रमझममंगलबार, पौष ९, २०७०
इलमको डेब्यु
इलम निर्देशित चलचित्र रेड मनसुन ले काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) २०१३ मा (२९ मंसीरमा) धेरै प्रशंसा बटुल्यो। न्यूयोर्कको सारा लरेन्स कलेजबाट अभिनय र निर्देशनमा स्नातक उनी आफ्नो पहिलो फिचर फिल्म दर्शकको रूचिमा पर्ने विश्वासमा छन् ।
काठमाडौंका संघर्षशील युवा पात्रहरूको कथा बोकेको रेड मनसुन यसअघि २०१३ को सानजुआन फिल्म फेस्टिभल (पोइटारीको) र मुम्बई फिल्म फेस्टिभलमा सहभागी भइसकेको छ।
मूलधारका नेपाली चलचित्रमा हात हाल्नुअघि सन् २०१०–२०१२ को अवधिमा ओथेल्लो, अ भ्यु फ्रम दि ब्रिज, दि ग्लास मनेजरी, एक्जिट दि किङ, अ स्ट्रिटकार नेम्ड डिजायर जस्ता नाटक निर्देशन र अभिनय गरेका इलमले रेड मनसुन का लागि दुई वर्ष मिहिनेत गरेका छन् ।
मुम्बई फिल्म फेस्टिभलमा रेड मनसुन हेरेपछि बलिउड अभिनेत्री नन्दिता दासले दक्षिण एशियाली सिनेमामा परिवर्तनको बहसलाई यसले बल प्रदान गरेको प्रतिक्रिया दिएकी थिइन्। नन्दिताले भनेकी थिइन्, “चलचित्रले समाजमा विद्यमान शक्ति र सम्बन्धहरूको देखाउनै पर्ने कथा प्रस्तुत गरेको छ जहाँ पुराना अनिश्चितताहरू विलाएर जान्छन्।”
यो चलचित्रमा हिमाली दीक्षित, सन्दीप क्षेत्री, सरिता गिरी, सृष्टि घिमिरे, सुदाम सीके लगायतको अभिनय छ। अजय उपाध्याय र रुथ मोई निर्माता रहेको यो फिल्मका क्रियटिभ प्रोड्युसर अमेरिकी चलचित्रकर्मी डग्लस म्याकहुग हुन्।
यसको मूल कथाकार करुणा शर्मा हुन् भने पटकथा, संवाद र सम्पादन निर्देशक स्वयंले गरेका छन्। यसैगरी, अमेरिकी चलचित्रकर्मी ब्रायन एमेरीले क्यामेरा चलाएका छन् भने लोचन रिजालले संगीत दिएका छन्।
इलमका अनुसार यो फिल्म अब चाँडै मल्टिप्लेक्स र हलहरूमा सार्वजनिक हुँदैछ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
