रमझमशनिबार, पौष १३, २०७०

नेपाली फिल्ममा ‘गोल्डन एरा’ शुरु हुँदैछ: नायिका निशा

हिमालखबर

सञ्जीव शर्मा

तस्वीर: ऋषिराम कट्टेल

उज्याली छन् निशा अधिकारी । उत्साह र उमंगका कुरा गर्न मन पराउँछिन् । अन्य क्षेत्रजस्तै संक्रमणकालबाट गुज्रिरहेको नेपाली फिल्म क्षेत्र केही वर्षमै ‘स्वर्णयुग’ मा प्रवेश गर्ने विश्वास छ उनको ।

काठमाडौंको एउटा चिसो साँझ, निशा हिमालसँग खुलेरै गफिइन् । भर्खरै ११ दिनको विपश्यनाबाट फर्केकी उनको अनुहारमा गज्जबको चमक थियो । बुट्टे डार्क ट्राउजरमाथि ग्रे कलरको ब्लाउज र कालो कोट लगाएकी निशा सुन्दर देखिएकी थिइन् ।

“तनावबाट मुक्त हुन, आनन्दमा डुब्न र आफैंलाई चिन्न मन छ भने मेडिटेशन गर्नुस्” सुझाव पस्किन उनले ।

“यो गालाको लाली र शारीरिक तन्दुरुस्ती पनि विपश्यनाकै कमाल हो ?”

“हेर्नेका आँखा राम्रा” हाँस्दै जवाफ फर्काइन्, “तर मेकअप गरेकी छैन है ।”

गाला छामेर जाँच्न त मिलेन तर, उनको अनुहारमा गज्जबकै चमक थियो । अहिले उनको हातमा धेरै सिनेमा छैनन् ।

“किन ?

“‘मुखौटा’को प्रि–प्रोडक्सनको काममा व्यस्त छु, केही स्क्रिप्ट पढिरहेकी छु,” कूटनीतिक जवाफ दिइन् ।

नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका हुन निशा । ५ वर्षमा १३ वटा फिल्ममा अभिनय गरेकी निशाका तीनवटा फिल्म रिलिज हुन बाँकी छन् । उनलाई मन परेको फिल्म चाहिं ‘सुनगाभा’ रहेछ । “कमर्शियल्ली त्यति नचले पनि त्यसमा मैले पात्रमाथि न्याय गर्न सकेकी छु,” मन पर्नुको एउटा कारण त्यसो रहेछ ।

उनको दिमागमा अचेल ‘मुखौटा’ मात्रै छ रे । अर्पण थापा निर्देशक÷नायक रहेको ‘मुखौटा’ ६ जनवरीमा रिलिज हुँदैछ, निशालाई यो फिल्मबाट निकै आशा रहेछ ।

‘युनाइटेड मिशन टु नेपाल’का जागिरे बाबु खड्गबहादुर अधिकारी र रिटायर्ड नर्सिङ शिक्षिका आमा दुर्गा अधिकारीको प्रेमविवाहपछि जन्मिएकी निशा आफैं भने अझै कसैसँग प्रेममा परेकी छैनन् रे ।

पाल्पा मिशन अस्पतालमा जन्मिएकी निशा काठमाडौंमै पढिन् । स्नातकसम्मको अध्ययन गरेकी उनले अमेरिकाबाट ‘फिल्म मेकिङ’ मा डिप्लोमा गरेकी छन् ।

“फिल्म मेकिङको पनि कुनै योजना छ ?”

“बनाउँछु तर, ४०–५० वर्ष पुगेपछि,” पातला ओंठ थोरै तन्काउँदै जवाफ दिइन् । उनी मुस्कुराउँदा ओठमाथिको कालो कोठीले झनै हिस्सी थप्छ । भन्छिन्, “नेपाली फिल्ममा अभिनय गर्नेहरुको कमी छैन, कथा लेख्ने र त्यसलाई संप्रेषण गर्नेहरु पनि सशक्त हुँदैछन् । टेक्नोलोजीको पक्ष अरु सशक्त हुनुपर्छ ।”

फिल्म क्षेत्रमा के कमी छ सोझै भनिनन्, तर निर्माण र निर्देशन कमजोर भएको उनको आशय थियो । सोझै भन्न नसक्नु हातमा धेरै फिल्म नभएकी नायिकको वाध्यता पनि हुनसक्छ ।

फिल्म क्षेत्रलाई अलग्गै राखेर हेर्न नमिल्ने भनिरहेकी उनले देशमा जताजतै भद्रगोल भएका बेला यस क्षेत्रबाट मात्रै राम्रो अपेक्षा गर्न नसकिने जिकिर गरिन् । धेरै कर गरेपछि भनिन् “देशमा लोकतान्त्रिक संविधान निर्माण भएर स्थायित्व र विकास आयो भने फिल्म क्षेत्र पनि राम्रो हुँदै जान्छ ।”

राजनीतिमा पनि धेरथोर रुचि रहेछ । विगतको संविधानसभाले संविधान बनाउन नसकेको दुखेसो गर्दै भनिन्, “यसपटक भने आशा छ ।”

“आशाको कारण ?”

“अहिलेको निर्वाचन परिणाम पनि त्यस्तै छ, अघिल्लो असफलताबाट नेताहरुले पाठ सिकेको पनि हुनपर्छ ।” संघीयताको कुरो पनि चलाइन्, “नेपाललाई पाँच विकास क्षेत्रमा विभाजन गरियो तर ती सबै अविकसित क्षेत्र नै रहे, कतै हाम्रो संघीयताको मोडेल पनि त्यस्तै अविकसित साना साना राज्यको समष्टि नबनोस् ।”

उनले फिल्म इन्जोए गर्छिन्, घुम्न, क्लाइम्बिङ र आउटडोर स्पोर्टर्स मन पर्छ । ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटमा नेपाली टोली छनोट भएको दिन आफू औधी खुशी भएको सुनाइन् । उनले गत मे महिनामा सगरमाथा पनि चढिन् । “त्यसपछि लगत्तै ‘भीमदत्त’ गरें, केही समय ब्रेक पनि चाहियो नी,” उनले सुनाइन् ।

पुस्तक पढ्न रुचि भएको बताउने निशाले मन पर्ने लेखक र पुस्तकबारे भन्न चाहिनन् वा सकिनन् । कवि माधवप्रसाद घिमिरेको ‘गाउँछ गीत नेपाली…’ चाहिं मुखाग्रै रहेछ ।

नेपाली फिल्म र कलाकारहरुलाई हेर्ने समाजको दृष्टिकोण फराकिलो र उदार बन्दै गएको बताउने निशा यस्तो हुनुमा फिल्मकर्मी र समाज दुवैमा आएको परिवर्तनलाई कारण ठान्छिन् ।

“पहिले एमएसम्म पढेका एकजना राजेश हमालमात्रै थिए, धेरैजसो नपढेकाकै जमात थियो,” उनले भनिन्, “अहिले सबैजसो पढेलेखेका नै छन् ।” सहकर्मीहरुको कुरा गर्दा प्रियंका कार्की, ऋचा घिमिरे, दिया मास्के र नम्रता श्रेष्ठको नाम दोहो¥याउने उनका यी सबै नजिककै साथी रहेछन् भन्ने बुझिन्थ्यो ।

मुलुकको भद्रगोल राजनीतिले आउने पुस्ता आफू जत्ति पनि सशक्त नहुने हो कि भन्ने पिरलो छ उनलाई । “शहरमा मात्रै होइन, गाउँगाउँका भाइबहिनीले आफूले चाहेको सीप र ज्ञान सिक्न पाउन्, सीप अनुसारको काम पाउन, सबैले सबैलाई सम्मान गर्ने सभ्यताको विकास होस्…,” यस्तो छ उनको चाहना ।

“फिल्ममा सबैभन्दा मन पर्ने पक्ष एउटा कथा श्रव्यदृश्य मार्फत सुनाउन पाउनु र त्यसबाट दर्शकलाई उद्वेलित बनाउन सक्नु हो,” उनले भनिन् “मलाई फिल्म मन पर्छ र त यस क्षेत्रमा छु ।”

फिल्म ‘मायाज बार’ को एउटा गीतको सुटिङका लागि लगातार ४८ घण्टा खटिएको सम्झँदै निशाले भनिन्, “मेरो निश्चित दैनिकी छैन, फिल्म बाहेक जुन बेला जे मन पर्छ त्यही गर्छु ।”

सन् २००६ तिर एउटा पाकिस्तानी टेलिसिरियल ‘होटेल’ मा अभिनय गरेकी निशाले पाकिस्तानमा टेलिसिरियल अत्यन्तै राम्रा बन्ने गरे पनि फिल्म भने नेपालकै राम्रो भएको दाबी गरिन् ।

उनले अहिलेसम्म आफूले चाहेजस्तो भूमिकामा अभिनय गर्न पाएकी छैनन रे । हिन्दीमा पनि सलमानले सर्ट फुकालेको दबंग नै चल्छ यहाँ पनि आर्यन र राजवल्लभबाट त्यस्तै अपेक्षा गरिन्छ । “जस्तो हाम्रो समाज त्यस्तै फिल्म,” उनको सोझो जवाफ छ ।

“फिल्म समाज परिवर्तनको संवाहक हुन सक्दैन बरु समाजबाट निर्देशित हुन्छ,” निशाले गुढ रहस्य बोलिन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>