रिपोर्टआइतबार, पौष १४, २०७०
रहेनन् हितैषी
-सन्त गाहा मगर
गत संविधानसभामा नेकपा माओवादीले समानुपातिकतर्फबाट सभासद बनाएका पूर्व अञ्चलाधीश सूर्यबहादुर सेन ओली अहिले एमाओवादीमा छैनन् । जातीय पहिचान सहितको संघीय प्रदेश बनाउने एमाओवादीको मुद्दा मन नपरेर ऊसँग सबै सम्बन्ध तोडेको उनी बताउँछन् ।
अन्तर्राष्ट्रिय श्रम महासन्धि (आईएलओ) १६९ को प्रावधानमा भए जस्तो जल, जंगल र जमीनमा आदिवासी जनजातिलाई अग्राधिकार, जातीय आधारमा आरक्षण र समावेशिता सम्बन्धी एमाओवादीको नीति चित्त नबुझ्ेको उनको भनाइ छ । गत संविधानसभाले संविधान बनाउन नसक्नुमा राज्य पुनर्संरचनाको विषयमा एमाओवादीले अडान नछाड्नु प्रमुख कारण रहेको पनि उनको बुझइ छ ।
गत संविधानसभा गठन भएको दुई वर्षपछि एमाओवादीसँग ‘मोहभंग’ हुन थालेको बताउने सेनले पूर्व राजा ज्ञानेन्द्र शाह ‘अहंकारी’ भएको र पूर्व युवराज पारसबाट आशा गर्न नसकेकाले एमाओवादीसँग सहकार्य गरेको बताए । त्यति वेलाको आफ्नो निर्णयलाई ‘तावाबाट उफ्रेको माछा भुङ्ग्रोमा’ परेजस्तो भएको बताउँदै सेनले भने, “सूर्यबहादुर थापा पछिल्लो पटक प्रधानमन्त्री भएका वेला वीरगञ्जमा भारतलाई महावाणिज्य दूतावास खोल्न दिएपछि पूर्व राजा शाहसँग असन्तुष्ट बनें ।”
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईको आग्रहमा सेनले आफ्नो नेतृत्वको ‘नेपाल राष्ट्रिय एकता परिषद्’ लाई १ मंसीर २०६४ मा ‘देशभक्त गणतान्त्रिक एकता अभियान’ बनाएका थिए । एमाओवादी छाडेपछि उनले ‘नेपाल राष्ट्रिय एकता परिषद्’ लाई ब्यूँताएका छन् ।
सोचे जस्तो नपाएर परित्याग
शान्ति सम्झैतापछि अन्तरिम संसद्मा एमाओवादीको तर्फबाट सांसद बनेका नेपाली सेनाका पूर्व सहायक रथी कुमार फुदोङ पनि एमाओवादीले नचाहेकाले गत संविधानसभाले संविधान बनाउन नसकेको बुझइमा छन् । त्यो वेलाको ठूलो दलले संविधानसभालाई सफल बनाउन संविधान निर्माण गर्ने प्रयत्न गर्नुको साटो सत्ता प्राप्तिलाई महत्व दिएको उनको भनाइ छ ।
बाबुराम भट्टराईले प्रधानमन्त्री भएका वेला सत्ता टिकाउने नियतले संविधानसभा विघटन गरेको बताउँदै फुदोङ भन्छन्, “सहमति नभएको विषयलाई मतदान प्रक्रियामा नलैजानुमा पनि एमाओवादी नै जिम्मेवार हो ।”
आदिवासी/जनजाति, मधेशी, दलित, महिलालाई पार्टीमा ल्याउन एमाओवादीले संघीयता, समावेशिता जस्ता म्ुद्दा उठाएको र जनतालाई अधिकार दिने एमाओवादीको भनाइ नारा मात्र भएको फुदोङको भनाइ छ ।
एमाओवादीसँग मोहभंग भएपछि फुदोङले २०६८ मा ‘इन्डिजिनियस मंगोलाइड रिपब्लिकन फोरम’ गठन गरेका छन् । ४ मंसीरको संविधानसभा चुनावमा भाग नलिएको यो फोरमलाई उनी राजनीतिक पार्टी नभएर दबाब समूह मान्छन् ।
अन्तरिम संसद्मै एमाओवादीबाट सांसद बनेका अधिकारकर्मी मल्ल के सुन्दर पनि अहिले एमाओवादीमा छैनन् ।
स्वतन्त्र विचार राख्न पाउने शर्तमा एमाओवादीबाट अन्तरिम संसद्मा गएको बताउने सुन्दरले एमाओवादी अध्यक्ष दाहाल र नेता भट्टराईले आग्रह गर्दा पनि पार्टी सदस्यता स्वीकार नगरेको बताए । एमाओवादी सदस्य नबनेकोमा पश्चात्ताप नलागेको उनको भनाइ छ ।
छाड्नेमा पुराना पनि
२०६२ मंसीरमा पोलिटब्यूरो सदस्यद्वय मणि थापा र रवीन्द्र श्रेष्ठले शुरू गरेको माओवादी परित्यागको श्रृंखला अहिले पनि जारी छ । थापा र श्रेष्ठले १२ बुँदे सहमति र चुनवाङ बैठकको निर्णयप्रति असहमति जनाएर माओवादी छाडेका थिए ।
माओवादी छाड्ने त्यो वेलाको निर्णयलाई ‘सही समयको सही निर्णय’ बताउँदै क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव थापा भन्छन्, “नेतृत्व पंक्ति विसर्जनउन्मुख भएको वेला अलग्गिने निर्णय गर्न सकेकोमा गर्व लागेको छ ।”
त्यही वेला ‘संशोधनवाद’ मा फसेको एमाओवादी अध्यक्ष दाहाल र बाबुराम अहिले पनि नसुध्रिएको बताउँदै थापा भन्छन्, “दाहाल र बाबुराम बाहेकको कम्युनिष्ट ध्रुवीकरण अहिले पनि आवश्यक छ ।”
२०६४ मा झपा–७ बाट एमाले नेता केपी शर्मा ओलीलाई हराएर निर्वाचन जितेका विश्वदीप लिङदेन पनि एमाओवादी छाडेर अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् ।
एमाओवादी अध्यक्ष दाहाल नेतृत्वको सरकारमा वनमन्त्री रहेका मातृका यादव र सभासद जगत यादवले २०६६ मै एमाओवादी त्यागेका थिए । मातृकाको नेतृत्वमा नेकपा (माओवादी) पुनर्गठन गरेर ४ मंसीरको निर्वाचनमा दाहाल उठेको सिरहा–५ मा जगत स्वतन्त्र उम्मेदवार बने । उनीहरूको पार्टीले भने निर्वाचनमा भाग लिएको थिएन ।
४ मंसीरको संविधानसभा चुनाव विथोल्न हिंसात्मक गतिविधि गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी ४ असार २०६९ मा एमाओवादीबाट विभाजित भएको थियो ।
२०६३ मा एमाओवादी छाडेका लक्ष्मण थारू मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) का केन्द्रीय सदस्य बनेका छन् । संविधानसभामा कैलाली–६ बाट पराजित थारू ‘मुक्तिको नाममा धोका’ दिएकाले एमाओवादी छाडेको बताउँछन् । एमाओवादीले थारू लगायतका आदिवासीलाई सत्ताको भर्याङ बनाएको उनको भनाइ छ ।
एमाओवादी सम्बद्ध थारूवान राष्ट्रिय मुक्ति मोर्चाको महासचिव रहिसकेका थारू शान्ति सम्झैता अघि नै माओवादी नेताहरूमा विचलन देखिएको बताउँछन् । युद्धकालदेखि नै वर्गीय, जातीय, क्षेत्रीय र लैंगिक मुद्दामा एमाओवादी नेताहरू विचलित भइसकेको उनको बुझइ छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव थापाको विचारमा एमाओवादीको विचलन र असफलताले पार्टी छाडेर जानेहरूको पछि लाग्नुपर्ने अवस्थामा एमाओवादी नेताहरूलाई पुर्याइसकेको छ । “युद्धकालदेखि अहिलेसम्म पार्टी छाड्नेको लर्को लाग्नु एमाओवादीका नेता र नीति दुवै गलत भएको प्रमाण हो”, थापा भन्छन् ।