खेलकुदबिहीबार, पौष ११, २०७०

अन्तिम अभ्यास खेलमा पनि नेपालको जीत

हिमालखबर

वान–डे विश्वकप क्रिकेट छनौटको तयारीमा रहेको नेपाली राष्ट्रिय टीम श्रीलंकामा चौंथो तथा अन्तिम अभ्यास खेलमा पनि विजयी भएको छ । नेपालले ११ पुसमा श्रीलंकाको ब्लुमफिल्ड क्रिकेट क्लबलाई १६ रनले हरायो ।

नेपालले दिएको २४७ रनको लक्ष्य ब्लुमफिल्डले भेट्टाउन सकेन । ब्लुमफिल्डलाई १३० रनमै समेट्ने क्रममा नेपालका सोमपाल कामी र बसन्त रेग्मीले ३–३ विकेट लिए । ४६ बलमा २४ रन खर्चिएका बसन्तले २ मेडन पनि राखे भने ६० बल फालेका सोमपालले ४७ रन दिएका थिए । ब्लुमफिल्डका दुई ब्याट्सम्यान रन आउट भए ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले सबै ओभर खेल्दै ८ विकेटको क्षतिमा २४६ रन जोडेको थियो । नेपालका लागि सुवास खकुरेलले ४१ बलमा ८२ रन बनाए । अनिल मण्डलले ३८ बलमा ६३ रन र कप्तान पारस खड्काले ५८ रन जोडे । उनले ६२ बल खर्चिएका थिए ।

यसअघि श्रीलकामा अरु तीन अभ्यास खेलमा पनि नेपालले जीत हात पारेको थियो । नेपाली टीम श्रीलंकाबाट सिधैं न्यूजिल्याण्ड जानेछ ।

न्यूजिल्याण्डमा २९ पुसदेखि १८ माघसम्म आईसीसी एकदिवसीय विश्वकपको क्रिकेट छनौट प्रतियोगिता हुँदैछ । छनौट अघि नेपालले २६ पुसमा नामिबियासँग र २७ पुसमा केन्यासँग अभ्यास खेल खेल्नेछ ।

छनौट खेलमा शीर्ष दुईमा रहने टीमले सन् २०१५ मा न्यूजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गर्ने वान डे विश्वकपमा सहभागिता जनाउनेछन् भने शीर्ष ४ भित्र अटाउने टीमले एक दिवसीय मान्यता पाउनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...