनीतिक पार्टी संगठित लडाकु समूहको व्यावसायिक राष्ट्रिय सेनामा सामूहिक प्रवेश सम्भव छँदै थिएन, तर दाहालले लडाकुलाई त्यो सपना देखाए । अहिले उनी नै भनिरहेका छन्, सबै लडाकु स्वेच्छिक अवकाशमा जानेछन् । १५ वर्षखेर फालेका लडाकुको मनमा फेरि उनी पहिलेकै स्थानमा पुग्न सक्लान् त ?
यो ६ वर्षा ‘र्सवाहाराका नेता’ दाहालले जति सायदै कोही नेपालीले सुविधा भोगे । ‘तनाव हुँदा’ उनी नपुगेको काठमाडौं र वरिपरिका कुनै सुविधाजनक होटल र रिसोर्ट छैनन् । महँगो पलङमा सुते, महँगा कपडा लगाए, महँगा गाडीमा शयर गरे, महँगो भाडाको घरमा बसे । यसबीचमा काठमाडौंमा बनेका टावरहरुमा उनको लगानीको चर्चा चल्यो । ठूला सपिङ कम्प्लेक्सहरु उनकै लगानीमा खुलेका पनि सुनियो । अहिले सबैभन्दा धेरै नगद राखेका नेपालीमा उनैको नाम आउँदैछ । जे होस्, यस बीचमा दाहालले आफूलाई सबभन्दा ठूला नवधनाड्यका रुपमा उभ्याए ।
आफ्ना विरोधीहरुलाई बोल्नै दिनुहुन्न, पिट्नुपर्छ, काट्नुपर्छ र मार्नुपर्छ- दाहालले कार्यकर्तालाई दिएको शिक्षा यही हो । उनको निरंकुशतासँग उनकै राजनीतिक गुरु भनिएका मोहन वैद्यले व्रि्रोह गरेका छन्, पार्टी फोरेर । उनीबाट पटक पटक पीडित बनेका उपाध्यक्ष बाबुराम भट्टर्राई अहिले उनीसँग टक्कर गर्ने ‘मुड’ मा छन् । अनि कार्यकर्ता ? उनीहरुले त आगामी कदमको छनक विस्तारित बैठकमै दिइसकेका छन् । सायद, अब माओवादी कार्यकर्ता दाहालले ठूलो स्वर र आँखा कर्के पार्नासाथ टाउको निहुराउने अवस्थामा रहने छैनन् । किनभने, मृग ओरालो लागेपछि सबैबाट लखेटिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
