टिप्पणीसोमबार, पौष १५, २०७०
योगमायाको अभाव
महिला हिंसा विरुद्ध १६ दिने अभियान र नयाँ नेपाल बनाउने दोस्रो संविधानसभा निर्वाचन पश्चात कुमार नगरकोटीको कथा संग्रह फोसिल पढें । कथाहरू पढिसकेपछि दाहिने हातको अर्ध–मुड्कीमा टाउको अड्याएर एकटकले हेरिरहेको कथाकारको तस्वीर नियालें । उनका आँखा, कथाका शब्द अनि दैनन्दिनका समाचार र समाजमा छरपस्ट परिदृश्यहरूलाई खेलाउँदै मैले पनि एकटकले चिन्डे अनुहार हेरिरहें ।
फोसिल को कभरमा छापिएको ‘हेलो सरकार ! म योगमाया हुँ । नेपालको पहिलो विद्रोही नारी । यो कथाको सम्पूर्ण घटनाहरूको जिम्मा म लिन्छु । यो यदि अपराध हो भने अपराध नै सही । सजाय भोग्न तयार छु । सक्छौ भने मलाई जेलमा कोचिदेऊ । पक्राउ आदेश जारी गर । सत्तामा हालीमुहाली गर्ने ओइ बुझ्क्कडहरू ! क्याच मी इफ यु क्यान !’ ले योगमायाको अभाव खट्कायो ।
राणा शासकलाई चुनौती दिने योगमाया सतीप्रथा र महिला हिंसा विरुद्ध धाराप्रवाह प्रवचन दिन्थिन् । राणाहरूले उनलाई तीन महीना जेल हाल्यो । जेल मुक्त भएपछि योगमायाले सामूहिक यज्ञ समाधिको तयारी गरिन्, जसलाई शासकहरूले भाँडिदिए । त्यसपछि २२ असार १९९८ को हरिशयनी एकादशीका दिन योगमाया सहित ६८ जनाले अरुण नदीमा सामूहिक जल समाधि लिए । सरकार लाश खोज्न लाग्यो, तर एउटै पनि फेला पार्न सकेन । त्यो नै नेपालको इतिहासमा महिला हिंसा विरुद्धको पहिलो संगठित विद्रोह थियो ।
त्यसपछिको समयमा योगमायाको आत्मा प्रवेशका लागि नारी पात्रको खोजीमा छ । नगरकोटीले फोसिल को नारी पात्रमा योगमायाको आत्मा उतारेका छन्– ‘पुरुषहरूलाई आफ्नो सोकल्ड लिंगमाथि ठूलो घमण्ड भयो । आत्मगौरवले ती अन्धा भए । नारीलाई देवी मान्ने अनि मौका छोपेर बलात्कार गर्ने ? आफ्नै चेलीबेटी करणी गर्ने ? विधवा, वृद्धाहरूलाई पनि देखिनसहने ? बलात्कार गरिहाल्ने ? स्कूल, कलेज हिंडेका कलिला नानीहरूको सामूहिक बलात्कार गर्ने ? बसमा बलात्कार । अफिसमा बलात्कार ।
विश्वविद्यालयको ट्वाइलेट जोनमा बलात्कार । ओछ्यानमा बलात्कार । यहाँसम्म कि दिसा बस्न गएकी ग्राम्य बालालाई बलात्कार । युगौंदेखि नारीलाई अपमान गर्ने घरेलु पुरुषहरूको ग्य्रान्ड डिजाइन अहिलेसम्म जारी छ । सीतालाई आगोमा हिंडाउने ? द्रौपदीको पेटीकोट तान्न जाने ? सीतालाई घर–घरमा आगो लगाउनेहरू छ्यापछ्याप्ती छन् । दाइजो, तिलक नल्याएको भनी एउटी अवलालाई ज्यूँदै पेट्रोल, डिजल, मट्टीतेल छर्केर जलाइदिने ? सुत्केरी महिलालाई, रजस्वला भएकी द्रौपदीलाई छाउपडीको गोठमा मर्न पठाउने ? गोठमै गई पेटीकोट तान्ने ? बलात्कार गर्ने ? अनि गोठसितै जिउँदै जलाइदिने ? हे प्रभु ! मेरो दिमाग सनक्क भयो र मैले ती सबको लिंग भष्म गरिदिएँ । ती सबलाई पिचास योनीको श्राप लाग्यो ।’
नगरकोटीले सत्य घटनामा कल्पनाको लेप नलगाई भन्छन्– ‘मूला अकुपाई बालुवाटारले के गर्छ ? सोकल्ड प्रधानमन्त्रीलाई मूला ज्ञापनपत्र बुझएर के हुन्छ ? प्लेकार्ड देखाएर के हुन्छ ?’
अब बुद्धिजीवी र पत्रकारहरूले पनि छाउपडी, बोक्सी, बलात्कार, दाइजो, चेलीबेटी बेचविखन आदि विकृतिहरूलाई थालमा पस्केर कचौरामा डलर थाप्ने कथित अधिकारवादीहरूसँग नेपालमा महिला हिंसा विरुद्धको अभियान सञ्चालनका नाममा भित्रिने रकमको हिसाब माग्न थालेका छन् । विदेशी ‘डेट’ मा मनाइने अभियानहरूले समाजमा झन् हिंसा भड्काएको अनुमान गर्न थालिएको छ ।
अहिलेका आन्दोलनको मुख्य शक्तिस्रोत डलर नै भएको आम धारणा छ । त्यसैले ‘महिला हिंसा विरुद्धको १६ दिने अभियान’ लाई आन्दोलन नभई उत्सव भएको आरोप लाग्न थालेको छ । यस्तो आरोपको खण्डन गर्ने आधार हामीसँग छैन । नारी हिंसा विरुद्ध योगमायाले चलाएको अभियान, दबाबस्वरुप लिएको सामूहिक जल समाधि र त्यसपछि बेपत्ता भएका ६८ जनाको खोजीका लागि कुनै महिला अधिकारवादीले एक शब्द बोलेका छैनन्, हामीले यो खबर विश्वसामु पुर्याउन सकेका छैनौं ।
योगमायाको आत्माले कुनै नेपाली महिला अधिकारवादीको शरीरमा प्रवेश पाएको भए आन्दोलन सफल भएर संविधानसभामा ५० प्रतिशत महिलाकोे उपस्थिति हुन्थ्यो होला । योगमायाको नारी हिंसा विरुद्धको अभियान पनि विश्वको कुना–कुनामा पुग्थ्यो होला !
साप्ताहिक खबरपत्रिका हिमालबाट