रमझमबुधबार, पौष १०, २०७०

गजल भन्दै डान्स

हिमालखबर

२४ मंसीर राति करीब एक दर्जन युवाहरूको समूहले विराटनगर–१४ मा रहेको ‘सांग्रिला गीत–गजल’ मा ‘डान्स’ गरिरहेका युवती, ग्राहक, रेस्टुरेन्टका मालिक र कर्मचारीलाई कुटपिट गर्‍यो।

तोडफोडबाट रु.५ लाख ५० हजार क्षति भएको भन्दै रेस्टुरेन्ट मालिकले निवेदन दिएपछि परिचय खुलेका ८ जना युवा विरुद्ध प्रहरीले सार्वजनिक अपराधमा मुद्दा चलाएको छ।

मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेलका अनुसार, ‘प्याराडाइज गीत–गजल’ बाट सांग्रिलाले डान्सर ल्याएकाले कुटपिट र तोडफोडको घटना भएको हो। उनी व्यवसायी बीचको अस्वस्थ प्रतिस्पर्धाले त्यस्ता घटना हुने गरेको बताउँछन्।

गजलको नाममा डान्स
नेपाली लोकगीत र नृत्य संचालन गर्न विराटनगर उपमहानगरपालिकाबाट अनुमति लिएका ८ वटै रेस्टुरेन्टले सीडीमा हिन्दी गीत बजाएर उत्ताउलो डान्स देखाउने गरेका छन्।

नगरपालिकाबाट इजाजत लिंदा राति ९:३० सम्म मात्रै संचालन गर्ने भने पनि राति अबेरसम्म चलाउँछन्।

प्रहरीले ३० मंसीर राति ९:४५ बजेसम्म डान्स चलाएको भन्दै ‘मेट्रो सिटी होटल एण्ड गीत–गजल’ बाट डान्सर, कर्मचारी र संचालक सहित ७ जनालाई पक्राउ गरेको थियो। जनही रु.१ हजार जरिवाना तिरेर उनीहरू १ पुसमा छुटेका छन्।

राजधानीको ठमेलबाट डान्सर ल्याइएको खबर फैलिएपछि विराटनगरको ‘डोको नाम्लो गीत–गजल’ मा दर्शक र मदिराका ग्राहक बढे। ती डान्सरले २२ मंसीरमा कपालमा पानी हाल्दै ‘टीप टीप वर्षा पानी…’ बोलको हिन्दी गीतमा उत्ताउलो नृत्य गर्दा झुमेका ग्राहकबीच कुटाकुट चल्यो। प्रहरीले चाल नपाएकाले उनीहरू पक्राउ भने परेनन्।

त्यसअघि त्यही रेस्टुरेन्टबाट ९ जना डान्सर, होटल संचालक र कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले ‘डल्पि्कन गजल’ बाट पनि डान्सर र संचालकलाई पक्राउ गरिसकेको छ। प्रहरीमा नयाँ प्रमुख आउँदा कडाइ गर्ने र विस्तारै वास्ता गर्न छाड्ने प्रवृत्ति विराटनगरमा देखिन्छ।

मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की रेस्टुरेन्टहरूलाई डान्स देखाउने अनुमति नदिइएको भए पनि त्यो रोक्दा व्यवसाय नै बन्द हुने भएकाले कडाइ नगरिएको स्वीकार्छन्।

नगरपालिका पसल व्यवसाय शाखाका डिकनाथ पोखरेल चाहिं अनुमति नपाएका क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले मात्र सक्ने बताउँछन्। प्रहरी, प्रशासन, टोल र मदिरा व्यवसायी संघको सिफारिशमा नगरपालिकाले होटल, रेस्टुरेन्टलाई गीत–गजल संचालन गर्न अनुमति दिने गर्छ।

अस्वस्थ प्रतिस्पर्धा
विराटनगरको पहिलो गजल मुन होटलका संचालक एवं होटल व्यवसायी संघ विराटनगरका उपाध्यक्ष विजय प्रसाई अरूको होटल चलेको रिसमा अर्को होटल संचालकले अवरोध गर्ने गरेको बताउँछन्।

एउटाको व्यवसाय चलेको देखेर अर्काले पनि त्यही व्यवसाय गर्ने प्रवृत्ति देखिएको उनको भनाइ छ।

व्यवसायी बीचको अस्वस्थ प्रतिस्पर्धाका कारण विराटनगरका दुई वटा गजल रेस्टुरेन्ट बन्द भएका छन् भने केही गजल रेस्टुरेन्ट खुल्ने क्रममा पनि छन्। तर, डान्स देखाएर ग्राहकबाट बढी रकम लिने रेस्टुरेन्टहरूले सरकारलाई कर भने तिरेको पाइँदैन।

कर छल्न उनीहरूले ग्राहकलाई सादा कागजमा बिल दिने गरेका छन्। यो वर्ष तीन वटा बाहेक अरूले नगरपालिकामा व्यवसाय नवीकरण पनि गरेका छैनन्।

होटल तथा पेय पदार्थ व्यवसायीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष बलराम कारन्जित भारतीय ग्राहकको माग अनुसार हिन्दी गीतमा नृत्य गराउनु व्यवसायीको बाध्यता रहेको बताउँछन्। लोकगीत र नेपाली सिनेमाका गीतको ग्राहकबाट माग नआउने पनि उनको भनाइ छ।
कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>