Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
लोडसेडिङको विकल्प - Himalkhabar.com

अर्थ/बजारबुधबार, पौष १०, २०७०

लोडसेडिङको विकल्प

हिमालखबर

– रमेश कुमार

ललितपुर भनिमण्डलस्थित उज्यालो ९० नेटवर्कको कार्यालयमा जडान गरिएको १० किलोवाट क्षमताको सोलार प्रणाली । तस्वीरः देबकी विष्ट

चिसो बढ्दै जाँदा नेपाल विद्युत् प्राधिकरणले ९ पुसदेखि लागू गरेको दैनिक नौ घण्टाको लोडसेडिङले देशको ऊर्जा संकटलाई छर्लङ्ग पारेको छ। भारतबाट २२० मेगावाट विद्युत् आयात गर्दा पनि यो हिउँदमा दैनिक न्यूनतम १२ घण्टा लोडसेडिङ हुने प्रक्षेपणले जनजीवन थप कष्टकर बनाउने देखाएको छ। माग अनुसारको आपूर्ति हुन नसकेपछि पछिल्ला ७ वर्षदेखि दैनिक जीवनसँग नमीठो गरी गाँसिएको लोडसेडिङ यही साल सकिने पनि होइन। लोडसेडिङको मारले दुरुह बनेको सर्वसाधारणको दैनिकीलाई ऊर्जा व्यवस्थापनका अन्य विकल्पहरू― सोलार, जेनेरेटर, इन्भर्टर, बायोग्याँस आदिले भने राहत दिएका छन्।

अबका केही महीना विद्युत्बाट खाना पकाउन, आइरन गर्न, टीभी हेर्न, कम्प्युटर चलाउन, मोबाइल चार्ज गर्न पाइने छैन। एसएलसीका विद्यार्थीहरूले अन्तिम परीक्षाको मुखैमा बिजुलीमा पढ्न पाउने छैनन्। यो अवस्थालाई विचार गरेर काठमाडौं, सीतापाइलाका राजकुमार देवकोटाले भर्खरै घरमा सोलार सिस्टम जडान गरे। रु.५० हजार खर्चिएर देवकोटाले जडान गरेको सोलार प्रविधिले उज्यालोमा लेखपढ मात्र हैन, टेलिभिजन हेर्न समेत पुगेको छ। आगामी वर्षहरूमा पनि लोडसेडिङ कायम रहने देखेर सोलार जडान गरेको देवकोटा बताउँछन्।

बालाजुका मदनमणि अधिकारीले पनि रु.२० हजार हालेर घरमा इन्भर्टर जडान गरेका छन्, जसले तीन वटा बत्ती, ल्यापटप र मोबाइल चार्ज गर्न मज्जाले धानेको छ। विद्युत् नपुगेका गाउँमा मात्र होइन, शहरमा पनि ऊर्जा अभाव भएपछि सर्वसाधारणले धमाधम यस्ता विकल्प खोजिरहेका छन्।

दीर्घकालीन फाइदा

अँध्यारोसँग जुध्न सर्वसाधारण मात्रै होइन, उद्योग–व्यवसाय तथा कार्यालयहरू समेत विकल्पको खोजीमा लागेका छन् र उनीहरूको लागि सोलार भरपर्दो विकल्प बनेको छ। जस्तो, ललितपुरस्थित उज्यालो ९० एफएम नेटवर्कमा सोलार सिस्टम जडान गरेपछि लोडसेडिङको टन्टै छैन। एक वर्षअघि रु.२५ लाख खर्च गरेर १० किलोवाटको सोलार सिस्टम जडान गरेको यो एफएम रेडियोलाई बत्तीसँगै ५० कम्प्युटर, ३ टेलिभिजन, टेलिफोन, नेटवर्क, ट्रान्समिटर, टावर लगायतका सबै सिस्टम चलाउन पुगेको छ। नेटवर्कका कार्यकारी अध्यक्ष गोपाल गुरागाईं भन्छन्, “यो किफायती ऊर्जामा भएको लगानी ६ वर्षमा उठ्ने देखिएको छ।”

समाजलाई उज्यालो बनाउँदै आशा जगाइराख्न सोलार रामबाण नै भएको बताउँछन्, अल्ट्रा सोलारका प्रबन्ध निर्देशक केआर खनाल। हुन पनि, सोलारबाट घाम लागेको दिउँसो विना ब्याट्री चार्ज सोझै कार्यालय सञ्चालन गर्न पुग्ने विद्युत् उत्पादन हुन्छ। साँझ् र राति ‘ब्याकअप’ बाट ब्याट्रीमा चार्ज हुन्छ। सोलारले जेनेरेटरमा प्रयोग हुने डिजल खर्च र विद्युत् महसुल गरी प्रति महिना रु.३०–३५ हजार लागत घटाएको उज्यालो ९० नेटवर्कका गुरागाईं बताउँछन्। उनी भन्छन्, “आजकाल दिउँसो पनि विद्युत् प्राधिकरणले वितरण गर्ने विद्युत् चलाउँदैन उज्यालोले।”

सौर्य ऊर्जा उत्पादक कम्पनीहरू घरमा सोलार होम सिस्टम जडान गरे केही वर्षमै लगानी उठ्ने बताउँछन्। सन रे इनर्जीका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर कार्कीको भनाइमा, सोलार भनेको हजुरबाले लगानी गरेर नातिपुस्तासम्मले न्यून खर्चमा चलाउन मिल्ने किफायती प्रविधि हो। नभन्दै, राष्ट्रिय प्रसारण लाइन नजोडिएका गाउँ त गाउँ भइहाले, शहरहरूमा पनि मंसीरको अन्त्यदेखि चैतसम्म सौर्य ऊर्जाको माग बढेको छ। रु.५ हजारदेखि लाखौं खर्च गरेर सोलार जोड्नेको सङ्ख्या बढ्दा सोलार प्रविधि बिक्री गर्ने कम्पनीको संख्या २०० को हाराहारीमा पुगेको छ।

सोलारको वार्षिक कारोबार रु.१ अर्बभन्दा माथि पुगेको व्यवसायीहरू बताउँछन्। देशभर सोलार प्रयोग गर्ने परिवारको संख्या तीन लाख नाघेको अनुमान छ। गाउँहरूमा सोलार टुकीदेखि तीन–चार वटा बत्ती बल्ने, मोबाइल चार्ज गर्ने र एउटा सानो टेलिभिजन हेर्नेसम्मको प्रणाली जडान गरिएका छन् भने शहरमा टीभी–कम्प्युटर चलाउनेसम्मका।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले त ललितपुरको सुन्दरीघाटमा ६५० किलोवाटको सोलार प्रणालीबाट पानी मात्र तानिरहेकोे छैन, आफूलाई नचाहिएको वेलाको बिजुली ग्रीडमा जोडेर नेपाल विद्युत् प्राधिकरणलाई प्रति युनिट रु.५.१२ मा बिक्री पनि गरिरहेको छ। पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गतको ऊर्जा अध्ययन केन्द्रले १० वर्षअघि नै ६.५ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरेर सञ्चालन गरिरहेको छ। बत्तीका लागि मात्र होइन, कम्प्युटर चलाउन, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर आदि चलाउन समेत यही विद्युत् प्रयोग गरिरहेको केन्द्रका प्रमुख डा. त्रिरत्न मानन्धर बताउँछन्। मानन्धर भन्छन्, “हाम्रै केन्द्रबाट १ किलोवाट र मीनभवनस्थित प्राधिकरण कार्यालयबाट ३ वाटको सौर्य ऊर्जा राष्ट्रिय ग्रिडमा जडान गरिएको प्रयोग पनि सफल देखिएको छ।”

वर्षको ३०० दिन औसत १०–१२ घण्टा घाम लाग्ने नेपाल सौर्य ऊर्जा उत्पादनका दृष्टिले संसारमै उच्च सम्भावनायुक्त मुलुक भएको मानन्धर बताउँछन्। यसको सम्भावना असीमित भए पनि हालसम्म करीब ३२ मेगावाट सौर्य विद्युत् जडान भइसकेको छ। वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले करीब ५ लाख घरमा यो प्रविधि जडान गरेको छ। प्रवर्द्धन केन्द्रले सन् १९९६ देखि नै सौर्य घरेलु प्रणालीको लागि लागत मूल्यको ५० प्रतिशत अनुदान शुरू गरेपछि गाउँसम्मै यो लोकप्रिय भएको छ। केन्द्रले शहरमा पनि सोलार जडानमा अनुदान दिने कार्यक्रम सञ्चालन गर्दैछ। केन्द्रका कार्यकारी निर्देशक डा. गोविन्द पोखरेल ग्रीडमा नजोडिएका ठाउँमा विद्युत् पुर्‍याउन, दीर्घकालीन ऊर्जा सुरक्षा सुनिश्चित गर्न र वातावरणमैत्री ऊर्जा तथा स्रोत परिचालन गर्न सौर्य ऊर्जालाई गाउँदेखि शहरसम्मै प्रवर्द्धन गर्नुपर्ने बताउँछन्।

घाम नलागेको वेला पनि इन्भर्टरको सहयोगले बिजुलीबाट ब्याट्री चार्ज गर्न सकिने सोलारको हाइब्रिड प्रविधि प्रयोगमा आइसकेको छ। सौर्य ऊर्जाबाट ताप र प्रकाश दुवै ऊर्जा प्राप्त हुन्छ। नेपालमा सोलार वाटर हिटर चार दशकअघिदेखि प्रयोगमा आएको हो भने सोलार विद्युत् सन् १९८० बाट। सोलार प्यानलबाट पानी तताउने प्रविधि पनि लोकप्रिय छ। साढे तीन दशकदेखि सोलार थर्मल सिस्टम बिक्री गरिरहेको महर्जन मेटल इण्डष्ट्रिजका अनिल महर्जन नेपालमा सोलार वाटर हिटरको माग १५ प्रतिशतको दरले बढिरहेको बताउँछन्। महर्जन मेटल इण्डष्ट्रिजले हटपट ब्राण्डमा दुई वर्षको ग्यारेन्टी सहित सोलार थर्मल सिस्टम बिक्री गरिरहेको छ। घामबाट पानी तताउने यो प्रविधि ३५ वर्ष ढुक्कले चल्छ। रु.७० हजार जतिमा यो प्रविधि जडान गर्न सकिन्छ।

एक्साइड ब्याट्री।

विद्युत् प्राधिकरणका उपभोक्तामध्ये ९५ प्रतिशत घरेलु उपभोक्ता भएकाले उनीहरूलाई चाहिने बिजुलीको आवश्यकता सौर्य विद्युत्ले पूरा गर्न सक्छ। अल्ट्रा सोलारका प्रबन्ध निर्देशक केआर खनाल शहरी क्षेत्रमा बन्ने घरको नक्सा पास गर्दा नै सौर्य विद्युत् जडान गर्नुपर्ने नियम अनिवार्य बनाउन सके धेरै हदसम्म लोडसेडिङ घटाउन सकिने बताउँछन्। रु.२ लाखको मोटरसाइकल किन्न सक्नेले घरमा केही हजारको सोलार राख्न हिच्किचाउन नहुने खनालको भनाइ छ। सन रे इनर्जीका प्रबन्ध निर्देशक राजेन्द्र कार्की भन्छन्, “सरकारले शहरी क्षेत्रमा सोलार राख्न रु.१ अर्ब सरल ऋण दिने हो भने एक वर्षभित्र सौर्य ऊर्जाबाट १० मेगावाट विद्युत् उत्पादन हुन्छ।”

ऊर्जा संकटले सिर्जना गरेको अवसर छोप्न सौर्य ऊर्जा, जेनेरेटर र इन्भर्टर उत्पादक, प्रवर्द्धक र बिक्रेता कम्पनीहरू आकर्षक योजनाका साथ प्रचारको होडबाजीमा देखिन्छन्। केही वर्ष लोडसेडिङ कायमै रहने भएकाले दीर्घकालीन विकल्पका लागि सौर्य प्रणाली जडान गर्नु बुद्धिमानी हुने बताउँछन्, सूर्य पावरका महाप्रबन्धक जितेन्द्र भट्टराई। उनी भन्छन्, “सरकारले नीति बनाउने हो भने राष्ट्रिय ग्रीडमै सोलार जोडेर लोडसेडिङ हटाउन सकिन्छ।”
ऊर्जाको दीर्घकालीन हरित विकल्पको रूपमा देखा परेको किफायती सोलार प्रविधिलाई ठगी धन्दा बनाउने क्रम पनि चलेको छ। सस्तोको नाममा परीक्षण नगरिएका गुणस्तरहीन प्यानल, ब्याट्री र अरू उपकरणहरू बजारमा देखिन थालेका छन्।

नवीकरणीय ऊर्जाको गतिलो स्रोत सौर्य ऊर्जा नेपालका लागि वातावरणमैत्री मात्र छैन, आवश्यकता नै बनेको छ। यसको फाइदाबारे चेतना जगाउन आवश्यक भएको इन्नोभेटिभ इनर्जीकी सावित्री अधिकारी बताउँछिन्। उनको अनुभवमा, दीर्घकालीन व्यवस्थापन र आर्थिक लाभ दुवै दृष्टिले नवीकरणीय ऊर्जा उपयुक्त छ। एक्साइड ब्याट्री र लुमिनस इन्भर्टर बिक्री गर्दै आएको सिप्रदी टे्रडिङका डेपुटी म्यानेजर आलोक गुप्ता आफूहरू सोलारमा केन्द्रित हुन खोजेको बताउँछन्। गुप्ताको भनाइमा, केही वर्षयता सोलार प्रणालीको मूल्य घटिरहेकाले सर्वसाधारणको पहुँच बढिरहेको छ।

यामाहा जेनेरेटर।

सोलारका अन्य उपयोगिता पनि बढ्दो छ। क्लिन कन्सेप्ट समूहले सोलार स्ट्रिट लाइट बजारमा ल्याएको छ। यो सिस्टमबाट अति कम लागतमा सडक र बगैंचामा सोलार बत्ती बाल्न मिल्छ। समूहका प्रबन्धक सुशान्त गिरी सोलार स्ट्रिट लाइटको प्रवर्द्धनमा सरकारको भूमिका आवश्यक देख्छन्।

व्यावसायिक विकल्प

अब कार्यालय वा व्यवसाय कमै छन्, जहाँ जेनेरेटर नभएको होओस्। लोडसेडिङ यथावत् नै हुने देखिएपछि उद्योगी व्यवसायीदेखि कार्यालयसम्मले आफ्नो माग धान्ने जेनेरेटरको जोहो गरिसकेका छन्, बाँकीले गर्दैछन्। व्यवसाय नै चल्न नसक्ने भएपछि जेनसेट जडान गर्नु व्यवसायीहरूको बाध्यता बनेको छ। सानातिना सोलार, इन्भर्टर/होम यूपीएस आदिको प्रयोगले मशीन नचल्ने भएकाले ठूला उद्योग, कलकारखाना, ब्याङ्क तथा वित्तीय संस्था, सूचनाप्रविधि कम्पनी, डिपार्टमेण्ट स्टोर, संघसंस्था, कार्यालय, हाउजिङ तथा अपार्टमेन्ट, पसल, होटल रेस्टुरेन्ट, सञ्चार संस्था आदिले जेनेरेटर राखिरहेका छन्। ३ मेगावाटसम्म ऊर्जा उत्पादन हुने जेनेरेटर नेपालमा प्रयोग भइरहेको व्यवसायीहरू बताउँछन्। नेपाली बजारमा भारत, चीन, जर्मनी, बेलायत, जापान लगायतका देशबाट जेनेरेटर आउँछन्।

बढी माग भने साना क्षमताका पोर्टेबल जेनेरेटरकै छ। बजारमा सामान्य प्रयोजनका लागि १ देखि २५ केभीएसम्मका र व्यापारिक–औद्योगिक प्रयोजनका लागि १०० केभीएमाथिको जेनसेट बढी बिक्री भइरहेका छन्। एमएडब्लु इन्जिनियरिङका कार्यकारी निर्देशक विशाल गाडिया लोडसेडिङका कारण इन्भर्टरले ब्याट्री समेत चार्ज गर्न नसक्ने हुनथालेकाले सानो पावर चाहिनेले समेत जेनेरेटर राख्नुपर्ने बाध्यता भएको बताउँछन्। किर्लोस्कर ब्लिसको जेनसेट बिक्री गरिरहेको हिमाल रेफ्रिजेरेशनका प्रबन्ध निर्देशक कमलकुमार चौधरी उपभोक्ताले अब विद्युत् प्राधिकरणको बिजुली कुरेर नबस्ने बरु जेनसेट किनिहाल्ने मनस्थिति बनाएको बताउँछन्। सबैले जेनसेटको जोहो गरिसकेकाले यसको माग घट्न थालेको चौधरीको अनुभव छ।

होण्डा जेनेरेटर।

वाटरकुल र एयरकुल गरी दुई प्रकारका हुन्छन्– जेनेरेटर। वाटरकुल जेनेरेटरको इन्जिनलाई पानीले चिसो बनाउँछ भने एयरकुललाई हावाले। नेपाली बजारमा पेट्रोल, डिजल र ग्याँसबाट चल्ने किर्लोस्कर, ग्रिभ्स, कोल्हर, डच, महिन्द्रा, होण्डा, यामाहा किर्लोस्कर ब्लिस, एमपीयु, किपोर लगायत दर्जनौं ब्राण्डका रु.२५ हजारदेखि करोडौं पर्ने जेनसेट पाइन्छन्। एमपीयु ब्राण्डको जर्मन जेनेरेटर बिक्री गरिरहेको पद्मश्री ग्रुपका प्राविधिक–बजार कार्यकारी महेश ढकाल भन्छन्, “पछिल्लो समय गुणस्तरीय ब्राण्डको जेनेरेटरका ग्राहक बढेका छन्।”

किपोर ब्राण्डको जेनसेट बिक्री गरिरहेको ओम्नी समूहका नायब महाप्रबन्धक श्याम यादव बिक्रीपछिको सेवा राम्रो भएका, पार्टपुर्जा सजिलै उपलब्ध हुने जेनेरेटरको माग बढी भएको बताउँछन्। त्यसैले अधिकांश कम्पनीले जेनेरेटरमा वारेन्टी र बिक्रीपछिको सेवामा ध्यान दिने गरेका छन्। होण्डाले उपभोक्ताका लागि ७० वटा डिलर मार्फत तीन पटक निःशुल्क सर्भिस, एक वर्ष वारेन्टी, घरदैलो सेवाका लागि २४ घण्टे हटलाइन शुरू गरेको छ। यामाहाले दुई वर्षको वारेन्टी, घरदैलो सेवा, निःशुल्क ढुवानी र वार्षिक मर्मत सेवा दिन्छ भने किपोरले बिक्री पछि वारेन्टी सहित अरू सेवाहरू दिंदै आएको छ। एमपीयूले त इन्धन नै २० प्रतिशत कम खर्च हुने जेनसेट भित्र्याएको दाबी गरेको छ।

सरोबरी इन्भर्टर

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गतको ऊर्जा अध्ययन केन्द्रले १० वर्षअघि नै जडान गरेको ६.५ किलोवाट क्षमताको सौर्य ऊर्जा प्रणाली। तस्वीरः बिक्रम राई

बजारमा रु.२ हजार भन्दा बढी मूल्यका विभिन्न इन्भर्टरहरू उपलब्ध छन्। हुलास पावरका प्रबन्धक प्रितम काफ्ले लोडसेडिङले युपीएसको वार्षिक बजार २० प्रतिशतले बढाएको बताउँछन्। रु.३५ हजारको हाराहारीमा खर्च गर्दा घर झ्लमल्ल पारेर टीभी हेर्न, कम्प्युटर चलाउन तथा मोबाइल चार्ज गर्न मिल्ने इन्भर्टर आउने हुनाले थुप्रैको ध्यान यतातिर भएको काफ्ले बताउँछन्। इन्भर्टर आयातमा प्रतिबन्ध लागेपछि व्यवसायीहरूले विदेशबाट ब्याट्री र अन्य पार्टपुर्जा ल्याएर होम युपीएसको रूपमा बिक्री गरिरहेका छन्। लुमिनस ब्राण्डको होम युपीएस र एक्साइड ब्याट्री बिक्री गरिरहेको सिप्रदीका गुप्ता भन्छन्, “उपभोक्ताले ब्राण्ड हेरेर ब्याट्री र इन्भर्टर किनिरहेका छन्।”

बजारमा सामान्यतः ६५० भीएमाथिका इन्भर्टर छन्। यसको क्षमता आवश्यकता अनुसार बढाउन पनि सकिन्छ। इन्भर्टरका लागि ब्याट्रीको माग बढेपछि अग्नि इनर्जीले बजारमा ल्याएको बेस ब्राण्डको नयाँ ब्याट्री लोकप्रिय भइरहेको छ। अग्निका म्यानेजर प्रमोद भण्डारी भन्छन्, “गुणस्तर राम्रो भएकाले छोटो अवधिमै बेस ब्याट्रीको बिक्री बढेको छ।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>